
खाडीको बाढीले बगाएपछि
मान्छेहरूलाई लाग्यो,
अब खाडी शब्द मिल्काउनु पर्छ शब्दकोशबाट
कोसौंकोस परको जङ्गलमा,
जहाँ भविष्यमा बास बनाउने अनगिन्ती बिरुवाहरू उम्रिउन् ।
१२ कक्षाको अन्तिम दिनमा
टिसर्टमा पोतिएको शब्द चित्र
वास्तविक हो या त वैराग्यको मानचित्र ?
या त हुन सक्छु म अज्ञानताको ओडारभित्र ?
सर्टको आवरणलाई काला अक्षरले पोत्न,
उनीहरूका हातलाई,
न त खाडीको गर्मीले छेक्छ,
न त जापानको हिउँले नै रोक्न सक्छ।
जवानीको जोसमा,
कलेजका सम्झना सिँगार्ने होडमा,
देखेको हो उसले मेरो देशको शिक्षा,
र त उसले जाहेर गर्यो खाडीमा भेट्ने जबर्जस्त इच्छा ।
पहिले उनीहरूले किताब देखे
अहिले शिक्षा,
तर, अझै बुझ्न बाँकी छ मेरो देशको शिक्षाले रोजेको भिक्षा ।
इच्छा सधैं कहाँ पूरा हुन्छन् र साथी
हेर न कहाँ पूरा भए
आमासँग ज्योतिषले गरेको तिम्रो भविष्यवाणी,
न त पूरा भयो हालसम्म,
ज्योतिषको भविष्यवाणीको आडमा बनेका;
तिम्रो भविष्यको पूर्ण नक्सा।
लेखेका र देखेका तिम्रा सबै सपनाहरू,
पूरा हुन्छन् जस्तो लाग्या भए,
आउ मित्र, आजै म तिम्रो सर्टमा लेखिदिनेछु
कि तिम्रा खाडीका सपनाहरू पूरा होऊन् ।
प्रतिक्रिया 4