
१३ चैत, काठमाडौं । मिटर ब्याज पीडितलाई काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेश गर्न रोक लगाएको छ ।
विभिन्न जिल्लाबाट पैदल हिंडेर काठमाडौं आएका मिटरब्याज पीडित वीर अस्पताल अगाडिको गेटबाट खुलामञ्च प्रवेश गर्न खोजेका थिए । तर महानगरपालिकाको नगर प्रहरीले उनीहरुलाई गेटमा रोकेको हो ।
त्यसपछि मिटरब्याज पीडितले मेयर बालेन साहविरुद्ध नाराबाजी गरेका छन् ।
खुलामञ्चमा विरोध कार्यक्रम गर्न आइतबार नै महानगरका मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरेको तर सुनुवाई नभएको मिटरब्याज पीडितहरुले बताएका छन् । खुलामञ्च प्रवेश गर्न नदिएपछि उनीहरु वीर अस्पताल अगाडिको सडकमै बसेका छन् ।
मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज पासवानले घरखेत लुटिएर न्याय माग्न आउँदा पनि खुल्लामञ्चमा बस्न नदिएको गुनासो गरे ।
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने खुलामञ्चमा बस्ने विषयमा आफूहरुसँग सल्लाह नभएको र अनुमति नमागिएको बताए ।
हेर्नुहोस् तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4