
४ चैत, खलंगा । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले बुधबार कर्णाली अञ्चलको हिमाली जिल्ला जुम्लामा पहिलो पटक एफटीटीएच फाइबर इन्टरनेट सेवा औपचारिक सुरुआत गर्यो ।
वर्ल्डलिंककाअनुसार झण्डै पाँच वर्ष लामो प्रयासपछि गत असारमा जुम्ला सदरमुकाममा फाइबर नेट सेवाको परीक्षण थालिएको थियो ।
काठमाडौं गतिको इन्टरनेट सवाको ८ महिने परीक्षणपछि बुधबार कम्पनीले औपचारिक सेवा आरम्भको घोषणा गर्यो ।
मोबाइल सेवासमेत प्रभावकारी नभएको जिल्लाका विभिन्न ठाउँहरुमा उच्च गतिको इन्टरनेट सेवा विस्तारको कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर देश जोड्ने अभियान भएको बताए ।
‘जुम्लामा वायरलेस इन्टरनेट थियो,अब हामीले फाइबरनेट इन्टरनेट ल्याएका छौं । संसारकै उच्च गतिको इन्टरनेट जुम्ला र पूरै कर्णालीमा पुर्याइनेछ,’ अध्यक्ष अग्रवालले भने ।
सहर उन्मुख जनसंख्या र सजिलो भौगोलिक क्षेत्रमा नाफसहितको सेवा विस्तार छोडेर दुर्गमा वर्ल्डलिंकको पहुँच बढाउने अग्रवालको घोषणा पछि हामीले उनलाई सोध्यौं । यसबाट वर्ल्डलिंकले के पाउँछ ? जवाफमा अग्रवालले भने, ‘हामी नाफा कमाउनुभन्दा पनि कर्णालीलाई संसारसँग जोड्न चाहन्छौं ।’
अग्रवालकाअनुसार वर्ल्डलिंक अब आफ्नो लगानी साझेदारसँग मिलेर देशभर पहुँच विस्तारमा थप काम गर्ने छ र अबको तीन वर्षमा ७० प्रतिशत जनतालाई उच्च गतिको इन्टरनेट पहुँचमा पुर्याउने छ । उनै अग्रवालसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
ठूला सहर र जनसंख्या छोडेर जुम्लामै इन्टरनेट पुर्याउने सोच कसरी आयो ?
नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूर सञ्चार विकास कोषको कार्यक्रम ल्याएको थियो । दुर्गम भूभागमा वायरलेस इन्टरनेट सेवा विस्तार गर्ने प्राधिकरणको कार्यक्रम कर्णाली प्रदेशमा कुनै पनि कम्पनी सहभागी भएनन् ।
इन्टरनेट विस्तारमा कम्पनीले लगानी गर्ने र त्यसमा लाग्ने थप लागत प्राधिकरणले सघाउने भन्ने सर्त थियो । तर, कुनै पनि दूरसञ्चार सेवा प्रदायकले यसमा चासो दिएनन् । त्यसपछि हामीलाई प्राधिकरणले प्रस्ताव गर्यौ तपाईंहरु यो काम गर्न सक्नुहुन्छ ? हामीले पनि हेर्यौं । हाम्रो टोलीले जुम्ला र कर्णाली प्रदेशको स्थलगत भ्रमण गर्यो । म आफैं पनि दुई पटक त्यो क्षेत्रमा पुगे ।
तपाईंले पहिलो पटक कर्णाली घुम्दा यस क्षेत्रमा इन्टरनेट पहुँच बढाएर कम्पनीलाई फाइदा हुन्छ भन्ने परिकल्पना आएको थियो ?
ठूला भनिएका मोबाइल सेवा प्रदायकको समेत सेवा नपुगेको प्रदेशमा दूरसञ्चारका लागि वर्ल्डलिंकले इन्टरनेट दिन पाए हामीलाई पनि गर्व लाग्ने थियो भन्ने मानसिकता बन्यो । यो भनेको हाम्रो पनि ठूलो योगदान र व्यापारको विस्तार भन्ने पनि थियो । त्यसपछि हामीले जुम्लामा वायरलेस इन्टरनेट सेवा सुरु गर्यौं ।
यस्तै २०२१ मार्चमा हामीले से फोक्सुण्डोमा वाइफाइ वायरलेस इन्टरनेट सेवा सुरु गर्यो । यो इन्टरनेट सेवा हामीले कर्णालीका मुख्यमन्त्रीमार्फत उद्घाटन गरेका थियौं । अब बिस्तारै हामीलाई कर्णालीप्रति माया गहिरिन थाल्यो । पहिलो हामीले कर्णालीलाई संसारसँग जोड्दै थियौं, अर्को हाम्रो सेवाबाट कर्णालीबासीहरु खुसी थिए । त्यसो भए व्यापारसँगै सेवा किन नगर्ने ? कर्णालीलाई इन्टरनेट पहुँचबाट किन नजोड्ने भन्ने मानसिकतामा कम्पनी पुग्यो ।
कर्णालीमा इन्टरनेट पहुँच बिस्तार सेवा होकी व्यापार ?

