
यो वैश्य युग हो। यस कथनमा शंका गर्ने ठाउँ छैन। कार्ल मार्क्स राजनीतिज्ञ नभएर एक दार्शनिक थिए। उनको द्वन्द्वात्मक भौतिकवादको दर्शनमाथि आजका कुनै पनि पूँजीवादीले औंलो उठाउन सक्दैनन्। तर उनको पूँजी सम्बन्धी दर्शनलाई लेनिन, स्टालिन र माओत्से तुंगले समेत अपव्याख्या गरेर आफू अनुकूल सिद्धान्तको आकार दिएपछि बीसौं शताब्दीमा वामपन्थ र दक्षिणपन्थको द्वन्द्व सुरु भएको हो।
आजको मितिमा दर्शन गौण भएको छ। सफलताको खुड्किलो चढ्न पूँजी नै सर्वस्व र सामर्थ्य हो भन्ने मान्यता स्थापित भइसक्यो। मान्छेलाई आफ्नो ‘विकास’ रातारात चाहिएको छ। तर यो लेखको उद्देश्य राजनीतिक दर्शनको चिरफार गर्नु होइन। सन्दर्भ आजको प्रविधिको हो। प्राविधिक विकासले आजको मान्छेको मानसिकता अप्राकृतिक रूपले खल्बल्याएको छ।
टेलिभिजनकै कुरा गरौं। अहिले हरेक घरको एक अभिन्न अंग हुनपुगेको टेलिभिजनको पहिलो सफल प्रयोग ७ सेप्टेम्बर, १९२७ मा अमेरिकाको सान फ्रान्सिस्कोमा भएको थियो। यसको श्रेय २१ वर्षे फिलो टेलर फ्रान्वार्थ भन्ने मान्छेलाई जान्छ, जो १४ वर्षसम्म बिजुलीको लाइन नै नपुगेको एउटा ग्रामीण घरमा हुर्किएका थिए। सन् १९४० को दशकसम्म टेलिभिजन औंलामा गन्न सकिने सम्भ्रान्तहरूको घरमा सजिएको एक विलासिताको साधन थियो।
द्वितीय विश्वयुद्धपछि सन् १९५० मा टेलिभिजन हरेक घरको चिया पकाउने कित्ली जस्तो अत्यावश्यक साधन बन्न पुग्यो। सन् १९५० सम्म केवल ९ प्रतिशत अमेरिकीहरूको घरमा सजिएको टेलिभिजनको संख्या सन् १९६० सम्ममा बढेर ८० प्रतिशत घरहरूमा पुगिसकेको थियो।
आज जमाना बदलिएको छ। टेलिभिजन बढी हेरेर केटाकेटी बिग्रिए भन्ने कुनै बेलाका बाबुआमाको गुनासो अब अप्रासंगिक भइसक्यो। सामान्यदेखि अभिजात वर्ग, गरिब-धनी, साक्षर-निरक्षर सबैको हातमा फोन अनिवार्य भएको छ।
एउटा निम्न आर्थिकस्तरको परिवारमा वार्ता चल्छ, ‘अघिल्लो महिना श्रीमानले विदेशबाट मोबाइल पठाइदिएका थिए। आज डाटा सकियो। पैसा त छ, तर बच्चोलाई दूध किनिदिऊँ कि मोबाइलमा डाटा थपौं ? टिकटक बनाऊँ कि रिल?’ हुनेखानेको मगजमा के चल्छ होला? सबैको मानसिकता द्विविधाग्रस्त छ। सामाजिक संजाल नामको तकनिकी विस्फोटका सामु मान्छे निरीह छ।
पहिलो ‘डेटिङ’मा शहरभन्दा कतै टाढा गएको प्रेमिल जोडीको प्रणय गाथाको सुरुवात प्राकृतिक हुँदैन। यसको सुरुवात र अन्त्य सामाजिक संजालमा हुन्छ। दिनभरि आआफ्नो काममा व्यस्त विवाहित दम्पतीलाई आफ्नो दिनभरिको कुशल–क्षेम सोध्नुभन्दा पहिले आफ्नो ‘स्टाटस अपडेट’ गर्ने हुटहुटीले गाँजेको हुन्छ।
