
१ चैत, काठमाडौं । एकीकृत सरकारी कर्मचारी संगठनले सरकारी कर्मचारीको सरुवा वैज्ञानिक र स्वचालित हुनुपर्ने माग राखेको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उक्त संगठनका महासचिव प्रकाश राईले पहुँचका भरमा कर्मचारी सरुवा गर्ने गलतप्रथाको अन्त्य हुनुपर्ने बताए ।
‘सरुवाका लागि कार्यालयको आधा समय बिताउनुपर्ने बाध्यता छ । सेवाको आधा समय नै त्यसमा लागेपछि कसरी सही तरिकाबाट काम हुन्छ ?’ उनले भने ।
कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक बनाउन नीति संशोधन लगायत काम गर्न विज्ञहरुको समूह निर्माण गर्नुपर्ने भन्दै उनले त्यसको सुझावका आधारमा सबै कर्मचारीको हित हुनेगरी वैज्ञानिक र स्वचालित सरुवाको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
राईले उद्योगका मजदुरहरु सामाजिक सुरक्षा कोषमा आवद्ध भइरहँदा सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिरहेका करारमा कार्यरत कर्मचारीलाई कोषमा सहभागी नगरिएकाले उनीहरुलाई समेत कोषमा सहभागी गराउनुपर्ने माग राखे । संघीय निजामती ऐन अविलम्ब ल्याउन पनि संगठनले माग गरेको छ ।
संगठनले यही फागुन २६ र २७ गते भक्तपुरमा प्रथम राष्ट्रिय अधिवेशन गरेको थियो । अधिवेशनले गगन सिंह विष्टको अध्यक्षतामा १३९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
प्रतिक्रिया 4