
१४ चैत, काठमाडौं । नेपाल बार एसोसिएशनले १५ दिनभित्र स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएको छ ।
बारको प्रतिनिधिमण्डलले कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन प्रणालीसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको हो ।
ज्ञापनपत्रमा भनिएको छ, ‘प्रतिवेदनलाई सर्वोच्च अदालतको फूल कोर्टले स्वामित्व ग्रहण गरी १५ दिनभित्र प्रक्रियाको सुरुवात गर्न, गराउनका लागि सम्माननीयज्यूको ध्यानाकर्षण गराउँदछौं।’
प्रधानन्यायाधीशले आफूखुसी इजलास गठन गर्ने र मुद्दा तोक्ने प्रवृत्तिले न्यायमा विचलन आएको भन्दै विभिन्न अध्ययन प्रतिवेदनले स्वचालित पेशी व्यवस्थापन प्रणाली सुरु गर्न सुझाव दिएका थिए ।
गत वर्षदेखि सर्वोच्च अदालतले गोला प्रक्रियाबाट इजलास गठन र मुद्दा तोक्दै आएको छ । त्यसलाई सफ्टवेयरबाट सञ्चालन हुनेगरी स्वचालित तरिकाले पेशी व्यवस्थापन गर्नुपर्ने कानून व्यवसायीहरुको माग छ ।
गत १३ र १४ फागुनमा सम्पन्न राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद बैठकले सर्वोच्च अदालतलाई तत्काल स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्न माग गरेको थियो ।
प्रतिक्रिया 4