कुनैबेला बेलुकी खाना खाने टेबलमा सपरिवार हाँसोठट्टा गर्ने चलन अहिले ‘इमोजी’ साटासाट गर्दैमा बित्छ। समय घर्किंदैछ। सामाजिक संजाल नामको प्रविधिले मान्छेलाई असामाजिक र अप्राकृतिक तुल्याएको छ।
मान्छेको मस्तिष्कमा प्रकृतिले भरिदिएको स्वाभाविक जिज्ञासा, उत्सुकता र नयाँ कुरा गर्ने र खोज्ने चाहनाले नै मान्छेलाई पृथ्वीमा सर्वाधिक परिष्कृत जीवका रूपमा उभ्याएको हो। प्रकृतिको अर्बौं वर्षको उद्विकासको इतिहासमा मान्छेले दुईखुट्टा टेकेको एक लाख वर्ष त भयो। यहाँ आगो सुरुदेखि नै थियो तर त्यो सुषुप्त।
कुनै एउटा जिज्ञासु मान्छेले दुई प्रज्ज्वलनशील पदार्थको घर्षणबाट आगो बाल्ने विधिको विकास गर्यो। त्यो मान्छेका लागि आफ्नो उपलब्धिलाई ‘पेटेन्ट’ का रूपमा दर्ता गर्ने दरकार नै परेन। न उसमा ‘गिनिज बुक’ मा नाम लेखाउने हुटहुटी नै थियो। तर त्यो मान्छेले आफ्नो मानव जातिलाई ऊर्जाको एउटा स्रोत उपहार दियो। काँचै चपाएर खाने मान्छे अब पोलेर खाने भयो।
यो कल्पना शक्तिको धनी मान्छे बेनाम जन्मियो, बेनाम मर्यो। उसको खोजको ब्याज खाएर आजको मान्छे संसारमा उधुम मच्चाउँदैछ। आगो पत्ता लागेपछि कोइलाको पनि महत्व थाहा पायो होला मान्छेले। अठारौं शताब्दीको सातौं दशकतिर जेम्सवाट भन्ने मान्छेले कोइला बालेर निकालेको वाष्प इञ्जिनले औद्योगिक क्रान्तिको बिगुल फुकिदियो। उनको नाम इतिहासमा अंकित भयो। तर आजको मान्छेले आगो पत्ता लगाउने त्यो पहिलो अनाम मान्छेप्रति कृतज्ञता प्रकट गरेको सुनिएको छैन ।
मार्क जुकरबर्गले फेसबुकको पहिलो परीक्षण आफ्नी प्रेमिका प्रिसिला चांगलाई ‘आई लभ यू’ भनेर गरेका थिए। यो कुरा अर्कै हो कि, फेसबुक जुकरबर्गको एक्लो बुद्धि बनेको थिएन। यसको आधार जसले खडा गरेका थिए, ती दुईजनालाई उसले धोकाधडी गरेर निकालेको थियो।
पछि उनीहरूको मौनता किनेर आफ्नो सिलिकन साम्राज्यको विस्तार गरेको थियो। अहिले मेटा कम्पनी मार्फत फेसबुक लगायत विभिन्न सामाजिक संजालका मालिक जुकरबर्गले हार्वर्ड विश्वविद्यालयका सहपाठी एडवार्डो सभ्रिनले विकास गरेको अल्गोरिदम र त्यसलाई परिष्कृत गर्ने विन्कल्बस दाजुभाइको मिहिनेत चोरेर फेसबुक सुरु गरेको सत्य सावित भइसकेको छ।
यसबापत जुकरबर्गले यिनलाई करोडौं रकम तिरेर कम्पनी आफ्नो एकलौटी पारेको कुरा गुगल सर्च गर्ने जो–कोहीले थाहा पाउन सक्छ। सामाजिक संजाल अहिले जुकरबर्गले सुरुवातमा आफ्नी प्रेमिकालाई व्यक्त गरेको प्रेमको आधारमा चलेको छैन। यसले प्रेमको साटो घृणाको विस्तार गरेको छ। सामाजिक संजाल असामाजिक भएको छ।
गुगल अर्थ पनि गुगलको आफ्नो थिएन। जर्मनी र रोमानियाका दुईजना जिज्ञासु युवकहरूको शोधलाई शकुनि शैलीमा हत्याएपछि मात्रै गुगलले आफ्नो वर्कतमा त्यसको विस्तार गरेको थियो।
