+
+

सुदूरपश्चिममा विपश्यना केन्द्र किन ?

दीपकराज जोशी दीपकराज जोशी
२०७९ चैत ११ गते १९:४४
विपश्यना नेपाल ।

सम्पन्न अमेरिकीदेखि विपन्न नेपालीसम्मका लागि आनन्द र खुशी एउटा साझा लक्ष्य हो । आर्थिक सूचकांकामा गरिब भए पनि नेपाल कतिपय हिसाबले सम्पन्न छ ।

यहाँको भूमिमा कुनै बेला ऋषिमुनि, अरहन्त, बुद्धले ध्यान गरेका थिए । शान्ति र आनन्द आफूले आर्जन गरेका छन् र अरुलाई सिकाएका छन् । विपश्यना एउटा त्यस्तै पुरानो ध्यान विधि हो, जसको अभ्यासबाट मनलाई वास्तविक शान्ति, खुशी र प्रेम प्राप्त हुन्छ, चेतनाको गहिराइबाटै ।

विपश्यनाको अभिप्राय जुन वस्तु जस्तो छ त्यसलाई तटस्थ रहेर त्यही रुपमा जान्नु, बुझ्नु हो । विपश्यना ध्यान विधि गौतम बुद्ध स्वयंले अभ्यास गरेपछि अरुलाई पनि सिकाउनुभयो । गौतम बुद्धभन्दा पहिलादेखि नै यो विद्या अस्तित्वमा रहेको कतिपय पुराना धर्मग्रन्धहरुबाट थाहा हुन्छ । पाली भाषाको ‘पश्यना’ भन्ने शब्दबाट विपश्यना आएको हो । पश्यनाको अर्थ ‘हेर्नु’ अर्थात् बाह्य आँखाले हेर्नु हो । यसमा ‘वि’ थप्नु भनेको आफ्नो शरीरलाई विशेष किसिमले हेर्नु भन्ने हो ।

विशेष किसिमले हेर्नु भन्नाले आँखाले जे देखिन्छ त्यो हेर्नु भनेको होइन । शरीर र मनमा हुने दुःखद वेदना तथा सुखद वेदना, एउटै शब्दमा भन्दा समवेदनालाई हेर्नु भनिएको हो । अर्थात् विपश्यनाको मतलब समवेदनालाई अनुभवको स्तरबाट तटस्थ भावले मनको आँखाबाट हेर्नु हो ।

दीपकराज जोशी

यो गौरवको विषय हो नेपाल बुद्धको जन्मभूमि हो । तर समयको प्रवाहसँगै नेपालबाट विपश्यना लोप भयो । बर्मा, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, लाओससहित विश्वका अन्य देशहरुमा पुग्यो । तर बुद्ध महापरिनिर्वाणको करिब ५०० वर्षपछि यो कल्याणकारी विद्या ती देशहरुमा पनि शुद्ध स्वरुपमा रहेन, लोप भयो ।

म्यानमार (बर्मा) मा केही भिक्षु एवं आचार्यहरुको सानो समूहले मात्र गुरु—शिष्य परम्परामा विपश्यनालाई जोगाइ राखे । त्यही विपश्यना अहिले नेपाल, भारत, अमेरिकासहित विश्वका १६० (अस्थायी केन्द्र पनि गणना गर्दा) देशमा पुगेको छ । जसलाई भारतीय मूलका बर्मेली उद्योगपति सत्यनारायण गोयन्काले सन् २०१३ मा निधन हुनुअघि फैलाउनुभएको हो ।

गुरु—शिष्य परम्परामा पुस्तान्तरण हुँदै आएको यो ध्यान विधि कुनै बेलाका प्रभावशाली विपश्यना आचार्य सियाजी ऊ बा खिनबाट गोयन्काले सिक्नुभएको थियो ।

आचार्य ऊ बा खिनको सानिध्यमा १४ वर्ष साधना सिकेपछि सन् १९६९ मा गोयन्का पुर्खाको मुलुक भारत फर्किनुभयो । व्यापारको जिम्मेवारी छोराहरुलाई सुम्पिनुभयो । अनि बुद्ध विद्या बाँड्न श्रीमती इलाइचीदेवीका साथ भारत, नेपाल, युरोप, अमेरिका यात्रामा निस्किनुभयो ।

नेपालमा कसरी आयो ?

