
५ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल प्रतिनिधिसभा बैठकमा बाेल्दै थिए । त्यसै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बैठक हलमा प्रवेश गरे । संसदकाे नियमावली अनुसार कुनै सदस्य आफू बसेकाे ठाउँबाट बाेलिरहँदा अर्काे कुनै सदस्य सभामुख र वक्ताकाे बीचबाट हिँड्न पाइँदैन ।
तर प्रधानमन्री भने फटाफट हिँडिहाले । त्यसप्रति सुवालले आपत्ति जनाए । उनले भने, ‘कुनै सांसदले संसदमा बोलिरहँदा प्रधानमन्त्रीले बीचबाट हिंड्न नपाइने ब्यबस्था छ । तर यो के हो यो ? संसद हो कि क्लब हो । क्लब भए क्लबको सामान ल्याउनुपर्यो, गित गाउनुपर्यो, नाच्ने गाउने आउनुपर्यो । होइन भने संसदको नियम पालना हुनुपर्यो ।’ उनले सभामुखलाई ‘याे संसद हो कि क्लब’ भनी प्रश्न गरे ।
‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक’को विरोधको सूचना फिर्ता लिने कि नलिने भन्ने चरणको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
सभामुख देवराज घिमिरेले आफनो विरोधको सूचना फिर्ता लिने कि नलिने भनी निर्णय सुनाउन सांसद सुवाललाई समय दिएका थिए । तर, सुवालले किसानले मल नपाएको लगायत जनजीविकाको विषय उठाए । त्यसपछि सभामुख घिमिरेले विषयमा केन्द्रित हुन आग्रह गरे ।
जवाफमा सांसद सुवाल कड्किएका हुन् । ‘जनताको प्रतिनिधि हो । जनताको कुरा सुनिँदैन भने संसदबाट प्रधानमन्त्री चुन्नुको अर्थ हुँदैन ।
किसानले मल पाइराखेका छैनन्’ सांसद सुवालले सभामुखलाई सम्झाए ।
प्रतिक्रिया 4