अहिले प्रचलित हरेक चल्तीका प्रविधि आफैं छलछामको जगमा उभिएका छन्। आविष्कारकहरू प्रचारका भोका कहिल्यै भएनन्। तर त्यही आविष्कार चोरेर व्यापार गर्नेहरू भने सधैं प्रचारमुखी रहे। आज उनीहरू नै चर्चित र सफलतम उद्यमी र आविष्कारकमा गनिएका छन्।
इन्टरनेटको आरम्भ मानव सभ्यताको लागि एक सुनौलो युग थियो। तर यसको सदुपयोग कम दुरुपयोग बढी भएको तथ्य कसैबाट लुकेको छैन। यसको दुरुपयोग गर्ने एउटा व्यक्तिको निकृष्ट कर्मले सम्पूर्ण प्रयोगकर्तालाई नैतिक रूपले अपराधी ठहर गर्न सक्छ। उदाहरणका लागि ‘पोर्न हब’ नामक एक नि:शुल्क दर्ता गर्न मिल्ने यौन संजालको कुरा प्रासंगिक हुनसक्छ।
यो संजालमा सदस्यता लिएपछि आफूलाई मन परेको यौन भिडिओ ‘अपलिंक’ गर्ने सुविधा हुन्थ्यो। यसका ग्राहक स्वाभाविक रूपमा धेरै थिए। इन्टरनेटमा हरेक वर्ष हुने कारोबारमध्ये यौन साइटहरुले मात्र कम्तीमा पनि दुई अर्ब डलर बराबरको कारोबार गर्ने गरेका थिए।
सोही वेबसाइटमा एउटा मान्छेले आफ्नी नाबालिक प्रेमिकाको नग्न तस्वीर हालिदियो। ती बालिका र उनकी आमाले साइट संचालकलाई त्यो तस्वीर हटाउन गरेको पटक–पटकको आग्रह संचालकहरूले सुनेनन्। केही दिन हटाउने फेरि राखिहाल्ने गरिरह्यो। यिनीहरूको आम्दानीको स्रोत नै त्यस्तै भिडियो मार्फत थियो।
अन्तत: द न्यू योर्क टाइम्सका पुलित्जर पुरस्कार विजेता संवाददाता निकोलस क्रिस्टफले यसबारेमा एक लेख प्रकाशित गरे। यसपछि तातेको अमेरिकी सरकारले ‘पोर्न हब’का संचालक मात्र होइन, यसका सम्पूर्ण सदस्य विरुद्ध बाल यौन दुराचारमा मुद्दा दायर गर्यो।
मुद्दाको अन्तिम छिनोफानो हुन बाँकी छ। तर ‘पोर्न हब’ संचालन गर्ने माइण्ड गीक नामको कम्पनीका कार्यकारी अधिकृत फेरास एण्टोनको क्यानडा मनट्रयालस्थित झन्डै दुई करोडको महल त्यसपछि कसैले खरानी हुने गरी जलाइदियो। २५ अप्रिल २०२१ को यो घटनाले यस्ता साइट संचालकहरूलाई सचेत गराएको हुनुपर्छ।
यस्तै घटना एक खर्बभन्दा बढी सदस्य रहेको फेसबुक, इन्स्टाग्राम, टिकटक वा अन्य सामाजिक संजालमा नहोला भन्ने कुनै आधार छैन। एउटाले गरेको अपराधको सम्पूर्ण प्रयोगकर्ताले नैतिक जिम्मेवारी लिनुपर्ने अवस्थाले उत्पन्न गर्ने कानुनी जटिलताको समाधान के हो? प्रविधिको उडानमा देखिने मानवीय मूल्य र मान्यताको स्खलन कहाँ पुगेर टुङ्गिने हो? यसको जवाफ भीडमा होइन, हरेक प्रयोगकर्ताको विवेकको आधारमा मात्र खोज्न सकिन्छ।
हामीले समाजशास्त्र पढ्दा सधैं एउटा उदाहरण घोकाइन्थ्यो, ‘अमेरिकामा स्वतन्त्रता छ, तर त्यसको अर्थ बीच सडकमा हिंड्नु होइन।’ सोच्ने कुरा हो, अहिले कति मान्छे सामाजिक संजालको बीच सडकमा बुर्कुसी मार्दैछन्?
