
काठमाडौं । हलिउड स्टुडियो मार्वल फिल्मका स्टार तथा ‘एन्ट-म्यान एण्ड द वास्प क्वान्टुमेनिया’ अभिनेता जोनाथन मेजर्स ठूलै समस्यामा परेका छन् । ३० वर्षीया प्रेमिकालाई घाँटी थिचेर कुटपिट र उत्पीडन गरेको आरोपमा न्युयोर्क प्रहरीले आइतबार मेजर्सलाई पक्राउ गरेको छ । तर मेजर्सले आफू निर्दोष रहेको दाबी गरेका छन् ।
बिहान ९ बजे फोन आएपछि यो घटनालाई लिएर प्रहरी सतर्क बनेको थियो । जोनाथन मेजर्सलाई शनिबार ११ बजे २२ औं स्ट्रिट र आठौं एभिन्यु नजिकबाट पक्राउ गरिएको हो । पीडित महिलाले आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । प्रहरीले पीडित महिलालाई सामान्य अवस्थामा इलाका अस्पताल पुर्याएको थियो ।
टीएमजेडको रिपोर्टअनुसार पीडित जोनाथन मेजर्सकी प्रेमिका थिइन् । ब्रुकलिनको बारबाट सँगै घर फर्किंदै गर्दा ट्याक्सीमा उनीहरूबीच झगडा भएको पीडितले प्रहरीलाई बताएकी छन् । उक्त विवादमा महिलाको टाउको र पछाडि, कान पछाडि र अनुहारमा चोट लागेको थियो ।
न्युयोर्क सहरका प्रहरी विभागका प्रवक्ताले पीडित महिलाले आफूमाथि कुटपिट भएको बताएको जनाएका छन् । अधिकारीहरूले ३३ वर्षीय जोनाथन मेजर्सलाई त्यसपछि हिरासतमा लिए । पीडितको टाउको र घाँटीमा सामान्य चोट लागेको र उनलाई स्थानीय अस्पतालमा लगिएको छ ।
यस मामिलामा अन्य स्रोतबाट प्राप्त जानकारी अनुसार जोनाथन मेजर्सकी प्रेमिकाले अभिनेतालाई अर्की महिलालाई सन्देश पठाएको देखेकी थिइन् । ती महिलाले यसबारे जोनाथनलाई सोधिन् र फोन जाँच्ने निर्णय गरिन् । यसबाट मेजर्स रिसाएको र त्यसपछि घाँटी र हात समातेर थप्पड हानेको उनको आरोप छ ।
प्रतिक्रिया 4