नेपालमा सबैभन्दा पहिला सन् १९८१ मा काठमाडौंमा विश्व विपश्यना आचार्य सत्यनारायण गोयन्काले ध्यान शिविर सञ्चालन गर्नुभयो । गोयन्का बुद्ध विद्या लिएर काठमाडौं उत्रिँदा बुद्ध जन्मस्थल नेपालमा विपश्यना पहिलै हराइसकेको थियो ।

स्वयम्भुस्थित आनन्दकुटी बिहारमा सञ्चालन गरिएको त्यो पहिलो शिविरमा २५० जना सहभागी भए । मणिहर्ष ज्योति र युदुकुमार सिद्धिसहित सोही शिविरिबाट लाभान्वित पुराना साधकहरुको अगुवाइमा सन् १९८४ मा बुढानीलकण्ठमा नेपाल विपश्यना केन्द्र संस्थागत रुपमा स्थापना भयो ।

त्यसयता नेपालमा निरन्तर विपश्यना शिविर सञ्चालन हुँदै आएका छन् । यसबाट लाभान्वित साधकहरुको प्रयासमा सुदूरपश्चिम, तराई र हिमाली भेगमा केन्द्रहरु स्थापना भइरहेका छन् । नेपालमा विपश्यनाका १० दिनेसहित ६० दिनेसम्मका शिविर सञ्चालन हुने गर्छन् ।

सुदूरपश्चिमको प्रसङ्ग

विभिन्न पेशा व्यवसायमा संलग्न रहेर विपश्यनाबाट लाभान्वित हुने समुदाय नेपालमा ठूलो छ । त्यसमध्ये भरपुर लाभ लिइरहेको एक जना म पनि हुँ । काठमाडौं उपत्यकामा अहिले ३ वटा ध्यान केन्द्र छन् ।

आसपासका बासिन्दालाई साधनाबाट लाभान्वित हुन सहज छ । यो ध्यान विधिको लाभले सिर्जना गरेको आकर्षणका कारण साधना अभ्यास गरिरहेकाहरुले जग्गा, सम्पत्ति दान गरेर केन्द्रहरु स्थापना भएका उदाहरण नेपाल, भारत, अमेरिकासहित अरु देशमा छन् ।

नेपालको हकमा अरु सबै प्रदेशमा केन्द्रहरु स्थापना भइसकेको परिप्रेक्ष्यमा सुदूरपश्चिम प्रदेशमा पनि यसको आवश्यकता महसुस गरी यो ध्यान विधिमा साधनारत स्थानीय व्यक्तिहरुको पहलमा केन्द्र स्थापनाको प्रयास थालिएको हो । सो कार्यका लागि जिल्ला वन कार्यालय कञ्चनपुर, भीमदत्त नगरपालिका वडा नं.८ ले ताराकोटस्थित १५.४ हेक्टर क्षेत्रलफल धार्मिक वनको रुपमा ध्यान केन्द्रलाई उपलब्ध गराइएको हो ।

कम्तीमा एक पटक १० दिने ध्यान शिविरमा रहेर साधना गरिसकेका व्यक्तिको मात्र दानबाट थप केन्द्रहरु विकास हुने हुन् । कम्तीमा १० दिने ध्यान शिविरमा नबसेकाहरुबाट जति ठूलो धनराशी दिन चाहे पनि स्वीकार गरिँदैन । यसै कारण हामी सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पुराना साधक साधिकाहरुले आफ्नो क्षेत्रमा एउटा ध्यान केन्द्र हुनुपर्छ भन्ने चेतले पहल थालेका हौँ ।

