
५ चैत, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा अप्रेशन गरेर जन्माइएको हात्तीको छावाको आज आइतवार न्वारन गरिएको छ ।
हिन्दु संस्कार अनुसार पण्डित बोलाएर शुद्ध गरी हात्तीको छावाको नाम विजयगज राखिएको छ । २५ वर्षको गण्डकीकली हात्तीले गत फागुन २४ गते बुधवार छावा जन्माउन नसकेपछि नेपालमा नै पहिलोपटक हात्तीको शल्यक्रिया गरेर पेटबाट बच्चा निकालिएको थियो । जन्मिदा झण्डै झण्डै मुटुको धड्कन शून्य जस्तै भएको विजयगजलाई कृत्तिम श्वास दिएर चिकित्सकहरुले टोलीले बचाएको थियो ।
हात्तीको १२ औं दिनको दिनमा न्वारन गर्ने चलन रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरका नायव सुब्बा मनपुरन चौधरीले जानकारी दिए । कठिन अवस्थामा रहेको हात्तीलाई डा.विजय श्रेष्ठ नेतृत्वको टिमले अप्रेशन गरेर सफलतापूर्वक छावा निकालेको हुनाले छावाको नाम विजयगज राखिएको उनले बताए । गण्डकीकली निकुञ्जमै रहेकी ५० वर्षीया प्रेरणाकलीकी छोरी हो । गण्डकीकलीको पहिलो बेतको बच्चा पनि मरेकोको थियो । उसको यो दोस्रो बेतको छावा हो ।
निकुञ्जका चिकित्सक डा. विजय श्रेष्ठको टोलीले माउ र बच्चा दुबैको ज्यान खतरा देखेपछि अप्रेशन गरेको थियो ।
गण्डकीकलीको पछाडिको भाग करिब एक फिट चिरेर पेटभित्रको बच्चा निकालेको थियो । अहिले बच्चा र आमा दुवै स्वस्थ छन् । हात्तीले छावालाई दूध भने दिएको छैन । अर्को हात्तीको दूध चुसाउने प्रयास भएपछि छावाले नै दूध खान जानेको छैन ।
हात्ती प्रजनन् केन्द्रका नासु मनपुरन भन्छन्, ‘हामीले अर्को ६ महिना अगाडि सुत्केरी भएको हात्तीको दूध खुवाउन खोजेका छौं, छावाले चुस्नै जान्दैन, उसको माउले खान पनि दिएको छैन ।’
अहिले छावालाई १ लिटर तातो पानीमा १ सय ग्राम पाउण्डर दूध घोलेर २२ घण्टामा दिने गरिएको उनले जानकारी दिए ।
हात्तीको अप्रेशन गरिएको घाउ पनि निको हुँदै आएको छ । हात्ती केही दुब्लाएको त छ तर विस्तारै खान थालेको महतोले जानकारी दिए । ‘थोरै थोरै खान्छ तर सबै कुरा खान थालेको छ’ महतो भन्छन्, ‘उसको घाउ दिनका दिन ड्रेसिङ्ग गर्ने गरेका छौं ।’
प्रजनन् केन्द्रमा १ वर्षका ६ वटा, साढे ३ वर्षका ४ वटा छावा छन् । २०८० सालमा सुत्केरी हुने ३ र २०८१ मा सुत्केरी हुने ९ वटा हात्ती रहेको प्रजनन् केन्द्रका नासु मनिपुरन महतोले जानकारी दिए ।
ढोईले गर्भवती भएको २२ देखि २४ महिनामा बच्चा जन्माउँछ । खोरसोरमा ढोईहरू जंगली हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देसँगको संसर्गबाट गर्भवती हुने गरेका छन् ।
प्रतिक्रिया 4