
आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको रुपमा रहेको च्याट जीपीटीको सहयोगमा आफूले एक दिनमै एउटा कम्पनी स्थापना गरेको एक युवकले दाबी गरेका छन् ।
उक्त कम्पनीबाट आफूले अहिले लाखौं आम्दानी गरिरहेको पनि उनले खुलासा गरेका छन् ।
आफ्नो बजेट बताउँदै उनले आर्टिफिसियल इन्टेलिजेन्ससँग यतिमात्रै सोधेका थिए कि धेरैभन्दा धेरै पैसा कसरी कमाउने ?
त्यसको जवाफमा एआईले अनलाइन बिजनेसको जुन आइडिया दियो, त्यसले ती व्यक्तिको जिवन नै बदलिदियो ।
ज्याक्सन फल नामका ती व्यक्तिले ट्वीटरमा आफ्नो कहानी शेयर गरेका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले नै आफूले त्यो आश्चर्यजनक उपलब्धि हासिल गरेको उनले बताएका छन् ।
I gave GPT-4 a budget of $100 and told it to make as much money as possible.
I’m acting as its human liaison, buying anything it says to.
Do you think it’ll be able to make smart investments and build an online business?
Follow along 👀 pic.twitter.com/zu4nvgibiK
— Jackson Greathouse Fall (@jacksonfall) March 15, 2023
ज्याक्सनले आफ्नो ट्वीट थ्रेडमा लेखेका छन् कि पछिल्ला दिनमा उनले च्याट जीपीटीको बारेमा निकै धेरै चर्चा सुनेका थिए । त्यसपछि उनले आफ्नो ग्याजेटमा च्याट जीपीटी ४ एआई बट लोड गरे र त्यससँग प्रश्न सोधे ।
उनको प्रश्न थियो- यदि तपाईं एक व्यवसायी हुनुहुन्छ र तपाईंसँग केवल एक सय डलर छ अनि तपाईंको उद्देश्यचाहिं कम समयमै धेरैभन्दा धेरै पैसा कमाउने हो भने कुनै गलत काम नगरिकन यसरी पैसा कमाउने तरिका के हुनसक्छ ?
त्यो प्रश्नको जवाफमा च्याट जीपीटीले अनलाइन बिजनेसको अवधारणा सुझायो र भन्यो कि त्यसबाट आफूले चाहेजति पैसा कमाउन सकिन्छ ।
डेली स्टारको रिपोर्ट अनुसार ज्याक्सन यो देखेर अचम्मित भए । उनले त्यसपछि पनि प्रश्न सोध्दै गए र च्याट जीपीटीले त्यसको जवाफ बताउँदै गयो ।
च्याट जिपिटीले ज्याक्सनलाई सुरुमा एउटा वेबसाइट बनाउन सुझाव दियो । डोमेन नेम, लोगो, वेबसाइटको डिजाइन, आलेखहरू आदि सबै तय गर्नमा पनि सहयोग गर्यो । त्यतिमात्र होइन च्याट जीपीटीले ब्राण्डिङ गर्ने तरिका पनि सिकायो । साथै ग्राहकको मागका आधारमा प्रडक्ट राख्ने सही तरिकाबारेमा पनि सल्लाह दियो ।
च्याट जीपीटीले लगानीका लागि पैसा कसरी जुटाउन सकिन्छ भन्ने बारेमा पनि आइडिया दियो । यसप्रकार ज्याक्सनले च्याट जीपीटीका सबै सन्देशलाई अबलम्बन गरे र एक दिनमै उनको कम्पनी खडा भयो ।
अहिले आफ्नो कम्पनीमा धेरैजना लगानीकर्ता रहेको र कम्पनीको बजार मूल्य २५ हजार डलरभन्दा धेरै रहेको उनको भनाइ छ । जबकि उनको कम्पनी केवल गत मार्च १५ मा मात्रै स्थापना भएको हो । अहिले सो कम्पनीसँग करिब २ हजार डलर नगद मौज्दात छ ।
ज्याक्सनले फेरि कम्पनीलाई अब अझै ठूलो कसरी बनाउन सकिन्छ भनेर प्रश्न सोधेका छन् । एआईको जवाफका आधारमा उनले आगामी कदम उठाउनेछन् । आफ्नो कम्पनीमा लगानीका लागि अहिले धेरै लगानीकर्ताहरुको फोन आइरहेको पनि उनले ट्वीटमा उल्लेख गरेका छन् ।
ज्याक्सन फलको सो ट्वीटमा हालसम्म २ करोडभन्दा धेरै भ्यूज प्राप्त भैसकेको छ भने ९५ हजार लाइक्स र १४ हजार रिट्वीट प्राप्त भैसकेको छ ।
एजेन्सी
प्रतिक्रिया 4