यसका लागि कैलालीको घोडाघोडीमा धार्मिक वनको रुपमा १० बिघाभन्दा बढी जग्गा प्राप्ति गर्न कुराकानी पनि भएको थियो । तर कञ्चनपुरको स्थानीय सरकार तथा वन कार्यालय समेतको सदासयता, आग्रह एवं दार्चुला, कैलाली, बैतडी, डडेल्धुरा, डोटी, अछामसहितको आवादीलाई समेट्ने गरी पहिलो रोजाइमा कञ्चनपुर परेको हो ।

ध्यान केन्द्र स्थापना गर्ने भनेर छुट्याइएको झिलमिल ताल नजिकको स्थान धार्मिक वन क्षेत्र भए पनि रुख बिरुवा भएको ठाउँ होइन । त्यही कारण सो ठाउँमा ध्यान केन्द्र स्थापना गर्न वन कार्यालय, प्रदेश, स्थानीय सरकार एवं प्रशासन सहमत भएर कञ्चनपुरमा सुदूरपश्चिम ध्यान केन्द्र स्थापना प्रक्रिया अघि बढेको हो ।

केन्द्रको सुरक्षाका लागि पर्खाल लगाउन प्रदेश सरकारले सहयोग गरेको हो । अरु ६ प्रदेशमा केन्द्र स्थापना भई ती क्षेत्रका बासिन्दा लाभान्वित भइसकेको सन्दर्भमा सुदूरपश्चिमबासीलाई फाइदा पुग्ने विषयमा निस्वार्थ भावले कञ्चनपुरमा काम अघि बढेको वास्तविकता हो ।

केन्द्रहरु सम्पूर्ण रुपमा दानबाट सञ्चालन हुने हुँदा कञ्चनपुरमा तत्काल सबै निर्माण कार्य गर्न सक्ने अवस्था छैन । तर तत्काललाई केही काम थाल्ने तयारी गरिएको छ । तत्काललाई ८ वर्ष भन्दा माथि १३ वर्षसम्मका बालबालिकाहरुलाई आनापान ध्यान, १३ वर्षदेखि १७ वर्षसम्मकालाई ‘टिन एजर्स कोर्स’को ध्यानबाट आत्मविश्वास र स्मरणशक्ति बढाई अध्ययन केन्द्रित बनाउने उद्देश्य हो ।

वयस्कहरुको हकमा हाललाई कारागारमा रहेका कैदीबन्दीहरुलाई साधना अभ्यास गराई उनीहरुको रिस, घृणा, प्रतिशोध घटाउँदै मानसिक स्वास्थ्य सुधार र जेल जीवनपछि सामाजिक पुनःस्थापनामा सहजीकरण गर्ने लक्ष्य हो । अझ महत्वपूर्ण चाहिँ लामो समय कैदमा रहँदा हुने डिप्रेसन र अरु मनोवैज्ञानिक समस्या हटाउन सघाउनु हो । नेपालका विराटनगर, नक्खु, भीमफेदी, नवलपरासी जेलमा यसको सफल उपयोग भइसकेको छ, अरु कतिपय जेलमा हुने क्रममा छ ।

आनापानले बालबालिकालाई अध्ययन केन्द्रित गर्न सघाएको उदाहरण पछिल्लो समय नयाँ दिल्लीका सार्वजनिक विद्यालय हुन् । विश्वका लागि उदाहरण बनेको नयाँ दिल्लीस्थित सार्वजनिक विद्यालय शिक्षा सुधारको कार्यक्रमको एउटा हिस्सा शिक्षक र विद्यार्थीलाई आनापान ध्यान अभ्यास पनि थियो । अझै कतिपय विद्यालयमा त्यो जारी छ ।

