
कोही, किन कसैलाई सम्झन्छ ? कोही, किन सधैं स्मरणीय भएर कसैको मथिङ्गल हल्लाइरहन्छ ? यसको जवाफ यसै हो भन्न त नसकिएला । तर, कसैलाई अकारण सम्झिइन्छ भने त्यो सम्बन्ध विशेष हुन्छ ।
भर्खरै मार्च २१ मा अन्तर्राष्ट्रिय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइएको छ । यो दिन मैले विशेषतः लालबहादुर मुसहर मेरा प्रिय दाइलाइ सम्झिएँ । उहाँसंग बिताएका धेरै किस्सा छन् म संग । मेरो बाल्यकालको समय वरिपरी लालबहादुर दाइ घुमिरहनुभयो । त्यही समयलाई यहाँ सम्झिने कोशिस गर्दैछु ।
मोरङको सुन्दरहरैंचा नगरपालिका– ५ र ६ को सिरानमा डिपु भन्ने गाउँ छ । यो गाउँ पूर्वपश्चिम राजमार्गबाट ८/९ किलोमिटर उत्तरमा पर्छ । वडा नं ५, जहाँ अहिले लालबहादुर दाइको घर छ, ऐलानी जग्गामा ।
उहाँको तीन पुस्ता त्यही समय बिताइरहेको छ । आज भन्दा २५/२६ वर्ष अगाडिको कुरा हो, जतिबेला लालबहादुर दाइ हाम्रो घरमा बस्नुहुन्थ्यो । हलीको रुपमा ।
माथ्लो घरमा भोला मुसहर अनि अल्लि माथ्लो घरमा कलाचन मुसहर, तिलका मुसहर उसरी नै हलिकै रुपमा बस्थे । त्यसबेला सबैका घरमा हली बस्नेहरु मुसहर समुदायबाटै हुन्थे । हरदिन लगभग २/३ किलोमिटर बिहान हिँडेर प्रत्येक घरमा यसरी नै दाइहरु काम गर्न आइपुग्थे । बेलुका काम सकेर आफ्नै घर फर्कन्थे ।
उबेला, दिनको ३५ रुपैयाँ ज्याला पाउथें । उहाँहरुका श्रीमती अर्थात भाउजुहरु पनि आफ्नो घरको काम सकेर श्रीमान जुन घरमा काम गर्थे सोही घरमा काम गर्न आउथे । लालबहादुर दाइकी भाउजु पनि हाम्रोमा आउने गर्नुहुन्थ्यो ।
दाइ, हामीसंग रिसाएको मलाइ थाह छैन । कहिलेकाहीँ खेत जोत्दै गर्दा रिसाएर गोरु असाध्यै पिट्नुुन्थ्यो । दाइलाइ मानिस र मालिकसंग रिसाउने छुट रहेनछ त्योबेला र पशुसंग रिसाउनुहुदोरहेछ । म बल्ल यो कुरा बुझ्ने भएँ ।
स–साना केटाककेटीलाई खुब माया गर्नुहुन्थ्यो लालबहादुर दाइ । सुपारीका सुरिला रुखमा चढेर सुपारी टिपिदिनुपर्यो भने उहाँ नै हुनुहुन्थ्यो । हामी खेतमा गहुँ र धानका बाला शिला खोज्थ्यौ, सघाउन उहाँ नै आउनुहुन्थ्यो ।
हरेक वर्ष वैशाखमा धाम बजार (सिरुवा मेला) जादा खुसुख्क हातमा ५ रुपयाँ राखिदिनुहुन्थ्यो । त्यसबेला शनिबार दिउँसो नेपाल टेलिभिजनमा हिन्दी फिल्म आउँथ्यो । दाइलाई खुब मन पथ्र्यो हिन्दी फिल्म । दिउँसो १२ बजे एक बेला काम सकेर खाना खान आउँदा बरण्डामा बसेर खाना खादैं फिल्म हेर्नुहुन्थ्यो ।
शनिबार बाहेक अरु दिनपनि अन्य च्यानलबाट आउने कार्यक्रम हेर्नुहुन्थ्यो । हाम्रो घरमा लालबहादुर दाइ र कान्छी भाउजुलाई घरभित्र प्रवेश गर्ने अनुमति थिएन । उहाँले खाने भाडाकुडा फरक हुन्थे । भाडा आफैं सफा गर्नुपथ्र्यो र बरण्डामा घोप्ट्याउनुहुन्थ्यो ।
केही चिज माग्नुपर्यो भने बरण्डाबाटै माग्नुहुन्थ्यो । अहिले सम्झदा मन असाध्यै अमिलो भएर आउँछ । उहाँमाथि भएको विभेदको हिस्सामा कहीँ कतै जानेर नजानेर म पनि सामेल भएँ । मलाई माफ गर्नुहोस् लालबहादुर दाइ ।
२०४६ सालमा २१ वर्षे वन विकास तथा संरक्षण सम्बन्धी गुरु योजना बन्यो र २०४९ सालमा वन ऐन लागु भयो । त्यस पश्चात, वन संरक्षणसम्बन्धी कार्यक्रमहरु दु्रत गतिमा हुन थालेका थिए । एक दिन बनजाँचेले लालबहादुर दाइलाई के भएर हो समात्यो ।
भोलिपल्ट उहाँकी कान्छी दिनी सावित्री हामो घरको बरण्डाको भुइँमा बसेर मेरी हजुरआमासंग हात जोडेर मालिकिन् मेरो भाइलाइ निकालिदिनुहोस्…….जे जति खर्च, लाग्छ हामि काम गरेर तिर्छौ । भन्दै खुब रुनुभो । लालबहादुर दाइलाई देख्न नपाइने भयो । हाम्रो घरमा अब नआउने हुनुभयो, भनेर म खुब रोएँ ।
