+

के तपाईंलाई भिटामिन जरूरी छ ?

२०७९ चैत  ११ गते ६:२५ २०७९ चैत ११ गते ६:२५

आफ्नो कमाइ रंगीन झोलहरूमा खर्च गर्नुको कुनै औचित्य छैन । औषधि पसलमा गएर रंगीन झोल किन्नुभन्दा अगाडि डाक्टरलाई सोध्नुस्- ‘के साँच्चै मलाई भिटामिन जरूरी छ ?’

के तपाईंलाई भिटामिन जरूरी छ ?

सुत्केरीलाई ज्वानोको झोल खुवाउँदा दूध पर्याप्त मात्रामा आउँथ्यो । क्याल्सियम पनि हुन्थ्यो । अहिले ज्वानो भन्दा नाक खुम्च्याइन्छ तर महँगा क्याल्सियमका चक्की भने मज्जासँग ख्वाइन्छ । त्यसैगरी बढी भिटामिन ख्वाउनुपर्छ भनेर मानिसहरू जताततै भिटामिनको खोजीमा छन् ।

हातमा ठूला राम्रा सिसी ल्याएर घरपरिवारका बालबालिका वा बिरामीबाट भर्खर तंगि्रन लागेका व्यक्तिलाई टनिक ख्वाउने प्रचलन अहिले गाउँ-शहर सबै ठाउँमा बढ्दो छ ।

‘डाक्टर साहेब, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक लेखिदिनुस् न’ यस्तो वाक्य अस्पताल, हेल्थपोष्ट र क्लिनिकमा काम गर्ने डाक्टर वा स्वास्थ्य कार्यकर्ताले प्रायः सुन्नुपर्छ ।

कतिचोटि ग्राहक आफैं औषधि पसलमा गएर भन्छन्, ‘मलाई कमजोरी भएको छ कुनै तागतको झोल दिनुस् न ।’ औषधि पसलेले ‘कुनै रङ्गीन सिसीको झोल’ निकालेर दिन्छ र ग्राहक खुसी हुँदै ‘तागतको सिसी’ लिएर र्फकन्छ ।

विशेषगरी गाउँघरतिर महिलाहरू ढाड दुख्नेदेखि लिएर मुटु पोल्नेसम्म जुनसुकै प्रकारको शारीरिक अस्वस्थतामा पनि भिटामिन प्रयोग गर्छन् । शहरका महिलाहरूले पनि आफैं ‘दुब्लो भएँ, मोटाउने भिटामिन दिनुस् न’ भनेपछि औषधि पसलबाट पाउँछन् । गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दा कतिचोटि महिलाहरू खास कुनै समस्या नभए पनि कमजोरी भयो भनेर आउँछन् । र, भिटामिनको माग गर्छन् ।

भिटामिन नदिंदा ‘कस्तो डाक्टर होला, केही रोगै छैन भनेर भिटामिन दिएन’ भनेर गुनासो गरेको पनि सुनिन्छ । त्यसैगरी बच्चाले भात खाएन भनेर बजारको औषधि ख्वाए भात र रोटीले पाउने पोषण पुग्छ भन्ने ठान्छन् ।

भिटामिन मानव शरीरको लागि एकदमै नभई नहुने तत्व हो । यो शब्दको उत्पत्ति नै ल्याटिनको भाइटल -अत्यन्त आवश्यक) शब्दबाट भएको हो । भिटामिन मानव शरीरलाई अत्यन्त कम मात्रामा चाहिन्छ भन्ने त सबैलाई थाहा छ, तर यो हामीले दिनदिनै खाने भोजनबाट नै प्राप्त हुन्छ र यसको बढी प्रयोग गरेर ज्यादा फाइदा हुँदैन भन्ने कुराचाहिं कमैलाई थाहा हुन्छ तथा तिनको पूर्तिको लागि हेर्दा आकर्षक देखिने तर महँगा र अनावश्यक झोलहरूले हुन सक्दैन भन्ने तथ्यतर्फ कमैको ध्यान गइरहेको छ ।