काठमाडौंस्थित ख्यातिप्राप्त बुढानीलकण्ठ स्कूल तथा डीएभी स्कूलले पनि विद्यार्थीका लागि आनापान ध्यान गराउँछन् । उत्कृष्ट परिणाम देखिएर नै काठमाडौंका अरु स्कूलहरुले पनि समय समयमा विद्यार्थीका लागि बालशिविर सञ्चालन गर्दै आएका छन् । लन्डन, न्यूयोर्क, नयाँ दिल्ली, काठमाडौंले पाइरहेको चिज सुदूरपश्चिमबासीले पाउनुपर्छ भन्ने शुद्ध मनबाट प्रेरित भई यो काम अघि बढाइएको हो ।

यो कल्याणकारी मार्ग आफ्नो जन्मथलोमा आओस्, आफ्नो क्षेत्रका बालबालिका आत्मविश्वासी भएर पढाइतर्फ झुकाव बढाउन सकुन् भन्ने सोचमा अब तपाईंको साथ चाहिएको छ । स्थानीय युवा लागूऔषध दुव्र्यसन नबनुन्, बनिसकेकाहरु पुनःस्थापित भई सम्मुनत समाज निर्माण होस् भन्ने सोचमा अब तपाईंको साथ चाहिएको छ ।

विभिन्न कसुरमा जेल परेकाहरु जेलभित्र शान्तसँग बसुन्, बाहिर निस्केपछि फेरि अपराध कर्ममा नफर्किउन् भन्ने कल्याणकारी सोचमा अब तपाईंको साथ चाहिएको छ । शान्त मनहरुबाट उत्पन्न हुने खुशीको तरंग सुदुरपश्चिमको आकाशमा फैलियोस् भन्ने सोचमा अब तपाईंको साथ चाहिएको छ ।

कहाँबाट आउँछ पैसा ?

दिनदिनै फैलिइरहेका विपश्यना केन्द्र र व्यवस्थित रुपमा सञ्चालन भइरहेका केन्द्रहरु देख्दा कतिपयलाई लाग्न सक्छ यो सबै चिजको लागि कहाँबाट आउँछ पैसा ?

डोनर एजेन्सीको पैसा पो आउने हो कि ? अमेरिकामा १९ वटाभन्दा बढी केन्द्र छन्, स्वीट्जरल्यान्डसहित युरोपका ३३ देशमा विपश्यना छ, त्यहाँबाट पो आउँछ कि भन्ने लागेको हुन सक्छ । तर होइन, कहीँबाट आउँदैन पैसा । स्थानीय स्तरमा पुराना साधक साधिकाहरुको दानबाट केन्द्रहरु विकास हुने हुन् र सञ्चालन हुने हुन् ।

विश्वभरिका सबै केन्द्रहरु आफैँमा स्वतन्त्र संस्था हुन्, उनीहरु आ—आफ्नो देशको समाज व्यवस्था, परिवेशअनुसार सञ्चालन हुन्छन् । एउटा देशको केन्द्रले अर्को देशको केन्द्रलाई आर्थिक सहयोग गर्ने भन्ने नै हुँदैन । दान लिने पनि मापदण्ड छ । १० दिने शिविर पनि नबसेको व्यक्तिले जति धनराशी दिन्छु भने पनि दान स्वीकारिँदैन ।

ध्यान गर्न जानेहरुले शिविर खर्चको लागि भनेर शुल्क तिर्नु पर्दैन, लिइँदैन । विपश्यना शिविर सञ्चालनको लागि खटिने स्वयंसेवकहरुले पनि शुल्क लिएका हुँदैनन् । आचार्य, सहायक आचार्य एवं धर्म सेवक सेविकाहरु सबै स्वेच्छाले सेवामा खटिने हुन् । विपश्यना ध्यान गरिसकेका साधक साधिकाहरुले स्वेच्छापूर्वक दिएको दान केन्द्र विकास तथा सञ्चालनको आयस्रोत हो ।

पुराना साधक साधिकालाई दान गर्न पनि बाध्यकारी कुनै नियम छैन । पहिला कुनै शिविरबाट आफू लाभान्वित भएपछि अरुलाई पनि लाभ होस् भनेर इच्छा राखी शुद्ध मनले दान दिने परम्पराअनुसार नै विश्वभरिका यस्ता ध्यान केन्द्रहरु विकसित भएका हुन्, सञ्चालन भएका हुन् । र सुदूरपश्चिममा केन्द्र स्थापनाको ‘फ्रेमवर्क’ पनि यही नै हो ।

विपश्यना गरे के पाइन्छ ?