पैसा कमाउने भन्दा पनि कर्णालीमा इन्टरनेट विकास गरिनु पर्न भन्नेमा हामी फोकस भयौं । यदि कर्णालीर्लाइ इन्टरनेटबाट जोड्दै गयौं भने पहिला त यो सेवाको विस्तार भयो, दोस्रो बिस्तारै यो त व्यापार पनि होनी भन्ने हाम्रो निष्कर्ष पनि थियो । यसमाथि आफ्नो सुविधाका लागि कर्णालीका जनताले पैसा तिर्न सक्छन भन्ने पनि भयो । तर,यस्तो कमाइ तत्कालका लागि होइन लामो समयमा हुन्छ । अर्थात ८/१० वर्षपछि भन्ने थियो ।
कर्णालीमा फाइबर इन्टरनेट कति सहज छ ?
सडक र पोल पुगेका ठाउँमा फाइबर सेवा विस्तार गर्न कठिन होइन । तर, निश्चित मात्रामा व्यापार हुने ठाउँमा यस्तो सुविधालाई निरन्तरता दिन कठिन कुरा हो । कर्णाली जस्तो कठिन भूगोलमा आउने बाढी पहिरो र हिमपातका कारण सेवामा हुने अवरोधलाई कम गर्नु सबै भन्दा कठिन हो ।
तर, हामीले बलियो टिम बनाएर यसलाई व्यवस्थापन गर्ने प्रबन्ध मिलाएका छौं । कतिपय ठाउँमा बिजुली नभएका कारण सोलार प्यानल राख्नुपर्ने जस्ता कठिनाइहरु छन् । यो प्रदेशमा नेटवर्क बनाउनुभन्दा पनि त्यसलाई सञ्चालन गर्नु कठिन कुरा हो ।
जुम्ला मात फाइबर जोडियो अब कर्णाली प्रदेशभर थप विस्तार हुन्छ ?
पक्कै हुन्छ, अहिले हामीले सुर्खेतबाट जुम्लामा फाइबर लगेका छौं । अब यसलाई हामी दोहोरो सर्किट बनाएर जोड्छौं । यसपछि हामी कर्णालीमा पोल लागेका जति ठाउँमा छिट्टै फाइबर विस्तार गर्छौं । यसका लागि हाम्रा लगानीकर्ताहरु पनि तयार हुनुहुन्छ ।
वर्ल्डलिंक कुन प्रतिफल देखेर यो जोखिमपूर्ण लगानी विस्तार गरिरहेको छ ?
हामीलाई अहिले नाफा कमाउनु छैन, सेवाको विस्तार र मानिसमा इन्टरनेटको पहुँच मात्रै स्थापित गर्नुछ । कालान्तरमा यसले प्रतिफल पनि दिन्छ भन्नेमा हामी विश्वस्त छौं ।
वर्ल्डलिंक अन्य दुर्गम क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तारमा काम गरिरहेको छ ?
पक्कै पनि हामी हाम्रो सेवालाई स्तरीय बनाउँदै सबै नेपालीलाई इन्टरनेट सेवा पुर्याने लक्ष्यका साथ अघि बढिरहेका छौं । सरकारले हामीलाई वायरलेस स्पेक्ट्रम सेवा विस्तार गर्न दिएको भए हामी निकै फड्को मार्ने हुन्थ्यो ।
तर, हामीसँग फाइबर मात्रै विकल्प छ । यद्यपि हामी कठिनाइ र महँगो लागतका बाबजुत हामी फाइबरमार्फत इन्टरनेट पहुँच विस्तारमा लल्लिन छौं । हामी अरु पनि दुर्गम क्षेत्रमा इन्टरनेट पहुँच विस्तारका लागि काम गरिरहेका छौं । आगामी दुईदेखि तीन वर्षमा हामी हाम्रो लगानी पनि बढाउने छौं र नेपालको करिब ७० प्रतिशत जनतालाई इन्टरनेटको पहुँचबाट जोड्ने छौं ।
प्रतिक्रिया 4