
१२ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको गृहकार्य जारी राखेका छन् ।
आइतबार सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको प्रस्तावलाई अन्तिम रुप दिने र केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबारको पार्टी पदाधिकारी बैठकमा आइतबार गठबन्धनमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले मन्त्रालय भागबण्डाको खाकासमेत तयार पारिसकेको बताएका छन् । सो प्रस्तावित खाकाबारे प्रधानमन्त्री प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए ।
आज गठबन्धनका अन्य दलका शीर्ष नेताहरूसँग पनि छलफल गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सुरुमा गठबन्धनका दलहरुसँग अलग-अलग छलफल गर्ने र संयुक्त छलफल गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताए ।
सत्तारुढ दलहरुबीच मन्त्रालय भागबन्डा सहमति नजिक पुगेको नेताहरुले बताउँदै आएका छन् । सबभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो लाग्न बाँकी रहे पनि अन्य मन्त्रालय बाँडफाँटमा विवाद नरहेको स्रोतले बतायो ।
प्रतिक्रिया 4