धेरैलाई थाहा छैन कि बच्चालाई भिटामिन झोल र टनिक भन्दा भान्सामा भएको भोजन सबैभन्दा उपयुक्त हुन्छ । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्र्याट्सको भनाइमा ‘भोजन नै औषधि हो ।’ विभिन्न विज्ञापनको भरमा औषधि किनेर खाने प्रचलन र घरको खानेकुराले मात्रै हाम्रो शरीर कमजोर हुन्छ भन्ने गलत मानसिकताले नै मानिसहरू बढी औषधि किनेर खान्छन् ।

हाम्रा करेसाबारीमा फलेका हरिया तरकारी, बजारमा पाइने मौसम अनुसारका फलफूल आदिलाई बेवास्ता गरेर हामी धेरैजसो स्वास्थ्य राम्रो पार्नको लागि बजारका ‘टनिक’ किनेर खान्छौं ।

‘भिटामिनको प्रयोग गर्दा चक्कीभन्दा रंगीन झोल वा टनिकहरू बढी फाइदाजनक र झोलभन्दा बढी भिटामिन सुई फाइदाजनक हुन्छन् ।’ यो गलत धारणाले गाउँघरमा प्रत्येक रोगको लागि इन्जेक्सनबाट भिटामिन लिने प्रचलन पनि धेरै मात्रामा छ । अनेकौं भ्रम र अज्ञानले गाउँघरमा पनि सस्ता पोषक खानेकुराहरू छोडेर महँगो झोल तथा सुईका पछाडि दौडिने चलन छ । यस्तो चलन बढ्नुको एउटा कारण रेडियो, पत्रपत्रिका र टिभी जस्ता सञ्चारमाध्यमहरूमा धेरै खानेकुरा जस्तै- हर्लिक्स, बुष्ट, बोर्न भिटाको प्रचारप्रसार अत्यधिक हुनु पनि हो ।

भिटामिन ‘ए’ को कमिले हुने रतन्धो रोगको लागि ‘भिटामिन ए’ को क्याप्सुल सरकारले बाँड्छ । तर सरकारले तपाईंको आफ्नै बारीमा फलेको फल मेवा वा अम्बा खाऊ भन्दैन ।

घर वरिपरि पर्याप्त मात्रामा अमला पाइने गाउँमा ‘भिटामिन सी’को चक्की महँगोमा बेचिन्छ । सस्तोमा पाइने अमलाहरू भिटामिन सीको भन्दा सस्तो भएकोले पनि बेवास्ता गरिन्छ ।

आफ्नो कमाइ रंगीन झोलहरूमा खर्च गर्नुको कुनै औचित्य छैन । औषधि पसलमा गएर रंगीन झोल किन्नुभन्दा अगाडि डाक्टरलाई सोध्नुस्, ‘के साँच्चै मलाई भिटामिन जरूरी छ ?’

भोक लगाउने टनिक खानु वा परिवारका सदस्यहरूलाई खुवाउनुभन्दा अघि सोच्नुस्, ‘के यो वास्तवमा तपाईंलाई चाहिन्छ ? के यसका सम्पूर्ण कुप्रभावहरूबारे तपाईंलाई जानकारी दिइएको छ ? कतै विकसित देशमा कुप्रभाव पर्छ भनेर भनिएका कुराहरू तपाईंबाट लुकाइएका त छैनन् ?’

यदि तपाईंले सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरू पाउन सकिन्छ भनेर बुझ्नुभयो भने वास्तवमा भिटामिन झोल र टनिकको जरुरत नै पर्दैन । त्यसैगरी धेरै मानिस भोजनपछि ‘पाचन गराउने रस’ किनेर खान्छन् । तर घरमै भएका ज्वानो, हिङ जस्ता औषधीय गुण भएका खानेकुराले पनि पाचन प्रक्रियालाई सहज बनाउँछ भनेर हामीले थाहा पाउनुपर्छ ।

खाना पचाउने भनेर थरीथरीका सिसीको झोल किनेर ल्याउनेहरूले मेवामा भोजन पचाउन चाहिने सबै पाचन रसहरू हुन्छन् भनेर थाहा पाउनुपर्छ । मेवालाई विभिन्न ठाउँमा विभिन्न तरिकाले प्रयोग गरिन्छ । मेवालाई कतिपयले पाकेपछि जुस बनाएर खान्छन् भने कतै काँचो मेवालाई तरकारी वा अचार बनाएर खाइन्छ । जसरी खाए पनि यसले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउने मात्र होइन कि शरीरमा रहेको कब्जियत, खाना नपच्ने जस्ता समस्या न्यूनीकरण गर्न सहयोग पुग्छ ।

