
८ चैत, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता/कार्यकर्ता पढ्न थालेका छन् । मंगलबारदेखि पार्टीको कार्यालय पेरिसडाँडामा प्रशिक्षणात्मक कक्षा चलिरहेको छ । ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट छनोट गरिएका १५७ जना सहभागी उक्त प्रशिक्षण चैत ११ गतेसम्म चल्नेछ ।
केन्द्रीय स्कुल विभागका संयोजक गिरिराजमणि पोखरेलका अनुसार आलोचनात्मक चेत भएका मान्छे उत्पादन गर्ने र नेता/कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउने पाँचदिने प्रशिक्षणको मुख्य उद्देश्य छ ।
सशस्त्र युद्धका बेला पार्टीले स्कुलिङ र विचारधाराको कामलाई धेरै महत्व दिने गरेको पोखरेल बताउँछन् ।
तर, शान्ति प्रक्रियामा आएपछि पार्टीको स्कुल विभाग प्राय: निष्क्रिय रह्यो । ‘१५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको’ नेता/कार्यकर्तालाई पढाउनुपर्नाको कारणबारे स्कुल विभागका संयोजक पोखरेल भन्छन्, ‘यसबीचमा हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएछ ।’
माओवादीको विचारधारात्मक आन्दोलन कमजोर हुँदा कम्युनिष्ट आन्दोलनमै दक्षिणपन्थी विचारहरुको बोलवाला हुँदै गएको पोखरेललाई लाग्छ । उनी थप्छन्, ‘हामीले विचारधारात्मक कामहरुलाई छोड्यौं । परिणाममा कम्युनिष्ट आन्दोलनमा विसर्जनवादी विचारहरु देखा पर्न थाले ।’
कम्युनिष्ट आन्दोलनलाई पुनः ब्यूँझाउन प्रशिक्षकहरु उत्पादन गर्ने र देशभर खटाउने माओवादी केन्द्रको तयारी छ । ‘विचार रिचार्ज गरिराख्नुपर्छ अनि मात्र मान्छे सशक्त हुन्छ, आफूलाई मजबुत बनाउँछ’ प्रशिक्षणको उद्देश्यबारे थप प्रष्ट्याउन खोज्छन्, ‘हामीले आलोचनात्मक चेत भएको मान्छे बनाउन खोजेका हौं । जनसमुदायसँग गाँसिएको सेवक पनि बनाउन खोजेका हौं ।’
बुधबार पहिलो दिनको कक्षामा अर्थ–राजनीतिक विश्लेषक हरि रोका र आदिवासी जनजाति आन्दोलनका अग्रज परशुराम तामाङले राजनीतिक अर्थशास्त्र र विश्व अर्थ व्यवस्थाबारे नेता/कार्यकर्तालाई प्रशिक्षण दिए ।
केन्द्रीय स्कुल विभागले तय गरेको पाठ्यक्रम अनुसार प्रशिक्षार्थीले २६ वटा कक्षा लिनेछन् । जहाँ दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्तमान विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिष्टहरूको कार्यभारबारे पढाइनेछ ।
वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति, संस्कृति र समाजवाद, उत्पीडित समुदायको सवाल, महिला, जातीयता, समावेशिता, विकास, योजना निर्माण, बजेट र राष्ट्रियताको सवाल लगायत विषयहरूबारे विषयविज्ञहरुले माओवादी नेता/कार्यकर्तालाई पढाउनेछन् ।
बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालित कक्षामा प्रशिक्षार्थीहरुलाई मोबाइल फोन अफ गर्न लगाइएको छ । नेताहरुका अनुसार सिकाइएका र सिकेका विषयको गहिराइमा पुग्न सकियोस् र प्रशिक्षणमा सहभागीहरुको ध्यान अन्यत्र नमोडियोस् भनेर मोबाइल फोन अफ गर्नुपर्ने कडा नियम बनाइएको हो ।
नेताहरुका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले चासो देखाएपछि केन्द्रीय स्कुल विभागले भूगोल, जिल्ला, विशेष कमिटी र जनवर्गीय संगठनका छानिएका प्रतिनिधिहरूलाई पार्टी नेता र विषयविज्ञहरूले पढाउने गरी योजना तय गरेको हो । यस योजना अनुसार जिल्ला अब तहमा समेत प्रशिक्षणहरु हुनेछन् । त्यसका लागि प्रशिक्षक उत्पादन गर्न यो प्रशिक्षण भइरहेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि विचार महत्वपूर्ण शक्ति भएको बताउँछन् । मंगलबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भनेका छन्, ‘तथ्य, सच्चाइ र तर्कको बलमा जसले व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ ।’ विचारधारात्मक स्पष्टताले जनताको मुक्ति र परिवर्तनको पक्षमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार पौडेल पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरुबारे जनता र कार्यकर्ताहरुमा एकरुपताका साथ लैजान प्रशिक्षण फलदायी हुने विश्वास गर्छन् ।
‘विचार विनाको आन्दोलन बन्दैन । पार्टी बन्दैन । विचार विना समाजलाई गाइड गर्न सकिंदैन’ उनी भन्छन्, जब कार्यकर्ता वैचारिक रुपमा भुत्ते हुन्छन् त्यो कार्यकर्ताले समाज र देशको नेतृत्व गर्न सक्दैन । पार्टीको नेतृत्व गर्न सक्दैन ।’
नेता र कार्यकर्तालाई वैचारिक रुपमा निरन्तर अध्ययन गराउने, स्कुलिङहरु चलाउने र प्रशिक्षित गरिराख्ने योजना तय भएको र त्यस अनुसार पार्टी प्रशिक्षणात्मक कार्यक्रमहरुका केन्द्रित भएको उनी बताउँछन् ।
माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य विदुर खड्का युवाहरुले नेतृत्व तहसम्म पुग्नका लागि अध्ययन, अनुसन्धान र वैचारिक कामहरुमा पनि ध्यान दिनुपर्ने बताउँछन् । यसका लागि वैचारिक प्रशिक्षणहरु महत्वपूर्ण अवसर हुने उनको विश्वास छ ।
प्रतिक्रिया 4