
१२ चैत, पर्सा। वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन् गर्ने स्काभेटर सहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा अवैध रुपमा उत्खनन् गर्दै आएको सूचनाको आधारमा नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।
ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।
नियन्त्रणमा लिएका सवारी साधन आदर्शनगरस्थित बालमन्दिर परिसरमा राखिएको नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालले जानकारी दिए । झण्डै २ महिनाभन्दा अघिदेखि सार्वजनिक जग्गामा उत्खनन् भइरहेको पाइएको उनले बताए ।
गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई व्यक्तिगत प्रयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग उनीहरुले गरेका छन् । वीरगञ्ज २८ का स्थानीय युवा जितेन्द्र कुमार पटेलले गुठीको सार्वजनिक जग्गा खनेर माटो बेच्नेलाई कारबाही हुनपर्ने बताए । झण्डै २ बिघा क्षेत्रफल खनेको बताउँदै उनले त्यसको क्षतिपूर्ति समेत असुल्नुपर्नेमा जोड दिए ।
दर्दवास्थित नदी छेउबाट निरन्तर उत्खनन् हुँदा बस्तीमा बाढी बस्ने जोखिम बढेको स्थानीय शेष पटेलको भनाइ छ । सार्वजनिक जग्गामा माटो उत्खनन् गरेर प्रति टिपर १५ सयदेखि ३ हजार रुपैयाँसम्म बेच्ने गरिएको, १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको स्थानीयले बताएका छन् ।
चन्द्रिका पटेलको निर्देशनमा माटो खनिएको टिपर चालकहरुले बताएका छन् । तर अहिलेसम्म कोहपनि टिपर र स्काभेटर नियन्त्रणमा लिँदा रोकटोक तथा दावी गर्न नआएको नगर प्रहरी प्रमुख भुसालले बताए ।
मेयर राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारवाही गर्ने बताए । उनले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए खबर गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया 4