
१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या संसदमा उठाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्ने क्रममा झापा १ का सांसद शर्मालेभूमिहीन र अव्यवस्थित नागरिकको समस्या समाधान गर्न ४ बुँदे आग्रह गरेका छन् ।
नापी नभएको ठाउँमा अविलम्ब नापी सुरु गर्न, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाउन, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाउन र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको घोषणा गर्न शर्माले सरकारसँग आग्रह गरेका छन् ।
झापा बुद्ध शान्ति गाउँपालिकाकी ८० बर्षिया जसमाया केरुङ्गले आफ्नो हातमा लालपूर्जा नभएको गुनासो आफू समक्ष गरिरहेको शर्माले सदनमा सुनाए । केरुङको बोली उधृत गर्दै शर्माले भने,‘मैले स्वास फेरिरहेको यो एक टुक्रा जग्गाको लालपुर्जा मेरो हातमा कहिले पर्छ ?’
झापाका भांगा गोला, प्यारिभिट्टा, मेची डाँडा, टिकापुर, काली झोडा, खम्बुटार,खरे डाँगी लगायत नापी कहिले र लालपुर्जा कहिले पाइन्छ? सोधिरहेको शर्माले संसदमा बताए । ‘कतिपय ठाउँमा सरकारले लालपुर्जा वितरण सुरू गर्यो पनि तर गरिब जनताले चर्को कर तिर्न सक्दैनन् भन्ने हेक्का राखिएन,’ शर्माले भने ।
प्रतिक्रिया 4