+

नयाँ टिम र नयाँ चुनौतीका साथ प्रतियोगिताका लागि तयार छौं : प्रशिक्षक एनेस

२०७९ चैत  ७ गते १६:३६ २०७९ चैत ७ गते १६:३६
नयाँ टिम र नयाँ चुनौतीका साथ प्रतियोगिताका लागि तयार छौं : प्रशिक्षक एनेस

७ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सात नयाँ खेलाडीको साथमा घरेलु मैदानमा हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्न आफूहरु तयार रहेको बताएका छन् ।
प्रशिक्षक नियुक्तिपछि नेपालका लागि उनको यो पहिलो प्रतियोगिता हो । उनी सिनियर खेलाडीको साथमा नयाँ टिमसँग प्रतियोगिताका लागि तयार रहेको बताउँछन् ।

‘छोटो समयमा प्रतियोगिताका लागि टिम तयार गरेको छु’, प्रधानमन्त्री कपको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा उनले भने, ‘यो सहज थिएन तर यो चुनौतीका साथ हामी खेल्न तयार छौं ।’

उनले नेपालमा कार्यकाल सुरु गरेको १८ दिन भयो । र उनले राष्ट्रिय टिमका खेलाडी जम्मा गरेर प्रशिक्षण दिएको ४ दिन मात्र भयो । चार दिनको प्रशिक्षणपछि नै उनले अन्तिम टोली घोषणा गरेका छन् ।

प्रशिक्षक एनेसले यस पटकको प्रतियोगिताका लागि पूर्णतया फिट र ९० मिनेट खेल्न सक्ने खेलाडी मात्रै छनोट गरेको बताए । ‘अहिलेको टिममा मैले ए डिभिजनका खेलाडीबाट प्रतियोगिताका लागि सहि र पूर्णतया ठिक भएका खेलाडीलाई मात्र छनोट गरेको छु ।’

नेपालमा धेरै क्षमता भए पनि छोटो समयमा आफूले सक्दो सहि खेलाडी छनोट गर्ने प्रयास गरेको प्रशिक्षक एनेसले बताए । उनले भने, ‘नाम कमाएका र मैले चाहेका खेलाडी चोटग्रस्त भएका कारण मैले पूर्ण फिट भएका खेलाडीहरुलाई मौका दिएको हुँ ।’

यसपटकको राष्ट्रिय टिममा विमल घर्तिमगर जस्ता नेपाली स्टार टिममा नपर्दा पत्रकारले प्रश्न उठाएका थिए ।

प्रतियोेगिताको अघिल्लो दिन मात्र टिम घोषणा गरेका उनले खेलाडीहरु अरु प्रतियोगितामा पनि व्यस्त भएका कारण उनीहरुको ध्यान खेलमै मात्र केन्द्रीत होस् भनेर आफूले ढिलो गरी टिम घोषणा गरेको बताए ।

नेपालमा प्रशिक्षक नयाँ भए पनि कप्तान किरणकुमार चेम्जोङ भने निकै अनुभवी खेलाडी हुन् । उनी भन्छन्, ‘हामीसँग धेरै नयाँ खेलाडी छन् । तर अहिले हामी एक परिवार जसरी बसेर देशका लागि खेल्न तयार भएका छौं ।’

उनले छोटो समयमा प्रशिक्षक एनेसको रणनीति बुझ्दै आफूहरु खेलका लागि तयार रहेको बताए । ‘पहिलाका धेरै खेलाडी छैनन् । तर हामी नयाँ खेलाडी र नयाँ प्रशिक्षकका साथमा भोलिको खेलका लागि तयार छौं ।’

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले भोलि दशरथ रंगशालामा लाओससँग पहिलो खेल खेल्दै छ ।

अल्बर्टो एनेस किरणकुमार लिम्बु प्रधानमन्त्री कप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय