८ चैत, काठमाडौं । जर्मन फुटबलर मेसुट ओजिलले व्यावसायिक फुटबलबाट सन्यास लिएका छन् । ओजिलले बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।
जर्मनीको राष्ट्रिय टिमबाट २०१८ मै सन्यास लिएका ३४ वर्षीय ओजिलले तत्कालका लागि लागु हुने गरी खेलाडी जीवनबाट सन्यास लिएका हुन् ।
उनले १७ वर्ष व्यावसायिक रुपमा खेल्न पाउँदा आफू खुशी रहेको भन्दै पछिल्लो समय चोटसँग संघर्ष गर्नुपरेको र खेलाडी जीवनबाट टाढिने यो नै सही समय रहेको उल्लेख गरेका छन् ।
उनले आफूले खेलेका क्लबहरु साल्का ०४, वेडर ब्रेमेन, रियल मड्रिड, आर्सनल, फेनरवाचे, बासाकसेहर र प्रशिक्षकहरुलाई धन्यवाद दिएका छन् ।
सन् २००६ मा साल्काबाट व्यावसायिक करियर सुरु गरेका ओजिलले पछिल्लो पटक टर्किस क्लब बासाकसेहरबाट खेलेका थिए ।
उनले जर्मनीका लागि २००९ देखि २०१८ सम्म ९२ खेल खेल्दै २३ गोल गरेका थिए ।
प्रतिक्रिया 4