१ चैत, रसुवा । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका—६ गोरातीकी २५ वर्षीया रिया श्रेष्ठकी पहिलो सन्तान २१ महिनाकी छोरी अरिया अति कुपोषित छिन् । श्रेष्ठले छोरीलाई पोषण पुनर्स्थापना केन्द्रमा दुई हप्ता राखेर उपचार गरिन् । तर, अरिया अझै ख्याउटे छिन् ।
उनी सुत्केरी हुँदा पनि तीन दिनसम्म दूध आएन । तत्काल स्वास्थ्यकर्मीले ल्याक्टोजिन खुवाउन सल्लाह दिए । दुःखले छोरी हुर्काइन् । अरियाको १२ महिनामा ५ केजी र १६ महिनामा ८ केजी तौल पुगेको थियो ।
‘हरेक बार, खाना चार अनुसार पोषिला खानेकुरा खुवाए पनि पोषणमा सुधार भएन’ उनले भनिन्, ‘चारपटक गर्भ जाँच गराएँ, घरमै बच्चा जन्मियो, केही दिन आइरन पनि छुट्यो । के कारणले हो बच्चा अझै ख्याउटे छ ।’
१८ वर्षको उमेरमा विवाह गरेकी चौतारा सागाचोकगढी नगरपालिका—६ की कान्छी तामाङकी दुई वर्षकी छोरी खुश्बू पनि कुपोषित छिन् । उनी चौतारामा रहेको पोषण पुनर्स्थापना केन्द्रमा छोरी खुश्बूको उपचारको क्रममा तीन दिन बसेर फर्किइन् ।
स्वास्थ्यकर्मीले दुई हप्तासम्म अस्पताल राखेर उपचार गर्न भने पनि ‘घरमा कोही नभएको’ भन्दै तीन दिन बसेर उनी घर फर्किइन् । गर्भवती हँुदा कान्छीले तीन पटक मात्रै गर्भ जाँच गरेकी थिइन् भने आइरन चक्की पनि बीचैमा खान छाडेकी थिइन् ।
पोषण पुनर्स्थापना केन्द्र चौतारामा कार्यरत स्टाफ नर्स प्रगति भण्डारीका अनुसार यस वर्ष साउनयता ७ जना नयाँ कुपोषित बालबालिकाको उपचार भएको छ । दुई जनालाई यहाँ उपचार गर्न सम्भव नभएकोले केन्द्रले कान्ति बाल अस्पताल पठायो ।
जिल्ला सदरमुकाम रहेको चौतारा सागाचोकगढी नगरपालिका तुलनात्मक रूपमा बढी कुपोषित बालबालिका भएको पालिकामा पर्छ । यो नगरपालिकामा गत वर्ष २० शीघ्र कुपोषित र २२० कुपोषित बालबालिका भएकोमा यस वर्षको पुससम्ममा ११ शीघ्र कुपोषित र ६४ जना कुपोषित बालबालिका भेटिएका छन् ।
यो नगरपालिकामा गत वर्ष १७ कडा शीघ्र कुपोषण र १९२ जना बालबालिकामा मध्यम शीघ्र कुपोषण भेटिएको थियो । यस वर्षको पुससम्ममा ११ कडा र ४४ मध्यम शीघ्र कुपोषित बालबालिका भेटिएका छन् ।
चौतारा सागाचोकगढी नगरपालिकामा ५ स्वास्थ्य चौकी, ५ अस्थायी स्वास्थ्य सेवा केन्द्र, २ सामुदायिक स्वास्थ्य इकाई र ४ शहरी स्वास्थ्य केन्द्र छन् । यस्तै, यो पालिकामा ५० जना महिला स्वास्थ्य स्वयंसेविका र २ वटा वर्थिङ सेन्टर छन् ।
२०७२ को भूकम्पका कारण नराम्ररी प्रभावित सिन्धुपाल्चोक धेरै पटक बाढी, पहिरो गइरहने जिल्लामा पर्छ । यस जिल्लामा मात्रै १ हजार ७ घर–परिवार भूकम्पका कारण विस्थापित भएका थिए । १ असार २०७८ मा हेलम्बु गाउँपालिकामा गएको पहिरोले २५ जनाको ज्यान गयो भने, कैयौं विस्थापित भए ।
