
५ चैत, काठमाडौं । बाराका अब्दुल आलम राहदानी बनाउन भन्दै घरबाट हिंड्दा कम्तीमा एक साता काठमाडौं बस्ने तयारीका साथ आएका थिए ।
जिल्लाबाट नियमित प्रक्रियामा राहदानी बनाउँदा एक महिनाभन्दा बढी समय लाग्ने थाहा पाएका उनी चाँडै राहदानी बन्ने आशमा बिहीबार काठमाडौं आइपुगेका थिए । उनलाई गाउँका दाजुहरुले काठमाडौंमा पनि दिनभर लाइन लागेपछि मात्रै राहदानी बनाउन सकिने सुनाएका थिए ।
‘त्यसैले बसाइ अलि लामै होला भन्ने सोचेर एक साताको तयारी गरेको थिएँ’, त्रिपुरेश्वरस्थित राहदानी विभागमा शुक्रबार भेटिएका आलमले भने, ‘तर, मैले आधा घण्टा पनि लाइन बस्नुपरेन ।’
उनका अनुसार, बिहान १० बजे राहदानी विभाग पुग्दा उनलाई फारम अनलाइनमै भरेर आउन भनिएको थियो । ‘कार्यालय बाहिर फारम भर्ने ठाउँहरु रहेछन्, आफैं भर्दा पनि हुने रहेछ, त्यहाँ भर्दा ३०० रुपैयाँ लियो’ आलमले सुनाए, ‘फारम भर्न धेरै बेर नै लागेन, भरिसक्दा भित्र गएर १२ हजार रुपैयाँ राजश्व बुझाएर बायोमेट्रिक दिएँ ।’
उनलाई अबको तीन दिनभित्र राहदानी लिन आउन भनिएको छ । भन्छन्, ‘मोबाइलमै म्यासेज आउने रहेछ, कुनै विवरण गलत भएको रहेनछ भने म्यासेज आउनेबित्तिकै पासपोर्ट पाइने रहेछ ।’ सोचेभन्दा चाँडै काम हुने देखिएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘एक हप्तै कुर्छु भनेर आएको थिएँ, तीन दिनमै फर्किन पाउने भएँ ।’
कञ्चनपुरका अनिल जोशी चाहिं राहदानी बनेको सन्देशसहित म्यासेज आएपछि बिहीबार विभागमा पुगेका थिए । दुई दिनअघि मात्रै उनले द्रुत सेवामार्फत राहनदानी बनाउन फारम भरेर बायोमेट्रिक दिएका थिए ।
‘बाहिर गइहाल्नुपर्ने थियो, त्यसैले चाँडो बनाउने गरी आवेदन दिएको थिएँ’ जोशीले भने, ‘म्यासेज आएपछि पासपोर्ट लिन आएको हुँ ।’ तर, उनी विभागमा अलि चाँडै पुगेछन् ।
उनका अनुसार विभागले नियमित प्रक्रियाबाट बुकिङमार्फत राहदानी बनाउनेलाई १० बजेदेखि २ बजेसम्म राहदानी वितरण गर्ने गरेको रहेछ । त्यसपछि अत्यावश्यक राहदानी बनाउनेको पालो आउने रहेछ ।
‘म चाँडै आएकाले अलि कुर्नुपर्ने भयो, नत्र अघि नै घर गइसक्ने रहेछु’ उनले अनलाइनखबरसँग भने, ‘आजै पासपोर्ट लिएर घर जान पाउने भएँ ।’
चितवनकी संगीता अधिकारी छोरीको राहदानी बनाउन बिहीबार काठमाडौं आएकी थिइन् । जिल्लाबाट आवेदन दिंदा ढिलो हुने सुनेर राजधानी नै आएकी उनी शुक्रबार बिहानै विभाग पुगेकी थिइन् ।
वैदेशिक अध्ययनका लागि उनकी छोरीले इन्टरनेशनल इंग्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षाको तयारी गरिरहेकी थिइन् । जाँच दिनुअघि कन्सल्टेन्सीले राहदानी पनि अनिवार्य मागेपछि उनी हतारहतार छोरी लिएर काठमाडौं आएकी थिइन् ।
पालो कुर्नुपर्ने हुनसक्ने सोचेर बिहानै विभाग पुगेकी उनकी छोरीले एक घण्टामै राजश्व बुझाएर बायोमेट्रिक मात्र दिइनन्, तीन दिनमै पासपोर्ट समेत पाउने भएकी छन् । ‘अहिले त एकदम चाँडो हुँदोरहेछ, अब पासपोर्ट लिएरै फर्किने सोचे बनाएका छौं’, उनले भनिन्, ‘यति चाँडै काम होला भन्ने छ लागेकै थिएन ।’
