
१५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पूँजीबजारमा कारोबार लागत घटाउनु पर्ने बताएका छन् । ‘समृद्ध नेपालको आधारः पूँजीबजार सुधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले बजारमा कारोबार लागत घटाउनु पर्ने र सेवाको दायरा बढाउनु पर्ने बताए ।
लगानीकर्ताको संरक्षण, लागत कम र पाउने सेवाको गुणस्तर बढाउन सके बजार आफैं बलियो हुने उनको भनाइ छ । यसका लागि ब्रोकर बलियो हुनुपर्ने उनले बताए । बलियो ब्रोकरका लागि मापदण्ड बलियो बनाउने र मापदण्ड पुगेकाले अनुमति पाउनुपर्ने उनको भनाइ छ । यसलाई समेत समय सीमा तोकेर काम गर्नुपर्ने उनले बताए । बोर्डले सुशासन, उत्तरदायी, पारदर्शीता र स्वच्छ प्रतिस्पर्धाको नीति लिएको भन्दै यसलाई लागु गर्दा बजार आफैं सुधार हुने अध्यक्ष हमालको भनाइ छ ।
ब्रोकरले नयाँ लाइसेन्स दिन खोज्दा विरोध भएको सन्दर्भमा उनले नियामकले त्यसमा ‘वायस’ दृष्टिकोण नलिने उनले बताए । अहिलेका ब्रोकर प्रतिस्पर्धी हुनु पर्ने भन्दै अध्यक्ष हमालले नेपालमा १०० वटा ब्रोकर चाहिने बताए । शाखा विस्तार गर्ने नीति उनीहरूलाई प्रतिस्पर्धाको लागि तयार गर्न भएको समेत उनले बताए ।
प्रतिक्रिया 4