
५ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि लगाएको गम्भीर आरोपबारे संसदमा प्रश्न उठेको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकार र पत्रकारिताबारे अभिव्यक्ति दिंदा त्यसले प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन भनी प्रश्न गरे ।
‘सम्माननीय सभामुख पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिंदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्,’ उनले भने ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै ध्यानाकर्षण गरे ।
‘पत्रकारहरुकोबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनु पर्यो । कुन-कुन हो पित पत्रककारिता गर्ने ?’ उनले भने, ‘यो सार्वजनिक महत्वको विषय हुन्छ सभामुखबाट उठेको विषय ।’
सभामुखको अभिव्यक्तिलाई लिएर संसदले छानबिन समिति बनाउनुपर्ने सांसद सुवालको आग्रह छ ।
चैत ३ गते नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका हुन् । त्यसदिन उनले भनेका थिए, ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन् । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’
पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा प्रतिनिधिहरुकै अगाडि सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका थिए, ‘पत्रकारहरु बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले रोकिराख्नु पर्दैन ।’
तर, उनको यो गम्भीर आरोपलाई लिएर सरोकारवालाहरुले आपत्ति जनाउँदै आएका छन् ।
प्रतिक्रिया 4