विपत्तिसँग भोकमरीको सोझो सम्बन्ध देखिन्छ । प्राकृतिक विपदमा परेका त्रिपुरासुन्दरी, बलेफी, बाह्रबिसे लगायत स्थानीय तहमा बढी कुपोषित बालबालिका भेटिएका छन् ।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका—५ की सविता थामीको छोरा समुद्रको तौल जन्मँदा २ किलो भन्दा कम थियो । अहिले १३ महिनाको हुँदा उनी ६ किलोका भएका छन् । तोकिएको मापदण्ड अनुसार तौल नपुग्नु कुपोषणको सूचक हो । शीघ्र कुपोषित ती बालकको पोषण पुनर्स्थापना केन्द्रमा राखेर तीन हप्तादेखि उपचार भइरहेको छ ।
‘उनी कुपोषणका बिरामी थिए । अस्पतालमा दुई साता राखेर उपचार गरेपछि मात्रै उनको स्वास्थ्यमा केही सुधार आयो’, पोषण पुनर्स्थापना केन्द्र चौतारामा कार्यरत स्टाफ नर्स प्रगति भण्डारी भन्छिन् । थामीका १३ र ६ वर्षका दुई छोरी छन् ।
छोरीहरू पनि जन्मिंदै दुब्ला र कम तौलका थिए । तर, उनीहरूको पोषण जाँच भएन । ‘घरमै सुत्केरी भएकाले तौल भने लिइएन’ उनले भनिन्, ‘तीन पटकसम्म गर्भ जाँच गरियो । सुत्केरी भएपछि त आइरन चक्की पनि खान छाडें ।’
जबकि गर्भवतीले तोकिएको समयमा स्वास्थ्य संस्थामा पुगेर ८ पटक गर्भ जाँच गराउनुपर्छ । सरकारी वर्थिङ सेन्टरमा सुत्केरी गराए सरकारले यातायात खर्च दिने व्यवस्था गरेको छ । गर्भवती भएदेखि सुत्केरी भएपछिको ४५ दिनसम्म आइरन दैनिक खानुपर्छ । भिटामिन ए बच्चा जन्मेको दिनदेखि ४२ दिनभित्र खानुपर्छ ।
बलेफी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जमुना चौलागाईका अनुसार, पछिल्लो समय गरिएको पोषण परीक्षणमा २२ जना कुपोषित बालबालिका भेटिएका छन् र तीमध्ये १ जना अति कुपोषित छन् ।
भूकम्प तथा पहिरोले थिलथिलिएको सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–१२ बासबारीकी शर्मिला माझीको १६ महिनाको छोरा कडा कुपोषित भेटिए । मेलम्चीबाट उपचारको लागि काठमाडौंको कान्ति बाल अस्पताल पुर्याउँदा पनि उपचारका क्रममा २०७८ चैतमा उनको मृत्यु भयो ।
सबैजसो बाल कुपोषणको समस्या भोगेका परिवारमा केही साझा समस्या छन् । आमाहरू कम उमेरमा विवाह गरेका छन्, परिवार विपन्न छ र उनीहरू कम पढे–लेखेका छन् ।
जुगल गाउँपालिका–२ को लिदी गाउँका ३०९ परिवार पहिरोले विस्थापित भएका छन् । यसमध्ये ४२ परिवार चौतारा, २७ परिवार चनौटे, ६८ परिवार सेलाङमा ३ लाख रुपैयाँ सरकारी अनुदान प्राप्त गरी बस्ती स्थानान्तरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाउँछ । ती बस्तीमा पनि कुपोषित बालबालिका भेटिएका छन् ।
कोरोनाले पोषण परीक्षणमा समस्या
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको तथ्यांक अनुसार जिल्लामा दुई वर्षमुनिका १४ हजार ६२६ बालबालिका छन् । जसमध्ये आर्थिक वर्ष २०७६/७७ मा २९ जना, २०७७/७८ मा ४५ जना र २०७८/७९ मा ६८ जना अति कुपोषित भएका बालबालिका भेटिएका थिए ।
गत आर्थिक वर्षमा अति र सामान्य गरेर ७९६ कुपोषित बालबालिका भेटिएको सिन्धुपाल्चोकमा यस वर्षको पुस महिनासम्म २६ जना अति र ३२२ अन्य कुपोषित बालबालिका भेटिएको स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारी बताउँछन् ।
अधिकारीका अनुसार, चौतारामा रहेको पोषण पुनर्स्थापना गृहमा राखेर कुपोषित बालबालिकालाई निःशुल्क पोषिलो खानेकुरा खुवाएर उपचार गरिन्छ । उक्त पोषण गृहमा राखेर यस वर्ष १९ जनालाई उपचार गरिएको स्वास्थ्य कार्यालयको तथ्यांकमा छ ।
स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको तथ्यांक हेर्दा कोरोनाको कहरमा पोषण परीक्षण प्राथमिकतामा नपरेको देखिन्छ । बन्दाबन्दी भएका कारण भौतिक दूरी कायम राख्नुपर्ने बाध्यता र अर्कोतर्फ कोभिड संक्रमितको उपचार प्राथमिकतामा परेका कारण अरू बिरामी तथा स्वास्थ्यका कार्यक्रमहरू पछि परेका थिए ।
स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत रामरोशन यादव भन्छन्, ‘कोरोना महामारीको समयमा धेरै बालबालिकाको पोषण जाँच भएको देखिएन ।’ संकटको समयमा घर–परिवारका सदस्यको ध्यान बालबालिकाको पोषणमा भन्दा पनि दैनिक ज्याला गरेर कसरी खर्च जुटाउने भन्नेमा केन्द्रित हुन्छ । यादवले भने, ‘विपद्को बेला बाल पोषणमा कम ध्यान जाने गरेको भेटिएको छ ।’
स्वास्थ्यकर्मीहरूको अनुभव अनुसार अशिक्षित परिवारका सदस्यहरू भएको ठाउँमा बालबालिका कुपोषित भेटिने गरेका छन् । पढेलेखेका महिला भएको परिवारमा बालबालिकामा पोषण समस्या निकै कम देखिएको उनीहरूको अनुभव छ ।
विस्थापितको सहजीकरण गरेकी आत्मनिर्भर केन्द्र नामक गैरसरकारी संस्थाका अधिकृत दीपिका अर्यालका अनुसार, भूकम्पपछि विस्थापित भोटेकोशीमा भूगर्भविद्ले ६०० घरपरिवारको बस्ती स्थानान्तरण गर्न भने पनि सुरक्षित स्थानमा जग्गा नपाएपछि २०० भन्दा बढी परिवार त्यहीं बसेका छन् ।
‘जोखिमयुक्त स्थानमा बसेका बाह्रबिसे गाउँपालिका–७ का ३९ जनाको पहिरोमा परेर ज्यान गयो’ अर्याल भन्छिन्, ‘विपद्मा पेटभर खाना जुटाउन धौ–धौ हुन्छ, अहिलेसम्म पनि अभिभावक गुमाएका टुहुरा बालबालिकालाई पोषिलो खानेकुरा दिन कसैको ध्यान पुगेको छैन ।’
भूकम्प प्रभावित क्याम्पमै कुपोषित
रसुवाको उत्तरगया गाउँपालिका–५ को खाल्टेमा भूकम्पबाट विस्थापित क्याम्पमा बस्दै आएकी वीरमाया तामाङ २३ वर्षकी भइन् । उनी २ छोरी र १ छोराकी आमा हुन् । कान्छी छोरी २० महिना पुग्न लागिन् । उनकी २० महिनाकी ती छोरी गएको पुसमा भएको पोषण परीक्षणमा कुपोषित भेटिइन् ।
२४ वर्ष नपुग्दै सोही गाउँकी पविता तामाङ अब तेस्रो सन्तानलाई जन्म दिने तयारीमा छिन् । उनको ३ वर्षका छोरा ठिकै अवस्थामा छन् भने २१ महिनाकी छोरी कडा कुपोषित छिन् । तामाङ अहिले पनि गर्भवती छिन् ।
सोही गाउँकी ३० वर्षीया देजी तामाङका १ छोरा र १ छोरी छन् । उनकी १४ महिनाकी छोरी सपना कुपोषित भेटिइन् । झाडापखाला लागेर थलिएकी सपनाको पोषण परीक्षण गर्दा कुपोषण देखियो । त्यसपछि उनको उत्तरगया गाउँपालिकाको बहिरंग उपचार केन्द्रमा उपचार भयो । गाउँमा यस्ता उदाहरण अरू पनि छन् । सोही गाउँकी स्थानीय उर्मिला तामाङको दुई वर्ष पुग्न लागेको छोरा पनि कुपोषित भेटिएको छ ।
