
१२ चैत, पोखरा । आँखै अगाडि उभिएको माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमशृंखला । दक्षिणी भागमा विशाल फाँटमा फैलिएको पोखरा बजार । बाटोभरि रंगीचंगी गुँरासैगुँरासको जंगल । पाखैभरि हिउँ ।
पछिल्लो समय सामाजिक सञ्जालमा यस्ता धेरै दृश्य देखिएको छ । पोखरादेखि नजिकको दूरीमा रहेको खुमैडाँडा, कोर्चाङबाट देखिने दृश्यले धेरैको ध्यान खिच्न सफल छ । सामाजिक सञ्जालमा भाइरल भएर पदयात्रीको चाप एकाएक बढेपछि पोखरा–खुमैडाँडा–कोर्चाङ पदयात्राका पर्यटन व्यवसायीलाई व्यवस्थापन गर्नै हम्मेहम्मे छ ।
पोखराबाट नजिकैको दूरी र एकदिनमै पुगेर हिउँ खेल्न मिल्ने छोटो दूरीको पोखरा–खुमैडाँडा–कोर्चाङ पदयात्रा दशैंपछि मात्रै चर्चामा आएको हो । तर, छोटो समयमै हजारौं पदयात्रीले पाइला टेकिसकेका छन् । यो पदयात्रा ‘ग्रेट माछापुच्छ्रे ट्रेल’ अन्तर्गत पर्दछ ।
माछापुच्छ्रे गाउँपालिका– १ मा पर्ने खुमैडाँडा समुद्री सतहदेखि ३ हजार २४५ मिटर उचाइमा छ । खुमैमा अहिले दैनिक १५० देखि ३०० जनासम्म पदयात्री पुग्ने खुमैका पर्यटन व्यवसायी सुनाउँछन् । शुक्रबार र शनिबार झनै चाप बढ्ने पर्यटन व्यवसायी सुरेश सुनाम बताउँछन् ।
खुमैभन्दा माथि करिब ३ हजार ६९० मिटर उचाइमा रहेको कोर्चाङ पुग्न करिब २ घन्टा हिंड्नुपर्छ । खुमैमा प्रायः हिउँ नहुने र माछापुच्छ्रे लगायत हिमशृंखला पनि नजिकै देखिने भएकाले खुमै पुगेका आधाभन्दा बढी बिहानै कोर्चाङ आउने गरेको व्यवसायी हेमन्त गुरुङ बताउँछन् ।
‘अहिले दैनिक १५, २० जनाको ६, ७ वटा ग्रुप आइरहनुहुन्छ । लकडाउन पछाडि जब सोसल मिडियामा चर्चामा आएपछि फ्लो बढेको, त्यहाँबाट मात्रै नेपालीको संख्या बढेको हो’, कोर्चाङमा चिया पसल खोलेका गुरुङले भने, ‘त्योभन्दा अगाडि नेपाली भनेको हाम्रै वडाका केही साथीभाइ मात्रै आउने हुन्थ्यो ।’
पोखरादेखि पहिलो दिन माछापुच्छ्रे गाउँपालिका–१, सरिपाखासम्म मोटर यात्रा प्रयोग गर्न सकिन्छ । तर, सार्वजनिक यातायात प्रयोग गर्नेहरुले भने घाचोकसम्म मात्रै त्यो सुविधा पाउँछन् ।
पदयात्रा बसाइँलाई लम्ब्याउन चाहनेले सरिपाखादेखि हिलेसम्म पुगेर त्यहाँ बास बस्न सक्छन् भने त्यहाँ बास नबसेर सीधैं ५, ६ घन्टाको यात्रापछि खुमैडाँडा पुग्न सकिन्छ । बास बस्नको लागि भने कोर्चाङमा होटल खुलेका छैनन् । खुमैमै ३ वटा खुलेका छन् ।
खुमैसम्म पुगेका पदयात्री त्यहींबाट फर्किन्छन् भने केही हिमशृंखलामा देखिने पहिलो सूर्योदयको दृश्य नियाल्न छक्कालमै कोर्चाङ पुग्छन् । नेपालका धेरै ठाउँमा पदयात्रा गरिसकेकी मोनालिसा थापाले पोखरादेखि छोटो दूरीमै हिमशृंखला दृश्यावलोकनसहित हिउँ खेल्ने उत्तम विकल्प कोर्चाङ भएको प्रतिक्रिया दिइन् ।
थप तस्वीरहरु हेर्नुहोस्
प्रतिक्रिया 4