संजाल अजिङ्गरले जस्तो मुख बाएर लमतन्न परेको छ। यसको पेट कसैगरी अघाउँदैन। यसका प्रयोगकर्ताहरूले आफू बाँच्नुको कारण बिर्सिसके। तर अजिङ्गरको मुखमा आहारा पुर्याउन बिर्सिएका छैनन्। अजिङ्गर संजाल हो। आहारा संजालका मालिकको पेटमा पुग्छ। सित्तैंको उत्पादन उपभोग गर्दागर्दै प्रयोगकर्ताहरू आफैं उत्पादन(प्रोडक्ट) बनेका छन्।
सञ्जालका ‘अल्गोरिदम’ले प्रयोगकर्ताको हरेक सूचनाको व्यापार विनिमय गर्दैछ। आफ्नो आग्रह विस्तार गर्ने मञ्चको नि:शुल्क प्रयोगले प्रयोगकर्तालाई संजाल संचालकहरूको पूर्णकालीन कामदार बनाएको पत्तै छैन। मान्छेको आफ्नो हरेक गतिविधिको कृत्रिम प्रसारण गर्ने अभिलाषा जुकरबर्ग प्रवृत्तिका व्यापारीका निम्ति नि:शुल्क कच्चा पदार्थ भएको छ। प्रयोगकर्ताको व्यक्तिगत सूचना प्रत्येक क्षण प्रशोधित भएर डिजिटल बजारमा साइबर अप्टिक केवल मार्फत ढुवानी हुँदैछ। तर उनीहरू खुशी छन्।
मान्छेको जीवनको केन्द्रमा मान्छे छैन, दुनियाँ छ। यो रमितामा हराएको मान्छे कागजको फूल जस्तै सुन्दर त देखिन्छ तर उसले सुवास गुमाएको छ। चम्किलो त छ, तर सुन र पित्तलमा फरक छैन। सडकमा अलपत्र फोहोर जस्तै पोष्टहरू छरपस्ट छन्। तर कसैको फोहोर कसैको सम्पत्ति हो। प्रयोगकर्तालाई यसको कुनै अर्थ छैन। किनभने उसले बुझेकै छैन।
सामाजिक संजाल असामाजिक हुँदै गएको अर्को उदाहरण हो, बादलमा बनेका साथीहरूको झुण्ड नामको सिण्डिकेट। यहाँ कहिल्यै नदेखेको, नचिनेको, नजानेको मान्छे अकारण शत्रु बनाउन सजिलो छ। विना कारण। झुण्डमा सामेल नहुँदा असामाजिक। हुँदा सामाजिक उत्पीडन! खुशीले खुशी बढाउनुपर्ने हो, तर बढिदिन्छ ईर्ष्या !
आफ्नो अनुभव बाँड्यो, त्यो बनिदिन्छ मजाक। लाइक, कमेन्ट, लभ बटनहरू ऐंचो-पैंचो सापटी लेनदेन जस्तो भएका छन्। यस्तो ‘सिन्डिकेट क्वीड प्रो क्वो’ ले गम्भीर मुद्दामा भन्दा हल्का र फितलो सवालमा बढी योगदान पुर्याएको देखिन्छ। जति हलुको प्रस्तुति, त्यसको वजन त्यति बढी।
प्रविधिको विकासको अर्को विसंगत पराकाष्ठा कृत्रिम बौद्धिकता अहिले ‘च्याट जिपिटी’ का रूपमा हाम्रोसामु उपस्थित छ। यो ब्रह्माण्डको कुनै अर्को कुनाबाट फुत्त झरेको कथित बौद्धिकता होइन। तर यसले मान्छेको कल्पना शक्तिलाई नै बन्धक बनाइदिने त्रास उत्पन्न गरेको छ।
सीमित मान्छेमा निहित स्रोत, साधन र कल्पनाले विश्वका अर्बौं मान्छेको कल्पनाशीलतालाई कसरी नियन्त्रण गर्न सक्छ भन्ने त्रासदीपूर्ण यथार्थको यो वास्तविक स्वरूप हो। प्रविधिले सबलांग मान्छेलाई पनि अपांगता बनाउने सम्भावना मानिसको प्राकृतिक बुद्धिमत्ताका निम्ति दुर्भाग्य बाहेक अरु केही होइन। पूँजीको बचत र आर्जन मात्रै मान्छेको भविष्य हुन सक्दैन। प्राकृतिक सृजना फस्टाउनु जरुरी छ।
आकाशमा ड्रोन उड्न थालेपछि त्यसको पहिलो शिकार हेलिकप्टर चढेर तस्वीर खिच्ने प्राविधिकहरू भए। अब यो काम सस्तो र सुलभ हुनगयो। कृत्रिम बौद्धिकताले अब वकील र चिकित्सकका सहायक र तिनका परिवारको पेटमा लात्ती हान्नेछ।
तर एउटा कुरा निश्चित रूपले सत्य हो- प्रविधिले पस्किदिएको परिकार हेरेर मुख रसाउन सक्छ, तर त्यसले भोको पेट भरिंदैन।
प्रतिक्रिया 4