
१४ चैत, काठमाडौं । नेपालमा १६ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । यी सबैले ३हजार ६१२ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । यसमा सबै तह अर्थात् सुरक्षा र सरसफाईमा खटिने कर्मचारीदेखि महाप्रबन्धकसम्म समावेश छ ।
पर्यटन विभागका अनुसार नेपालमा सबभन्दा धेरै रोजगारी सिर्जना गर्ने पाँचतारे होटेल सोल्टी हो । सोल्टी एक्लैले ५५० जनालाई रोजगार बनाएको छ । हाल २८२ कोठा र ४३५ वटा वेड रहेको यो होटेल २०२९ सालमै पाँचतारे बनेको हो ।
कोठा संख्याका हिसाबले भने नेपालको ठूलो पाँचतारे होटेल हायात हो । यसले ४१० जनालाई रोजगारी दिन्छ । कोहलपुरको सेन्ट्रल प्लाजा रोजगारी सिर्जनाका दृष्टिकोणले सबभन्दा सानो पाँचतारे होटेल हो । ८० कोठा र ९९ वेड रहेको यो होटेलमाले ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
पोखराको दि फूलबारी होटेल अहिले बन्द छ । कोरोना महामारीपछि अन्य पाँचतारे होटेलको पनि व्यापार उत्साहजनक छैन । यद्यपी, ६ महिनायता पर्यटक आगमन क्रमशः बढ्दै जाँदा होटेलहरुको विजनेश पनि सुधारिदै गएको छ ।
नेपालका कुल १९ वटा चारतारे होटेलहरुले १ हजार ७८० जनालाई रोजगारी दिएका छन् । यीमध्ये कुपण्डोलस्थित होटेल हिमालय सबभन्दा धेरै रोजगारी सिर्जना गर्नेमा पर्छ । यसले २४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
नेपालमा तीनतारे होटेलकोसंख्या ३३ वटा पुगेको छ । यी होटेलले १ हजार ७९२ जनालाई रोजगारी दिएका छन् । यीमध्ये कुपण्डोलको समिट होटेलले सबभन्दा धेरै१५२ जनालाई रोजगारी दिएको पर्यटन विभागको तथ्यांक छ ।
नेपालमा दुईतारे होटेलको संख्या ४१ छ । यी होटेलले कुल १ हजार २३९ जनालाई रोजगारी दिएका छन् । त्यस्तै, नेपालमा ३४ वटा एकतारे होटेलछन् । यी होटेलले ५९७ जनालाई रोजगारी दिएका छन् ।
प्रतिक्रिया 4