
१४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले क्रिकेटर करण केसीसहित ४ जनालाई ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।
नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरसम्म पुर्याउन सफल राष्ट्रिय टिमका खेलाडी करण र यु–१९ विश्वकपमा पुर्याउने खेलाडी अर्जुन कुमाल, सुवास भण्डारी र दीपक डुम्रेलाई मुख्यमन्त्री खगराज अधिकारी र खेलकुदमन्त्री पञ्चराम तमुले सम्मान गरेका हुन् । सबै खेलाडीले जनही ५० हजार रुपैयाँ पाएका छन् ।
सम्मानपछि बोल्दै क्रिकेटर केसीले खेलाडी उत्पादन गर्नका लागि सबैभन्दा पहिले पूर्वाधार तयार हुनुपर्ने बताए । गण्डकीमा खेलाडी भए पनि पूर्वाधार नहुँदा अभ्यासका लागि समस्या भएको उनको भनाइ छ । गण्डकीमै ४/५ जना खेलाडी हुँदा पनि अभ्यासका लागि भारत जानुपर्ने केसीको भनाइ थियो ।
‘इन्डियामा क्रिकेट स्टार्ट गर्दा फ्युचर चाहिँ देखेको थिइनँ । बाहिर जानलाई नेपाल आएको हो खासमा, मलाई थाहै थिएन नेपालमा पनि क्रिकेट छ भन्ने’, केसीले भने, ‘यहाँ १ वर्ष लाग्यो राष्ट्रिय टिममा पर्नलाई ।’ ९ वर्षदेखि नेपालका लागि राष्ट्रिय टिमबाट खेलिरहेका करणले व्यवस्थित पूर्वाधार हुने हो भने खेलाडीले देशको नाम उच्च राख्ने पनि बताए ।
पोखरा रंगशाला मर्मत र पूर्वाधारयुक्तमात्रै बनाइदिए पनि खेलाडीले दिनरात अभ्यास गर्न सक्ने र गण्डकी प्रदेशबाट धेरै खेलाडी उत्पादन भएर देशको नाम रोशन गर्ने करणले बताए । व्यवस्थित क्रिकेट मैदान बनाउन गण्डकीका मुख्यमन्त्री, मन्त्रीलाई आग्रह गर्दै करणले खेलाडीले पनि धेरै मिहिनेत गर्दै क्रिकेटलाई अझै माथि लैजाने बताए ।
बागलुङमा जन्मिएको भए पनि आफूले भारतमै सिक्ने अवसर पाएको करणले सुनाए । विदेश जानका लागि नेपाल आउँदा क्रिकेटमा छिरेको र एक वर्षमै राष्ट्रिय टिममा परेको करणले बताए ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले चैत २ गते युएईलाई पराजित गर्दै विश्वकप क्वालिफायरमा पुग्न सफल नेपाली क्रिकेट टिमसँग सबै नेपाली आफैं खेलेको अनुभव रहेको बताए । त्यो दिन जित्न नसकेको भए सबै नेपालीको मन दुख्ने मुख्यमन्त्री अधिकारीको भनाइ थियो ।
‘तपाईंहरुले हाम्रो मनको कुरा प्रकट गर्नुभयो । हामीसँग सबथोक छ तर विलपावर चाहिन्छ सधैंभरि,’ अधिकारीले भने, ‘त्यसैले तपाईंहरुको विलपावर सधैंभरि बढोस्, हामीले हाम्रोतर्फबाट गर्नुपर्ने गर्नेछौं ।’ खेलकुदमन्त्री पञ्चराम तमुले पोखरामा वैकल्पिक रंगशालाका निम्ति पनि काम गरिरहेको सुनाए ।
नेपालले विश्वकप क्रिकेट लिग टू मा चैत २ गते यूएइलाई हराउँदै विश्वकप क्रिकेटको क्वालिफायरमा पुगेको थियो । नेपालले अब जिम्बाब्वेमा हुने क्वालिफायरमा दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिजलगायतका टेष्ट मान्यता प्राप्त देशसँग खेल्ने छ । नेपालले लिग टू को पछिल्लो शृंखलामा १२ खेलमा नेपाल ११ वटा खेलमा विजयी हुँदै निकै सनसनीपूर्ण खेल प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया 4