
१५ चैत, काठमाडौं । सरकारले सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको सरुवा गरेको छ । अवकाश हुन ३ महिना बाँकी छदा सचिव अर्याललाई सरकारले सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेको हो ।
‘हिजोको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीज्यूले सञ्चार सचिवको सरुवाको कुरा राख्नुभयो, मन्त्री रेखा शर्माले अहिले हतार नगरौं कि भन्नुभएको थियो । मुख्यसचिवको आशय पनि तत्काल हतार नगरौं भन्ने थियो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले माइन्यूट बनाउनुस् भनेपछि थप कुरा भएन ।’
सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको अतिरिक्त समूहमा सरुवा भएका छन् । उनी करिव डेढ वर्षदेखि सूचना प्रविधि मन्त्रालयको सचिव थिए । उनले बुधबार अपरान्हसम्म सरुवाको पत्र नपाएको स्रोतको भनाइ छ ।
उनको ठाउँमा मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउत आउनेछन् । मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशको प्रमुख सचिव पदमा भने लुम्बिनी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई सरुवा गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेशमा भने तत्काल कसैलाई पनि जिम्मेवारी दिइएको छैन ।
प्रतिक्रिया 4