मेवामा भिटामिन ‘सी’ को मात्रा प्रचुर रहेको हुन्छ । आधुनिक पाचन रसबारे जानिफकार मानिने प्रोफेसर म्याकस वोल्फले क्यानेडियन सिपाहीहरूमा एउटा अनुसन्धान गरेका थिए । पर्याप्त मात्रामा पाचन रस भएका फलफूलहरू खान दिइएका सिपाहीहरूको स्वास्थ्यमा सुधार भएको उनले पाए ।

साथै, धेरै रुघाखोकी लागिरहने मध्ये दुई तिहाइलाई त लामो समयसम्म रुघाखोकी नै लागेन । एक तिहाइ सिपाहीहरूलाई रुघाखोकी त लाग्यो तर सामान्य । उनले आफ्ना विभिन्न अनुसन्धानबाट यो निष्कर्ष निकाले कि शरीरमा पर्याप्त मात्रामा पाचन रस हुने हो भने व्यक्तिहरूको शरीरमा कीटाणुहरूले आक्रमण गरेर रोग लाग्ने संभावना कम हुन्छ । पाचन रस प्राप्त गर्न टाढा जानै पर्दैन । मेवामा रहेका पर्याप्त तत्वहरू नै खानेकुरा पचाउन पर्याप्त छन् ।

आधुनिक जमानामा एन्टिबायोटिकको अत्यधिक प्रयोग, विभिन्न थरीका औषधि र परिवार नियोजनका चक्की आदिको प्रयोगले पनि फङ्गस समस्या बढ्ने हुन्छ । विशेषगरी आन्द्रामा रहेका फङ्गसहरूले त्यहाँ रहेका लाभदायक कीटाणुहरूलाई नष्ट गर्न सक्छन् । यस्तो अवस्थामा हामीले खाएको खानाको पाचन राम्रोसँग हुन सक्दैन । यसले शरीर कमजोर हुँदै जान्छ र झन् बढी फङ्गस बढ्न जान्छ । यसरी हुने फङ्गसको संक्रमणले टाउको दुख्ने, मानसिक रोग, मुटु पोल्ने, पेट फुल्ने र दुख्ने जस्ता विभिन्न किसिमका शारीरिक र मानसिक समस्या देखा पर्छन् ।

हाम्रो शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउन आन्द्रामा रहेका विभिन्न लाभदायक कीटाणुहरूको भूमिका हुन्छ । केही भिटामिनहरू (भिटामिन के, भिटामिन बी समूह) लाभदायक कीटाणुहरूको उपस्थितिमा मात्र शोषण हुन्छ । त्यसको लागि हाम्रै भोजनको बडो ठूलो भूमिका हुन्छ । विभिन्न किसिमका फलफूल, टुसा उमारेका गेडागुडी, तरकारी आदिले आन्द्रामा रहेका लाभदायक कीटाणुहरू बढाउँदै र शरीरबाट निस्कने विषहरूलाई कम गर्न भूमिका खेल्छन् । फलफूलको प्रयोगले शारीरिक रूपमा फाइदा त हुन्छ नै औषधि किन्नुपर्ने पैसा बचेर आर्थिक लाभ पनि हुन्छ ।

तर प्रायः मानिस फलफूल खान छोडेर औषधि पसलमा गएर पचाउने औषधि, विभिन्न भिटामिन र शक्ति दिने, सुत्केरी महिलालाई दूध बढाउने, बालबालिकालाई भोक लगाउने झोल रंगीचंगी बट्टामा किनेर ल्याउँछन् । ‘नजिकको तीर्थ हेला’ भनेझैं आफूसँग भएको बहुमूल्य वस्तुलाई हेला गरेर महँगा झोलहरू किन किन्ने ?

भिटामिन
लेखक
डा. अरुणा उप्रेती
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?