
५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विधि र प्रणाली सुधारको कामलाई प्राथमिकतामा राखिएको बताएकी छिन् । सोमबार पत्रकारहरुसँग भेट गर्दै उपप्रमुख डंगोलले पहिलो वर्षको प्राथमिकता विधि र प्रणाली सुधारलाई दिइएको बताएकी हुन् ।
उनले काठमाडौंको मौलिकता बचाएर, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचानसँगै आधुनिक भौतिक विकासको सन्तुलनका लागि विधि र पद्धति आवश्यक रहेको बताइन् ।
स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि चरणबद्ध रुपमा सुधार गर्ने भन्दै डंगोलले कानुनले स्थानीय तहलाई दिएका अधिकारलाई नागरिकको चाहना बमोजिम उपयोग गर्ने बताइन् ।
डंगोलले उपप्रमुखलाई न्यायिक समितिको संयोजक हुने अधिकार रहेको भन्दै अहिले काठमाडौं महानगरपालिकाले न्यायिक निरुपणका कार्यलाई वडास्तरीय मेलमिलाप केन्द्रमार्फत जनताका आँगनमै पुर्याउने काम भइरहेको बताइन् । वडा वडामा महिला सञ्जाल गठन गरेको भन्दै डंगोलले भनिन्, ‘घरायसी समस्या तथा घरेलु हिंसा लगायत सामान्य विवाद सुन्न वडामा महिला सञ्जाल गठन गरिएको छ । यो सञ्जालले महिला र पुरुष दुवैका कुरा सुन्छ ।’
प्रतिक्रिया 4