
७, चैत, चितवन । पूर्वी नवलपरासीको प्रगतिनगरका १४ वर्षका विपिन पाण्डे एकटक लगाएर अर्वपति सांसद विनोद चौधरीको स्केच कोरिरहेका थिए ।
हर्कपुरमा रहेको चौधरी ग्रुपको उन्नती कल्चरल भिलेजको दोस्रो बार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूको चित्रकला प्रर्दशनी प्रतिस्पर्धामा विपिनले चौधरीको चित्र उत्तार्ने चाह राखे ।
उनीसँगै रहेका अन्य साथीहरूले प्रकृतिसँग सम्बन्धित चित्र कोरिरहँदा विपिनलाई भने चौधरीको चित्र बनाउने रहर लाग्यो । उनले चौधरीलाई अहिलेसम्म नजिकबाट देखेका छैनन्, नाम मात्र सुनेका हुन् ।
देवचुली नगरपालिका–१५ प्रगतिनगरको विश्वज्योति माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने विपिनले फोटो हेरेर करिब २ घण्टामा चौधरीको चित्र कोरे । चित्र तयार गरेपछि फोटोसँग दाँज्दै विपिनले भने, ‘मिल्यो त !’ अब यो चित्र सांसद चौधरीलाई भेटेर दिने विपिनको चाहना छ ।
यो विद्यालयले २०७६ सालदेखि आर्ट क्लब चलाएको छ । चित्रकलासम्बन्धी रुचि राख्ने विद्यार्थीको कलामा निखार ल्याउन आर्ट क्लब चलाइएको चित्रकला शिक्षक शान्त राहादी मगरले जानकारी दिए । विपिन विद्यालयमा सबैभन्दा राम्रो चित्र बनाउने विद्यार्थी भएको शिक्षक मगर बताउँछन् ।
चित्र बनाउने मात्रै नभई पढाइमा पनि उनी उत्तिकै चलाख छन् । सानै उमेरदेखि नै चित्र बनाउने सौख रहेका विपिनलाई विद्यालयको आर्ट क्लबले निखार ल्याउन मद्दत गरेको छ । उनले आफ्नो विद्यालयका प्राध्यानाध्यापक, देवचुली नगरपालिकाका प्रमुख, उपप्रमुखको चित्र बनाएका छन् । नगरपालिकाबाट सम्मान स्वरूप १५ हजार रुपैयाँ पुरस्कारसमेत पाए । तर विपिनले अहिलेसम्म चित्र बनाएर भने बेचेका छैनन् ।
पढाइमा समेत राम्रो रहेकाले उनलाई घरमा सबैले हौसला दिन्छन् । विपिनका बुबा टीकाराम पाण्डे वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । आमा सीता र भाइ कपिलसँग बस्दै आएका विपिनले अहिलेसम्म लगभग ३० वटा चित्र बनाएका छन् ।
उनको भाइ कपिलको पनि चित्र बनाउने रूची छ । विपिन भन्छन् ‘म घरमा गएपछि १/२ घण्टा चित्रहरु कोरेर बस्छु, आमाबाबाले पनि प्रोत्साहन गर्नुहुन्छ, भाइलाई पनि सिकाउँछु ।’ उनलाई सन्देशमूलक चित्रहरु कोर्न बढी मन पर्छ । अहिलेसम्म बुवा, आमा र भाइको चित्र उनले बनाएका छैनन् । बाबा नेपाल आएको बेलामा सबै जना बसेर एउटा फोटो खिचेर त्यसलाई चित्रमा उतार्ने विपिनको चाहना छ । उनले विद्यालय तहको अध्ययन सकेपछि ललितकला पढ्ने र व्यावसायिक चित्रकार बन्ने लक्ष्य लिएका छन् ।
विद्यालयको आर्ट क्लबका शिक्षक शान्त राहादी मगरले कक्षा ३ देखि माथिका चित्रकलासँग रुचि भएका विद्यार्थीलाई आर्ट क्लबमा राखेर सिकाइने बताए । क्लबमा अहिले १५० जना विद्यार्थीले तालिम लिइरहेका छन् ।
प्रतिक्रिया 4