
१५ चैत, जनकपुरधाम । माओवादी केन्द्रमा लागेका शिवचन्द्र कुशवाह जनमत पार्टी प्रवेश गरेका छन् । अगामी वैशाख १० गते बारा-२ मा हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने लगभग पक्का छ । र कुशवाहको पार्टी माओवादी केन्द्रले जसपालाई सघाउने भएपछि उनले पार्टी छाडेका हुन् ।
उनी ४ मंसिरमा सम्पन्न चुनावमा नेपाली कांग्रेस–माओवादीसँर्गै पाँचदलीय गठबन्धनका साझा उम्मेदवार थिए । जसपा–एमाले गठबन्धनका उम्मेदवार रामसहाय यादव १३ हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा कुशवाहले १३ हजार ४६८ मत पाएका थिए । ३५४ मतले पराजित उनी बारा २ मा बलिया उम्मेदवार मानिन्छन् ।
रामसहाय यादव उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित जसपा अध्यक्ष उपेन्द्र यादव बारा २ मा उपनिर्वाचन लड्ने भएपछि सो क्षेत्र अधिक चर्चाको विषय बनेको छ । यादवलाई चुनौती दिन माओवादी छाडेका कुशवाहसित अनलाइनखबरका शैलेन्द्र महतोले गरेको संक्षिप्त कुराकानी :
तपाईंले माओवादी पार्टी छाड्नुको खास कारण के हो ?
माओवादीले जसपालाई समर्थन गरेको अवस्थामा बारा–२ का जनताले यो उपचुनावमा तपाईं उठ्नपर्छ भनेपछि मैले त्यो भावनाको सम्मान गरेको हुँ । स्वतन्त्रबाट लड्न खोज्दा त्यसरी होइन, कुनै पार्टीबाटै लड्नपर्छ भनेपछि जनमत पार्टीमा प्रवेश गरेको छु ।
जनमत पार्टीमा त्यस्तो के छ, जसले गर्दा जनताले तपाईंलाई त्यसबाटै लड्न कर लगाए ?
अध्यक्ष डा. सीके राउतजीको जीवन, संघर्ष र विचारका कारण मधेशमा जनमत पार्टीले जनताको मन जितेको अवस्था छ । त्यसकारण पनि जनताले मलाई जनमतबाटै लड्न कर गरेका हुन् । मैले जनभावनाको सम्मान गरेको हुँ ।
बारा २ मा सत्ता गठबन्धनको सहयोगमा जसपा अध्यक्ष यादव लड्ने पक्काजस्तै छ । उहाँलाई हराउन नै जनमत प्रवेश गर्नुभएको होइन र ?
स्वतन्त्र उम्मेदवार बन्ने मनस्थितिमा थिएँ, तर पार्टीबाटै लड्नुस् भन्ने जनताको भनाइ सुनेर जनमत प्रवेश गरेको हुँ । अब मलाई चुनाव लड्न सजिलो भएको छ । उपेन्द्रजी बाहिर चुनाव हारेर आउँदै हुनुहुन्छ, यो राम्रो भएन । यहाँकै धर्तीपुत्रलाई जिताउनुपर्छ भन्ने बारा–२ का मतदाताको भावना छ ।
गत मंसिरको चुनावमा पाँचदलीय गठबन्धनको साझा उम्मेदवार तपाई दुईदलीय गठबन्धनका रामसहाय यादवबाट पराजित हुनुभयो । अहिले पनि उपेन्द्र यादवलाई सघाउने गठबन्धन छ । एक्लो जनमत पार्टीको बलमा जित्नु होला त ?
त्यो बेला नामको मात्र गठबन्धन थियो । कांग्रेसका जिल्ला सभापतिले आफ्नै भाइलाई उठाउनुभयो । गठबन्धन लागू नै भएन, जसको कारण रामसहायजी जित्नुभयो । मैले जुन मत पाएँ, त्यो मेरो व्यक्तित्वको मत थियो ।
अहिले गठबन्धनको मत उपेन्द्र यादवलाई जाँदैन भन्न खोज्नुभएको हो ?
माथि कतै कागजमा भएको गठबन्धनलाई बारा–२ का जनताले मानेका छैनन्, मान्दैनन् ।
माओवादी पार्टीमा तपाईंको ठूलो योगदान छ । उपचुनावको मुखमै छाड्दा त्यति लामो समय काम गरेको पार्टीको माया लागेन ?
योगदान गरेको पार्टीप्रति माया हुन्छ नै । माओवादीमा मेरो भूमिकाको इतिहास छँदैछ । अहिले कुनै बाध्यता या कारणले माओवादीले उपेन्द्रजीलाई समर्थन गर्यो, यता जनताले मलाई चुनाव लड्नैपर्छ भने ।
माओवादी पार्टी र नेतालाई केही भन्नु छैन, बरु सम्मान छ । जनताको आग्रह लत्याउन नसकेर म जनमतमा आएको हुँ ।
प्रतिक्रिया 4