+
+

डीडीसीले कुन दूधमा कति बढायो मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते ९:५९

२ चैत, काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले सबै प्रकारका दूधको मूल्य बढाएको छ । संस्थानले बिक्री गर्ने चार प्रकारका दूधमा प्रतिलिटर न्युनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म मूल्य बढेको छ ।

बढेको मूल्यअनुसारको दूध बिहीबारबाटै बजारमा पठाइएको दूग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताए ।

संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको थियो । जसअनुसार सबैभन्दा धेरै बिक्री हुने निलो प्याकेटको स्ट्याण्डर्ड दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ ।

संस्थानका अनुसार बजारमा पाइने आधा लिटरको एक पोका दूधको मूल्य काठमाडौं उपत्यकामा अब ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार यो मूल्य काठमाडौं, विराटनगर, जनकपुर, हेटौंडा र वीरगन्ज क्षेत्रमा लागू हुनेछ ।

यस्तै लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ मात्रै तोकिएको छ भने नेपालगन्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ ।

यस्तै, फूल क्रिम दूधको प्रतिलिटर मूल्य १३० रुपैयाँ पुगेको छ । यो दूधमा संस्थानले लिटरमा १६ रुपैयाँले मूल्य वृद्धि गरेको छ । अब बजारमा पाइने यस्तो दूधको आधा लिटर प्याकेटको मूल्य ५७ रुपैयाँबाट बढेर ६५ रुपैयाँ कायम भएको छ । विराटनगर भने यस्तो दूधको मूल्य ११४ रुपैयाँबाट बढेर १२० रुपैयाँ पुर्‍याइएको छ ।

गाईको दूधको मूल्य लिटरमा ११६ रुपैयाँ पुर्‍याइएको छ । यो दूधमा प्रतिलिटर १४ रुपैयाँले मूल्य बढेको छ । अब बजारमा पाइने आधा पोका गाईको दूधको डीडीसीको मूल्य ५१ रुपैयाँबाट ५८ रुपैयाँ पुगेको छ ।

बजारमा चिया पकाउन प्रयोग हुने लो-फ्याट चिया दूधको मूल्य भने लिटरमा १० रुपैयाँले बढाएर ८० बाट ९० बनाइएको छ । अब ४० रुपैयाँमा पाइने आधा प्याकेट दूधको मूल्य ४५रुपैयाँ पुर्‍याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?