
६ चैत, पोखरा । ७ फागुनमा पोखराको बेगनास–पोखरा सडक खण्डमा नगर बस दुर्घटना हुँदा चालकसहित ४७ जना घाइते भए । पोखरा विश्वविद्यालयका घाइते विद्यार्थीका अनुसार बस चलाउँदा चलाउँदै चालक निदाएका थिए । प्रहरी अनुसन्धानमा पनि चालकको गम्भीर लापरवाही भएको खुलेको थियो ।
३ चैतमा पोखरा चिप्लेढुंगामा नगर बसले ठक्कर दिँदा स्कुटरमा सवार २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भयो । बस चालक सागर क्षेत्री अहिले प्रहरी नियन्त्रणमा छन् । त्यसअघि २६ माघमा पोखरा बसपार्क क्षेत्रमै बसले ठक्कर दिँदा २७ वर्षीया रेजिना आचार्यको मृत्यु भयो ।
सार्वजनिक यातायात त्यसमा पनि नगरबसको लापरवाहीका कारण बाटो दिनदिनै असुरक्षित बन्दै गइरहेको पैदलयात्रीको गुनासो छ । ‘सार्वजनिक सवारी साधन त्यसमाथि यो नगरबसहरु यति कम्पिटिसनमा चल्छन् नि ! कहाँ मान्छे ओराल्ने, कहाँ मान्छे चढाउने भन्नेमा पनि लापरवाही गर्छन्’, पोखरा साइकल सिटीका पूर्वअध्यक्ष प्रकाश बज्राचार्य भन्छन् ।
पोखरा महानगरले नगर बसमा यात्रु ओराल्न र चढाउन निश्चित ठाउँ तोकेको छ । तर, अधिकांश नगर बसले त्यसको पालना गरेका छैनन् । आफूखुसी मनोमानी ढंगले यात्रु चढाउने र ओराल्ने गर्दै आएका छन् ।
नगर बसहरुमा तीव्र गतिमा हाँक्ने र एकले अर्कालाई उछिन्ने अघोषित प्रतिस्पर्धाजस्तै छ । जसको प्रत्यक्ष मारमा साना सवारी साधनका चालक र पैदलयात्रु पर्ने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरीका अनुसार पोखरामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै पोखरामा १०५ वटा सवारी दुर्घटना भएका छन् । निजी जिप, कार १९ वटा दुर्घटना हुँदा ११ वटा माइक्रोबस तथा बस नै दुर्घटनामा परेका छन् । सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल पर्ने गरेको छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो २ वर्षमा २४८ सवारी दुर्घटनामा परी ८४ जनाको ज्यान गएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी शिवप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनाबाट २९ जनाको मृत्यु भएको छ । जसमा २२ जना पुरुष, ५ जना महिला र २ जना बालबालिका छन् । अघिल्लो आर्थिक वर्षमा सडक दुर्घटनाकै कारण ५५ जनाले ज्यान गुमाएका थिए ।
‘एकले अर्कालाई उछिन्ने, अत्याधिक तीव्र गतिमा सवारी साधन चलाउने गर्दा नै बढी दुर्घटना भएको देखिन्छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी ४४ वटा दुर्घटना तीव्र गतिका कारण भएको छ भने १२ वटा मापसेले गर्दा’, प्रहरी नाब निरीक्षक पाठक भन्छन्, ‘पोखराको हकमा सबैभन्दा बढी हेम्जा, मालेपाटन र पृथ्वी राजमार्गमा दुर्घटना भएको देखिन्छ ।’ नगर बस लापरवाहीका कारण हुने सानातिना दुर्घटनाको तथ्यांक ट्राफिक प्रहरीले राखेकै छैन ।
पोखरामा पोखरा यातायात प्रालि, मामा यातायात प्रालि, बिन्ध्यवासिनी यातायात प्रालि, लेखनाथ यातायात प्रालि, ट्याक्सी व्यवसायीलगायतले नगर बस तथा माइक्रो चलाउँदै आएका छन् । पोखरामा पोखरा यातायात प्रालिमार्फत अहिले ३७८ वटा बस÷माइक्रो सञ्चालित छन् ।
नगर बस, माइक्रो चलाउँदै आएका यातायात व्यवसायी भने चालकका कारण नभई सडक र पार्किङको उचित व्यवस्थापन नहुँदा दुर्घटना बढेको दाबी गर्छन् । सडकमा निजी सवारी साधनको चाप बढेको तर, सडकको अवस्था सुधार नहुँदा दुर्घटनाको जोखिम बढेको पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङ बताउँछन् ।
गुरुङ पोखराको यातायात सुधार्न राज्य गम्भीर नभएको आरोप लगाउँछन् । ‘पोखरामा गाडीहरु धेरै भए, पार्किङहरु छैन । अहिले हामी याातायात व्यवसायीको बाध्यता बाटोमै राखेर गाडी चलाउनुपरेको छ’, उनी भन्छन्, ‘हामीले राज्यलाई वर्षमा चानचुन ८० लाख जति कर तिर्छौं । तर, राज्यले हेरेन । हामी आफैं मर्माहित छौं ।’
गुरुङ पछिल्लो समय पोखरामा नगर बस दुर्घटना बढेको स्वीकार्र्दै आफूहरुले चालक तथा सहचालक सचेतना कार्यक्रम पनि चलाइराखेको सुनाउँछन् । तर, आफूहरुले तयार बनाएका यातायात मजदुर लामो समय नटिक्ने हुँदा समस्या उत्पन्न भएको उनको भनाइ छ ।
‘यातायात मजदुरहरुसँग पनि कति पटक बसियो, नबसेको होइन । एक पटक ल्याएर प्रशिक्षण दियो, ऊ (चालक) गइहाल्छ फेरि अर्को आउँछ’, गुरुङले बाध्यता सुनाए, ‘तर, सबै चालक, सहचालक नराम्रा भने होइनन्, केहीकेहीले गर्दा बदनाम भएको हो ।’
प्रतिक्रिया 4