
५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मन्त्रिपरिषद्मा सहभागी नहुने उनी निकट नेताले दाबी गरेका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सरकारमा सहभागी हुने कांग्रेसले औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को विस्तारसँगै पार्टीबाट नेतृत्व गर्ने र मन्त्री हुनेहरुको चर्चा सुरु भइसकेको छ ।
पार्टीबाट नेतृत्व गरेर जानेहरुको नाममा उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरु विमलेन्द्र निधि र प्रकाशमान सिंहको नाम चर्चामा छ ।
संस्थापनइतरका नेता डा. शेखर कोइरालाको समेत नाम जोडेर समेत उनी सरकारमा जाने विषय कांग्रेसमा कतिपयले उठाउँदै आएका थिए । कोइराला मन्त्रिपरिषदमा सहभागी हुने चर्चामा सत्यता नरहेको उनी निकट नेता डा. गोविन्द पोखरेलले बताए । उपप्रधान सहित पार्टीबाट नेतृत्व गर्ने अवसर आए पनि कोइराला मन्त्रिपरिषद्मा नजाने पोखरेलले दाबी गरे ।
‘उहाँ सरकारमा नजाने कुरा ढुक्क हो । सरकारमा जाने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएको छैन,’ पोखरेलले अनलाइनखबरसँग भने ।
पार्टी संगठनलाई चलायमान बनाउने र पार्टी कार्यकर्तालाई भेट्न देशभर भ्रमण गर्ने कामला२ कोइरालाले प्राथमिकतामा राखेको पोखरेलले बताए । ‘चुनावी गठबन्धनले कांग्रेसमा निराशा छाएको थियो । कार्यकर्ताहरुलाई पुनर्जागृत गराउन संगठनमा उहाँको आवश्यकता छ,’ पोखरेलले भने, ‘उहाँ संगठनतिर लाग्नुहुन्छ । प्राथमिकता सरकारमा जाने हुँदै होइन ।’
प्रतिक्रिया 4