
१० चैत, काठमाडौं । नेपालमा गर्भावस्था र सुत्केरी हुँदाको समयमा हुने आमाको मृत्युमा सुधार देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक पूर्ण विवरणमा नेपालमा प्रति एक लाख जीवित जन्ममा १५१ जना आमाको मृत्यु भएको देखाएको छ । यसअघि सन् २००६ मा नेपालमा मातृ मृत्यु प्रति एक लाख जीवित जन्ममा २८१ जना थियो ।
सन् २०२२ सम्ममा मातृ मृत्यु अनुपातलाई घटाएर प्रति एक लाख जीवित जन्ममा ११६ मा झार्ने सरकारको लक्ष्य थियो । त्यस्तै सन् २०२५ सम्ममा ९९ र सन् २०३० सम्ममा ७० मा झार्ने सरकारको लक्ष्य छ ।
जनगणनाको विवरण अनुसार लुम्बिनी र कर्णाली प्रदेशमा मातृ मृत्यु उच्च रहेको पाइएको छ । लुम्बिनीमा प्रति एक लाख जीवित जन्ममा २०७ र कर्णालीमा १७२ जना आमाको मृत्यु भएको छ । सबैभन्दा न्यून मातृ मृत्यु बागमतीमा रहेको पाइएको छ । जहाँ प्रति एक लाख जीवित जन्ममा ९८ जना आमाको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।
त्यस्तै प्रति एक लाख जीवित जन्ममा गण्डकीमा १६६, कोशी प्रदेशमा १५७, मधेशमा १४० र सुदूरपश्चिममा १३० जना आमाको मृत्यु भएको तथ्यांक छ ।
प्रजनन् उमेर समूह (१५–४९ वर्ष) मा मृत्यु भएका कुल १२ हजार ९७६ महिलामध्ये ६५३ जना अर्थात ५ प्रतिशत महिलाको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको तथ्यांक छ ।
गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्युमध्ये ६२२ जना अर्थात ९५ प्रतिशत मातृ मृत्यु रहेको छ । ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रस्रव अवस्थामा र ६१ प्रतिशतको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ ।
मातृ मृत्युको झण्डै आधा (४७ प्रतिशत) महिलाहरुको मृत्यु लुम्बिनी र मधेश प्रदेशमा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरु मध्ये १० प्रतिशत महिलाहरुको मृत्यु किशोरावस्था (१५–१९ वर्ष) मा भएको छ । अधिकांश (५७ प्रतिशत) महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ ।
मातृ मृत्यु भएका ६११ महिलामध्ये ३७ जनाले गर्भपत गराएको वा तिनको गर्भ खेर गएको पाइएको छ ।
दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरुको संयुक्त प्रयासमा मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसुति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरु पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्यु सम्बन्धी अध्ययन गरेको हो ।
गणकहरुले प्रत्येक घरमा गई विगत १२ महिनामा घरपरिवारमा भएका जीवित जन्म र प्रजनन उमेर समूहका महिलाको मृत्युको तथ्यांक संकलन गरेको थियो ।
प्रतिक्रिया 4