उनीहरु मात्र होइन, राहदानी बनाउन आउनको थामिनसक्नुको भीड देखेका अरुलाई पनि अहिले विभागको दृश्य अनौठो लाग्छ । यो राहदानी विभाग त्यही कार्यालय हो, जुन कार्यालय त्रिपुरेश्वरमा सर्नुअघि राहदानी बनाउन युवा युवती रातभरि लाइन बस्थे । कार्यालय बाहिरसम्म दिनभर बाक्लो भीड हुन्थ्यो ।
राहदानी लिन लाइन लाग्नेको भीड अत्यधिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अध्ययन टोली नै गठन गरेर समाधानको प्रयास गरेको थियो । टोलीले नियमित प्रक्रियाबाट पासपोर्ट लिन खोज्नेहरुका लागि सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमै फर्म भर्ने व्यवस्था गर्न सुझाव दिएको थियो ।
राहदानी लिनेहरुको भीडबारे अध्ययन गर्न गठन गरेको टोलीले राहदानी वितरण सेवा सबै जिल्लाबाट नियमित गरे भीड कम हुनसक्ने सुझाएको थियो । अत्यावश्यक र जरुरी अवस्थामा मात्रै विभागबाट गर्न भनेको थियो ।
‘अहिले त्यही गरेका छौं, विगतको मोडालिटी फेरिएको हो’, राहदानी विभागकी निर्देशक द्रुपदा सापकोटा भन्छिन्, ‘१६ माघभन्दा अघिसम्म ३ दिनको मात्र फारम खुल्थ्यो, अहिले एकैपटक एक महिनाको खुल्छ । सबै जिल्लाबाट पनि फारम भर्न खुला गरिएको छ ।’
उनका अनुसार अहिले ७७ वटा जिल्ला प्रशासन कार्यालय, १७ वटा इलाका प्रशासन कार्यालय र ३८ वटा विदेशस्थित नेपाली नियोगबाट विद्युतीय राहदानी जारी भइरहेको छ । ‘प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले पनि राहदानीको विषयमा पहिल्यैदेखि चासो देखाउनुभएको थियो, त्यसपछि गृह मन्त्रालयसँग पनि समन्वय गरेर जिल्लाबाटै आवेदन दिने कुरालाई प्रोत्साहित गर्ने गरी तयारी गर्यौं’ सापकोटाले भनिन्, ‘पहिले विभागमा भीड देखिनुको कारण जिल्लाबाट अपेक्षित रुपमा आवेदन नआउनु पनि थियो ।’
अहिले राहदानी विभागबाट दैनिक झण्डै ६ हजार राहदानी छपाइ भइरहेको छ । दैनिक १५०० आवेदन दर्ता भइरहेको छ । ‘यत्तिको संख्यालाई तीन दिनमा राहदानी दिन सकिने रहेछ, प्रणाली थोरै परिवर्तन गर्दा विभागमा भीड पनि हटेको छ’, सापकोटाले अनलाइनखबरसँग भनिन्, ‘धेरैलाई जिल्ला जिल्लाबाट फारम भर्न मिलेपछि किन काठमाडौं आउने भन्ने पनि परेको छ ।’
त्यसो त अझै कतिपयले अनलाइनबाट फारम भर्न पनि समस्या हुने गरेको गुनासो गर्ने गरेका छन् । तर सापकोटा भन्छिन्, ‘विगतमा फारम भर्नलाई निश्चित समय मात्र तोकिएको थियो, त्यसले गरेर समस्या भयो । अहिले २४ सै घन्टा फारम भर्न मिल्ने बनाइएको छ । त्यसैले यो समस्या समाधान भइसकेको छ ।’
उनका अनुसार अहिले एक महिनाका लागि अनलाइन फराम सिद्धिन लागेको देखिए पुनः एक महिनाका लागि थप खोलेर यो व्यवस्थालाई निरन्तरता दिने विभागको तयारी छ । यसअनुसार जुनसुकै बेला फारम भर्न पाइए पनि वेबसाइटमा अनावश्यक लोड नहुने अपेक्षा गरिएको उनले बताइन् ।
अत्यावश्यक बाहेक जिल्ला प्रशासन, इलाका प्रशासन र विदेशस्थित नियोगबाट विभागमा विवरण प्राप्त भएको मितिले नजिकका जिल्लामा १० देखि १२ दिन, तराईका जिल्लामा १२ देखि १५ दिन, पहाडका सुगम जिल्लाहरुमा १५ देखि २० दिन, हिमाली जिल्लामा २० देखि ३० दिन र विदेशस्थित नियोगमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको सापकोटा बताउँछिन् ।
प्रतिक्रिया 4