२०७२ वैशाखको विनाशकारी भूकम्पपछि विस्थापित भएर क्याम्पमा बसिरहेका कुपोषित बालबालिका र उनीहरूका आमाहरूको कथा हो, यो । २०७२ सालको भूकम्पका कारण रसुवामा १ हजार १४८ परिवार विस्थापित भएका थिए । रसुवाको उत्तरगया र आमाछोदिङमो गाउँपालिकाबाट विस्थापित भएका धेरै जना उत्तरगया–५ को बेत्रावतीमा झरेका थिए ।
यहाँ केही समय बसेपछि भूकम्पले विस्थापित उनीहरूको परिवार उत्तरगयाकै खाल्टे झरेका हुन् । जो अहिलेसम्म गाउँ फर्किन पाएका छैनन् । २०७४ सालदेखि उनीहरू खाल्टे र बोगटीटारमा टिनको छाप्रामा बस्दै आएका छन् ।
भूकम्पका कारण बसाइँ सर्न बाध्य भएर क्याम्पमा बस्दै आएकाहरूको परिवारलाई कोरोना महामारीले स्वास्थ्य सेवाको पहुँचमा झनै समस्यामा पार्यो । अभाव र संकटमा परेका विस्थापितका परिवारमा पोषिलो खानेकुराको पहुँच नहुँदा बालबालिकामा कुपोषणको समस्या देखिन थाल्यो ।
खाल्टेमै बस्ने विस्थापित परिवारको सदस्य समेत रहेकी महिला स्वास्थ्य स्वयंसेविका सिटी तामाङ भन्छिन्, ‘भूकम्पपछि क्याम्पमा रहेका बालबालिकामा झाडा–पखाला, छालासम्बन्धी रोग, कुपोषण जस्ता स्वास्थ्य समस्या देखियो । कोरोनाको महामारीका बेला खाल्टे बस्तीमा करिब ९ जना ख्याउटे बालबालिका भेटिएका थिए ।’
कोभिड–१९ संक्रमणपछिको बन्दाबन्दीका कारण बालबालिकाको नियमित पोषण जाँच हुन नसक्दा कुपोषित बालबालिका पहिचान गर्न समस्या परेको तामाङ बताउँछिन् । ‘कोरोनापछि आमा समूहका सदस्यले पनि बालबालिका कुपोषित भए/नभएको थाहा पाउन पाखुरा नाप्न सिके’ उनले भनिन्, ‘म पनि अहिले नाप्न जान्ने भएकी छु ।’
रसुवाको उत्तरगया गाउँपालिका–५ बोगटीटारमा अर्को विस्थापित क्याम्प छ । त्यहाँ दुई वर्ष मुनिका ९ जना बालबालिका छन् । यीमध्ये ४ जनामा कुपोषण देखिएको छ । २०७९ माघमा नौकुण्ड गाउँपालिकामा पनि कुपोषित बालबालिका भेटिएका छन् । त्यहाँको वडा नं ३ मा ३ र १ मा २ जना कुपोषित बालबालिका भेटिएको स्वास्थ्य स्वयंसेविकाहरूको भनाइ छ ।
विस्थापित क्याम्प भन्दा बाहिर रहेका भूकम्प प्रभावित समुदायका बालबालिकामा पनि कुपोषणको समस्या भेटिएको छ । जस्तो, रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–५ मा गत वर्ष एक जना कुपोषित बालक भेटिएका थिए । यस वर्ष भने कोही भेटिएका छैनन् ।
आमाछोदिङमो गाउँपालिका–३ गतलाङमा ३ जना कडा कुपोषित बालबालिका भेटिएकोमा थाम्बुचेतमा रहेको बहिरंग उपचार केन्द्रमा उपचार भएर घर फर्केको स्वास्थ्य शाखा प्रमुख निमा लामाले बताए । ‘नियमित फलोअप गरिरहेका छौं’ उनले भने ‘स्वच्छ बच्चा जन्माउन र बाल मृत्युदर घटाउन पोषणको धेरै महत्व छ ।’
यस्तै, भूकम्पबाट प्रभावित कालिका गाउँपालिकामा यस वर्ष पाँच वर्ष मुनिका ८ बालबालिका कुपोषित भेटिएका छन् । कुपोषित भएको थाहा पाएपछि उनीहरूको उपचार पनि भएको छ । यसमध्ये एक जनाको अहिले पनि उपचार भइरहेको छ ।
उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र ठकुरीले भूकम्प जस्तो विपद्का बेला विस्थापित समुदायमा कम उमेरमै विवाह भएपछि जन्मेका बालबालिकामा कुपोषणको समस्या धेरै देखिएको बताए । उनी भन्छन्, ‘प्रजनन अंग परिपक्व नभइकन विवाह गर्ने र बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्य खतरामा पर्ने र कुपोषित बच्चा जन्मने जोखिम रहन्छ । यो गाउँमा १३ वर्षको उमेरदेखि नै विवाह गरिदिने चलन छ ।’
माथिका उदाहरण हेर्दा धेरैजसो महिला १६/१७ वर्ष उमेरका आमा भएका छन् । अधिकांशले नियमित गर्भजाँच पनि नगराउने र आइरन चक्की नखाने गरेको भेटिन्छन् । विस्थापित उनीहरूको बास कहिले खाल्टे क्याम्प त कहिले हाकुतिर हुन्छ ।
जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार, कोभिड–१९ महामारीका बेला जिल्लाभरका ४ हजार ८५७ बालबालिकाको पोषण जाँच हुनुपर्नेमा बन्दाबन्दीका कारण ४ हजार २७८ जनाको जाँच नै हुनै सकेन । रसुवामा अहिले दुई वर्ष मुनिका ५ हजार ३७० बालबालिका छन् ।
रसुवामा यस वर्ष कति बालबालिका कुपोषित छन् भन्ने सम्बन्धमा वास्तविक तथ्यांक स्वास्थ्य कार्यालयसँगै छैन । स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले संघीयतापछि सबै काम स्थानीय तहले गर्ने भए पनि गाउँपालिका तहबाट एचएमआईएस अनलाइन प्रणाली अन्तर्गतको डिएचआईएस–२ मा अपडेट नगरेकाले जिल्लाभरको पूर्ण तथ्यांक आउन नसकेको बताए ।
स्थानीय तहले पोषण जाँचपछिको तथ्यांक यो प्रणालीमा नराख्दा कुपोषित बालबालिका पहिचान गरेर आवश्यक नीति योजना र बजेट कार्यक्रम बनाउन समस्या पर्ने देखिन्छ । योसँगै भौगोलिक विकटताका कारण बस्तीबाट पोषण जाँच्ने स्वास्थ्य संस्था पुग्न कठिनाइ हुने र समय लाग्ने भएकाले कतिपय कुपोषित बालबालिका पहिचानमा समस्या भइरहेको छ ।
उदाहरणको लागि भूकम्पबाट विस्थापित बस्ती खाल्टेबाट पोषण जाँच्न कर्मीडाँडा स्वास्थ्य चौकी पुग्न तीन घण्टा हिंड्नुपर्छ । त्यसैकारण त्यहाँका स्थानीय पोषण जाँचका लागि बालबालिकालाई अस्पताल पुर्याउन जाँगर चलाउँदैनन् ।
संघीय सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम अनुसार दातृ निकायहरूको सहयोगमा बालबालिकालाई कुपोषित हुनबाट जोगाउन र गर्भवती आमाको पोषण अवस्था सुधारका लागि भन्दै २०७०/७१ देखि ५ वर्षसम्मका लागि १९ अर्ब २ करोड रुपैयाँ बजेटको बहुक्षेत्रीय पोषण योजना सुरु गरेको थियो ।
यसरी हेर्दा सरकारले बहुक्षेत्रीय पोषण योजना लागू गर्दै ठूलो रकम लगानी गरेको देखिन्छ । तर रसुवा, सिन्धुपाल्चोक जस्ता जिल्लाको ग्रामीण क्षेत्रमा पोषिलो खानेकुरा त परको कुरा, गरिबीको रेखामुनिका समुदायलाई छाक टार्न सामान्य खाना जुटाउन समेत सकस परिरहेको छ ।
कुपोषित बालबालिकालाई स्वास्थ्यकर्मीहरूले पौष्टिक आहार खुवाउन र हेरचाह बढाउन सल्लाह दिन्छन् । तर ज्याला, मजदूरी गरेर बालबालिकालाई दैनिक खाने चामल र पढाइ खर्च जुटाउन पनि अभिभावकलाई कठिन छ, । रसुवाको उत्तरगया गाउँपालिकाको विस्थापित समुदायका अगुवा (पूर्व महिला स्वास्थ्यकर्मी) बुटी तामाङ भन्छिन्, ‘ज्याला मजदुरी गरेर कमाउने ठाउँसम्म छैन, अनि कसरी केटाकेटीलाई माछा, मासु, दही, दूध, अण्डा, फलफूल र ताजा सागसब्जी खुवाउनु ?’ उनी थप्छिन्, ‘विद्युत् आयोजनामा ज्याला मजदुरी गरेर आएको पैसाले राम्ररी खान त पुग्दैन ।’
