
माइक्रो ब्लगिङ साइट ट्वीटरले भेरिफिकेसन ब्याजको पूरानो नियमलाई पूर्णरुपमा खारेज गर्ने भएको छ । जसअनुसार अब पूरानो विधि अनुसार ट्वीटरमा भेरिफिकेसन ब्याज अर्थात् निलो टिक पाएका सबैको अकाउन्टबाट उक्त चिह्न हट्नेछ ।
आगामी अपि्रल १ देखि ट्वीटरका अकाउन्टबाट पुरानो लिगेसी भेरिफिकेसन प्रोग्राम तथा पहिले सोही अनुसार प्राप्त भएका भेरिफिकेसन चेकमार्क हटाइने ट्वीटरले जनाएको छ । फलतः अब केवल मासिक शुल्क तिर्ने मानिसहरुले मात्र ट्वीटरमा निलो टिक पाउनेछन् ।
कम्पनीले एक ट्वीट गर्दै भनेको छ – हामीले आफ्नो लिगेसी भेरिफिकेसन कार्यक्रम बन्द गर्न सुरु गर्नेछौं र लिगेसी भेरिफिकेसनबाट प्राप्त भेरिफिकेसन चेकमार्क पनि हटाउनेछौँ ।
ट्वीटरमा आफ्नो ब्लू चेकमार्क राख्नका लागि प्रयोगकर्ताहरुले ट्वीटर ब्लूका लागि साइनअप गर्नुपर्नेछ ।
वेबको माध्यमबाट ट्वीटर अकाउन्ट भेरिफिकेसनका लागि मासिक ८ डलर शुल्क लाग्नेछ भने एपमार्फत् भेरिफिकेसनका लागि मासिक ११ डलर शुल्क तोकिएको छ । ट्वीटरले आफ्नो सशुल्क भेरिफिकेसन कार्यक्रम विश्वभर नै उपलब्ध भएको जनाएको छ ।
३ थरीका भेरिफिकेसन ब्याज
ट्वीटरले केही महिना पहिले एउटा गोल्ड ब्याज तथा ग्रे ब्याज पनि सुरु गरेको थियो । जसमा गोल्ड ब्याज विभिन्न संस्था तथा ग्रे ब्याज विशेष मानिसहरुका लागि थियो ।
ट्वीटरले सबैभन्दा पहिले सन् २००९ मा भेरिफाइड अकाउन्टको सुविधा सुरु गरेको थियो । चर्चित हस्तीहरु, राजनेताहरु, कम्पनी तथा ब्राण्डका साथै समाचार एजेन्सी र सार्वजनिक हितका अन्य अकाउन्टहरु वास्तविक भएको पहिचान र प्रमाणका लागि ट्वीटरमा भेरिफिकेसन ब्याजको रुपमा निलो टिक प्रदान गरिन्थ्यो ।
तर गत वर्ष ट्वीटर खरिद गरेसँगै एलन मस्कले प्लाटर्फममा रहेको उक्त निःशुल्क भेरिफिकेसन बन्द गर्ने घोषणा गरे । उनले ट्वीटरको उक्त लिगेसी भेरिफिकेसनलाई भ्रष्टको संज्ञा दिँदै त्यसलाई हटाउनुको कुनै विकल्प नरहेको बताएका थिए ।
प्रतिक्रिया 4