यो साधना विधिले कुनै पनि सम्प्रदायको घेरामा बाँध्दैन । जुनकुनै धर्म, सम्प्रदाय पृष्ठभूमि भएका व्यक्तिहरुले यसलाई अपनाउन सक्छन्, लाभान्वित हुन सक्छन् ।

त्यही भएर नै विपश्यना विश्वभरि फैलिइरहेको हो । बुद्धले आफ्नो जीवनको ४५ वर्षसम्म यो विद्या सिकाउनुभयो । आफ्ना अनुयायीहरुलाई कहिलै बौद्ध भन्नुभएन, बौद्ध बनाउनुभएन । उहाँले धम्म सिकाउनुभयो र त्यो विद्यामा प्रशिक्षित हुनेहरुलाई धम्मिको भनेर सम्बोधन गर्नुभयो । भिक्षुबाहेक लाखौँ गृहस्थ पनि यो ‘धम्म’को मार्गमा हिँडेको र लाभान्वित भएको कुरा इतिहास पल्टाउँदा देखिन्छ ।

विपश्यना सिकाईका तीन चरणहरु छन्— शील, समाधि र प्रज्ञा । यसको अभ्यासले मान्छेमा दुःख हट्दै जान्छ । द्वेष, घृणा कम भएर चित्त करुणा र प्रेमले भरिन्छ । विपश्यना साधना अभ्यासले आश्चर्यजनक गहिराइबाट मनलाई खुशीको उच्च तह अर्थात् मुदिताको अवस्थामा पु¥याइदिन्छ । तर यो प्राप्त गर्न आफैँले अभ्यास गर्नुपर्छ, अरुले बाटो देखाइदिने मात्र हुन् । र, यो काम जो कोहीले पनि गर्न सक्छ । इच्छा हुनेले योग्यता प्राप्त आचार्यको सानिध्यमा १० दिने आवासीय शिविरमा सहभागी भएर यो विधि सिक्न सक्छन् ।

धनी, गरिब, जात, धर्म सम्प्रदाय, राष्ट्रियता केहीको सीमा नराखी यो विद्याले मानिसलाई दुःखबाट मुक्त गराउन सक्छ । विपश्यना अभ्यासले मन शुद्ध गरी रिस, घृणा, प्रतिशोध कम बनाई चित्त खुशी, करुणा र प्रेमले भरिदिन्छ । यो चित्तको चेतनाबाट प्रस्फुटित हुने सार्वजनिक विषय हो । र, यसलाई लाखौँ डलर तिर्छु भनेर पनि खरिद गर्न सकिँदैन ।

त्यसैले जस्तोसुकै आर्थिक हैसियत, जुनसुकै सम्प्रदाय, राष्ट्रियताको पृष्ठभूमि भएका मान्छेले विपश्यनाको अभ्यास गरिरहेका हुन् । यो विधिको अभ्यासमा झुकाव बढाइरहेका हुन् । विपश्यनाका केन्द्रहरुमा ध्यान बाहेक अन्य कुनै पनि काम गराइँदैन, गरिँदैन । एउटा ध्यान शिविरपछि अर्को शिविर गराइन्छ, बस् ! विश्वका धेरै देशहरुमा पुगिसकेको, करोडौंले अपनाएको यो विधिको खाँचो यतिबेला सुदुरपश्चिमलाई पनि छ । सुदुरपश्चिम केन्द्र स्थापनाको कार्यमा सकेसम्म सहयोग गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?