संविधानले आवासको हकलाई नागरिकको मौलिक हकका रूपमा समेटेको छ । तर, भूकम्पका कारण विस्थापित परिवारको बस्ती स्थानान्तरणमा ७ वर्षसम्म ढिलाइ हुँदा उनीहरू अझैसम्म अस्थायी टहरामै बस्न बाध्य छन् । उनीहरूसँग अन्न उब्जाएर खाने जग्गा–जमिन छैन । आफूहरूसँग जीविकोपार्जन गर्ने कुनै माध्यम नभएको विस्थापितका अगुवा पूर्ण घले बताउँछन् ।
उत्तरगया गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र ठकुरी भन्छन्, ‘विस्थापितहरूमध्ये धेरैजना जाडो मौसममा तल झर्ने र गर्मीमा लेकतिर जान्छन् । उनीहरूसँग खेतीपाती गर्ने जग्गा–जमिन छैन, ज्याला–मजदुरी गरेर परिवार पाल्ने हो ।’
अपुग उत्पादन
रसुवा जिल्लामा कुपोषणका विभिन्न कारणमध्ये खाद्यान्न अभाव एक प्रमुख कारण देखिन्छ । यहाँ खेतीयोग्य जग्गा कम छ । कृषि उत्पादनका हिसाबले रसुवामा वर्षमा करिब १५०० मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि कार्यालयको प्रतिवेदनबाट देखिन्छ ।
रसुवामा अन्न उत्पादन कम हुने भएकाले यो न्यूनतम खाद्य असुरक्षित जिल्लामा पर्छ । स्थानीयस्तरमा धेरै उत्पादन नहुने भएकाले चामल समेत आयात हुन्छ । पेटभरी खान समेत धौ–धौ हुने भएपछि पोषणयुक्त खानेकुरा पाउनु टाढाको कुरा हो ।
यो जिल्लामा कृषि उत्पादनका हिसाबले ८ प्रतिशत जति जमिन मात्रै खेतीयोग्य छ । यहाँ भएको १ लाख ५ हजार २०० हेक्टर जमिनमध्ये १२ हजार ४५८ हेक्टर मात्र खेतीयोग्य छ । यसमा पनि १२०० हेक्टरमा मात्र खेती भइरहेको छ भने ११ हजार १६७ हेक्टर पाखोबारी रहेको कृषि कार्यालयको तथ्यांक छ ।
यसरी खाद्य उत्पादन कम हुने जिल्लामा सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिका विपद्को समयमा झनै जोखिममा पर्ने गरेको देखिन्छ । विपद्को समयमा पोषणयुक्त खाना जुटाउने र नियमित खान कठिनाइ परिरहेको स्थानीयहरू बताउँछन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले दुई दशकमा आमा तथा बच्चाको स्वास्थ्यमा प्रगति भएको कुरालाई महत्वका साथ उठाएको छ । उक्त प्रतिवेदनमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सन् १९९६ मा प्रति १ हजारमा ११८ र सन् २०१६ मा पुग्दा तीन गुणाले कमी भई ३९ जनामा झरेको जनाएको छ ।
नेपालले ‘दिगो विकास लक्ष्य’ हासिल गर्नका लागि सन् २०३० सम्ममा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति १ हजार जीवितमा २० मा घटाउनुपर्ने हुन्छ । नेपालले लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाइसकेको हुँदा नीतिगत रूपमा मात्रै नभई व्यावहारिक रूपमा समेत आमा र शिशुको ज्यान बचाउन पहल थाल्नुपर्ने देखिन्छ । यसका लागि पोषणयुक्त खाना सबैभन्दा प्राथमिक विषय हुन आउँछ ।
प्रतिक्रिया 4