मेरो परिवारबाट भएको चरम विभेदको क्षतिपूर्ति म तिर्न त कसैगरी सक्दिन । तर क्षमायाचना गर्दछु ।
मलाई सम्झना छ । वि.स. २०४९/५० सालतिरको कुरा हो । तपाईं, कान्छी भाउजु र ठूली छोरी केही समयको लागि हाम्रो घरको छेउमा सानो घर बनाएर सर्नुभएको थियो । छोरी सानी थिइन् ३/४ महिनाकी । धोतीको झोलुङ्गोमा सुताउनुहुन्थ्यो । म कहिलेकाहीँ आएर उनलाई हल्लाउथेँ अनि कान्छी भाउजुले पकाएको कालो दाल र मसिना आलुको भुजिया र भात लुकेर खान्थे ।
लालबहादुर दाइको घरमा गएर खाना खाएको कसैले देख्यो कि भनेर म खुब डराउथें । किनकी तपाईंको घरमा गएर खान मलाई निषेध थियो ।
आफू जन्मेको देशमा कोही किन पुस्तौ पुस्तासम्म आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक रुपमा यसरी पछाडि पारिन्छ ? देशभित्र र देश बाहिर बर्षौं परिश्रम गर्दा पनि पुस्तौं पुस्ताले एक चप्परी माटोसमेत आफ्नो नाममा उपभोग गर्न किन पाउदैन ? मेरा घरका सबैले पढ्न पायौं । सबैले भने जस्तो सरकारी तथा अन्य विभिन्न क्षेत्रमा जागिर/पेशा व्यवसाय गर्न सक्ने भयौं ।
हाम्रा घरका सन्तानहरु विदेश गएर पढ्न सक्ने भए । तर लालबहादुर दाइकी छोरीले ५ कक्षा पढेर १५ वर्षको उमेरमा विवाह गर्नुपर्ने अवस्था कसरी भयो ? छोराले ७ कक्षा सम्मको अध्ययन रोकेर ट्याक्टरमा लेबरको काम गर्नुपर्ने स्थिति कसरी भयो ? लालबहादुर दाइ र हाम्रो घर एउटा प्रतिनिधि हुन् । संरचनाको पिंधमा पिसिन बाध्य पारिएका अन्य धेरै दलित समुदायले यो संरचनालाई बहिस्करणको चित्कार सुनाइरहेका छन् । सुन्छ ? कस्ले सुन्छ ? उनीहरुको पनि राज्य हुनुको प्रत्याभूति पाउने हक उस्तै हैन र !
लालबहादुर दाइ केही समयको लागि वैदेशिक रोजगारीबाट छुट्टिमा घर आउनुभएको छ । सन् २००८ देखि २००९ सम्म कतारमा बसेर फर्कनुभयो । पुनः २०१३ मा साउदी अरेबिया जानुभयो । यो दश वर्षको समयमा उहाँ नेपाल आउदै जाँदै गर्नुभयो । मासिक १६ हजारदेखि वैदेशिक रोजगारीमा काम गर्न थाल्नुभयो ।
हाल भने मासिक २४ हजार कमाउन कमाउन थाल्नुभएको छ । यो उर्जाशील समय साउदी अरेबियाको माछा कम्पनीमा खर्चनु भयो । बदलामा परिवारको दैनिक आवश्यकता पूरा गर्नुभयो । अनि, अलिअलि बचाएर लालबहादुर दाइले आफ्नो ऐलानी जग्गामा भएको घरलाई पिल्लर र चरको आकार दिन सक्नुभयो । घरको वरिपरी भने अझै बाँसको टाटीले बेरेको छ । अब दाइलाई पैसा कमाएर इटा लाएर घरको पूर्ण आकार बनाउने रहर छ ।
स्वदेशमा रहदा लालबहादुर दाइ र उनकी श्रीमतीले प्रत्येक दिन काम गरे । अरुको घरमा हली बसे, ज्याला मज्दुरी गरे । जंगलबाट दाउरा शहर लगेर बेचें । यति गर्दा पनि, घरको दैनिक आवश्यकता, छोराछोरीको लालनपालन, दुःख बिराम टार्न कठिन भयो । यो कठिन अवस्थालाई सुधार ल्याउन सकिन्छ कि भनेर विदेशिए ।
एक दशक आफ्नो श्रम बेचें । तैपनि लालबहादुर दाइको जीवनमा आर्थिक परिववर्तन आएन । न त समाजले गर्ने व्यवहारमा नै परिवर्तन आयो । छोराछोरीको शैक्षिक उन्नयनमा पनि साक्षरता भन्दा केही हुन सकेन । न त छोराछोरीको उज्वल भविष्यको संभावनाले लालबहादुर दाइ ढुक्क हुन सके ।
आफ्नै जीवनकालमा तीनवटा राजनीतिक परिवर्तन देखेका लालबहादुर दाइ को जीवनमा कुन व्यवस्थाले के फरक पार्यो र ? बलेसीकै नेताको नाम जान्न पनि जरुरी ठान्दैनन् उनी । सबै व्यवस्थाप्रति वितृष्णा छ उनलाई । के यो प्रश्नको भार हाम्रो पनि हैन ? हाम्रो संरचना, प्रणाली र हामी कुन कित्त मा छौ ? अब उत्तरको उत्खनन् गर्न थालौं ।
प्रतिक्रिया 4