
७ चैत, पोखरा । डिजेल र पेट्रोल मिसावट गरी बेच्ने स्याङ्जा बाडखोलाको पेट्रोल पम्प सञ्चालक र कर्मचारीलाई ८ लाख २० हजार रुपैयाँ जरिबाना भएको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका–३ को नेपाल पेट्रोल्युब प्रालिले बिक्री गरेको पेट्रोलमा मिसावट पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जरिवाना र क्षतिपूर्ति तिराएको हो ।
२७ पुसमा ३ बजेपछि पेट्रोल भरेर गएका मोटरसाइकल तथा टेम्पोमा धमाधम स्टार्ट बन्द हुने, इन्जिनमा समस्या देखिएपछि प्रशासनमा उजुरी गरेका छन् । करिब ४० जनाको उजुरीपछि प्रशासनले पेट्रोल पम्प सिल गरी एक सञ्चालक र एक कर्मचारीलाई पक्राउ गरेको थियो । सञ्चालक कृष्णप्रसाद शर्मा र कर्मचारी सुवास क्षेत्रीलाई पक्राउ गरी हिरासतमा राखेर बाँकी ३ जना सञ्चालकविरुद्ध पनि पक्राउ पुजी जारी भएपछि सञ्चालक जनकराज शर्मा, भवगती शर्मा, सम्झना नेपाल शर्माले पनि आत्मसमर्पण गरेका थिए । उनीलाई ३ दिन हिरासतमा राखी २/२ लाख रुपैयाँ धरौतीमा छोडेर र मुद्धा अगाडि बढाइएको थियो ।
घटनालगत्तै नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखरालाई ल्याब टेस्ट गरेर पठाउन भनिएको थियो । निगमले पेट्रोलमा हुनुपर्ने गुणस्तर कायम नभएको रिपोर्ट दिएको थियो ।नियमको रिपोर्टलाई समेत आधारमा मानेर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार झुक्याइ बिक्री वितरण गरेको कसुरमा पेट्रोल पम्प सञ्चालकलाई प्रशासनले दोषी ठहर गरेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए ।
‘चार जना सञ्चालकलाई जनही रु १ लाख ८० हजार र कर्मचारीलाई १ लाख गरी ८ लाख २० हजार जरिवाना गरेका छौं भने अपरात पीडित राहत कोषमा पनि कुल जरिवानाको ४ प्रतिशत उनीहरुले नै गर्नुपर्ने छ’, सिडिओ घिमिरेले भने ।
प्रशासनले सिल गरेको १ हजार ९१० लिटर मिसावटयुक्त इन्धन मंगलबार नष्ट गरेको छ ।
प्रतिक्रिया 4