
६ चैत, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् सांसद शक्तिबहादुर बस्नेतले केही दिनभित्रै सरकारले पूर्णता पाउने बताएका छन् ।
उपमहासचिव बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने सबै राजनीतिक दलहरु सरकारमा सहभागी हुने विश्वास समेत व्यक्त गरे। विपक्षमा बस्ने भनेर कुनै पनि राजनीतिक दलहरुले नभनेकाले उनीहरु सबै सरकारमा सहभागी हुने उनको भनाइ थियो।
उनले भने, ‘ फेरि पनि आगामी दिनमा सहमति निर्माण गरेर अघि बढनका लागि सरकारले आफ्नोतर्फबाट प्रयत्न गर्छ । हामी सबैको प्रयत्न हुन्छ । प्रधानमन्त्रीज्यूले भन्नु भएजस्तै केही दिन भित्रै यसले पूर्णता पाउँछ ।’
प्रधानमन्त्री दाहालले विश्वास मत लिएलगत्तै उपमहासचिव बस्नेतले राष्ट्रिय सहमती निर्माण गरेर अघि बढन सरकार र सत्तारुढ दलहरु लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘हाम्रो कोशिसलाई सकेसम्म राष्ट्रिय सहमती नै हो । आज पनि हाम्रो प्राथमिकता यो हो । र, कोसिस पनि त्यो हो । तर अव केही दलहरुको राष्ट्रिय सहमतीप्रति त्यति रुचि देखिएन । सोचे अनुसारको सहमती नभएपनि अधिकतम सहमतिको वातावरण तय भएको छ ।’
उपमहासचिव बस्नेतले केही दलहरुले रुचि नदेखाए पनि अधिकतम सहमती निर्माण गरेर सरकार अघि बढने वातावरण बनेको पनि बताए ।
उनले भने, ‘अहिले गठबन्धनमा सहभागी भएका सबै दल, अहिले सरकारलाई विश्वासका मत दिएका सबै दलहरु सरकारमा सहभागी हुने वातावरण बन्न सक्छ । किनकी अघिल्लो पटक जस्तो यतिबेला सरकारलाई विश्वासको मत दिएर विपक्षमा हामी बस्छौं भनेर कसैले भन्नु भएको छैन ।’
प्रतिक्रिया 4