
९ चैत, धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु नेतृत्व चयनका लागि बुधबार मतादान भए पनि मतगणना भने अनिश्चित बनेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिकसमेत रहेको कैलाली बहुमुखी क्याम्पसमा बुधबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।
तर बिहीबार बिहानसम्म समेत मतगणना हुन सकेको छैन । मतगणना कुन ठाउँमा गर्ने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच सहमति हुन नसक्दा गणनामा ढिलाइ भइरहेको हो ।
एमाले सम्बद्ध अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), स्वतन्त्र विद्यार्थी समूहलगायतका संगठनले प्रदेश स्वास्थ्य तालिम केन्द्र वा कैलाली उद्योग वाणिज्य संघमा मतगणना गर्नुपर्ने माग गरेका थिए ।
कांग्रेस सम्बद्ध नेविसंघले क्याम्पसमै गणना हुनुपर्ने माग गरेपछि सहमति हुन नसकेको हो । स्ववियु निर्वाचन समितिका प्रमुख अम्बिकेश्वरप्रसाद जोशीले मतगाणनाका सम्बन्धमा छलफल गर्न विद्यार्थी संगठनसहितको बैठक बोलाइएको जानकारी दिए । बैठक बसेपछि मतगणना स्थल र समय निर्धारण गरिने उनको भनाइ छ ।
चार हजार तीन सय ३३ जना मतदाता रहेको कैलाली बहुमुखी क्याम्पसमा दुई हजार तीन सय ६८ मत खसेको थियो । यहाँ एमाले सम्बद्ध अनेरास्ववियु र नेकपा-एकीकृत समाजवादी) पार्टी सम्बद्ध अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ भने नेविसंघ, अखिल (क्रान्तिकारी) लगायतका संगठनले एकल रुपमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया 4