
६ चैत, ललितपुर। ललितपुर महानगरले नख्खु कारागारमा रहेका कैदीबन्दीहरुलाई सीप विकास तालिम दिन सुरु गरेको छ ।
कारागारमा रहेका कैदीबन्दीहरुमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भर बनाउन महानगरले तालिम दिन सुरु गरेको जनाएको छ ।
पहिलो चरणमा नख्खु कारागारमा रहेका बन्दी मध्ये ६० जनाले तालिम लिदैंछन् । उनीहरुलाई बेकरी, फर्निचर र इलेक्ट्रिकसम्बन्धी तालिम दिइनेछ । फर्निचरसम्बन्धी तालिम ३ महिना, बेकरीसम्बन्धी एक महिना र इलेक्ट्रिक तालिम तीन महिनाको हुने महानगरले जनाएको छ ।
तालिम उद्घाटन गर्दै महानगरप्रमुख चिरीबाबु महर्जनले नख्खु कारगारमा रहेका सबैलाई चरणबद्ध रुपमा महानगरले तालिम दिने बताए ।
कारागार प्रशासनका अनुसार नख्खु कारागारमा सोमबार एक हजार चार सय ५६ जना कैदीबन्दी छन् । यो संख्या स्थानान्तरणका कारण दिनैपिच्छे थपघट भइरहन्छ । नख्खु कारागारमा भएका मध्ये एक सय १ विदेशी कैदी छन् ।
ललितपुर प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले विगत, वर्तमान र भविष्यको लागि जीवनलाई जोड्न तालिम अत्यावश्यक भएको बताए ।
कारागार प्रशासक बद्रीनाथ गैरेका अनुसार कारागारमा २०देखि ४० वर्षका पुरुषहरु छन् । यो कारागारमा रहेका कैदीबन्दीहरु अधिकांश बिरामी छन् ।
उपत्यका बाहिरका कारागारमा रहेका बन्दीहरु बिरामी भएपछि उपचार गर्न सहज होस् भन्दै उपत्यकाभित्रका कारागारमा स्थानान्तरण गर्ने बद्रीनाथ गैरेल जानकारी दिए ।
प्रतिक्रिया 4