+
+

अझै तयार भएन भैंसेपाटीमा मन्त्रीहरुको नयाँ निवास

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १३:४३
फाइल तस्वीर

१६ चैत, काठमाडौं । नयाँ मन्त्रीहरुले पनि भैंसेपाटीमा बनिरहेको मन्त्री निवासमा सर्न नपाउने भएका छन् । समयमै निर्माण नसकिएपछि नयाँ मन्त्रीहरुले पुल्चोक क्वार्टरमै बस्नुपर्ने भएको हो ।

अहिले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । र, केही दिनमै नयाँ मन्त्रीहरु आउँदैछन् ।

मन्त्री निवासको पहिलो चरणको काम गर्न लागेको ठेक्का सम्झौताअनुसार त २७ कात्तिक, २०७८ गते नै यो भवनहरु निर्माण भएर हस्तान्तरण भइसक्नुपर्ने हो ।

तर महामारीको कारण देखाएर आयोजनाको म्याद आगामी चैतसम्म थपिएको थियो । त्यसपछि थपिएको म्यादअनुसार काम भएको भए गएको १ वैशाख २०७९ मा संघीय मन्त्रीहरुको निवास काठमाडौंको भैंसेपाटी सरिसक्थ्यो ।

तर, समयमै काम नहुँदा आयोजनाको निर्माण झण्डै डेढ वर्ष धकेलिसकेको छ । आयोजना प्रमुख मचाकाजी महर्जन आगामी असारसम्म भवन निर्माणको सबै काम सकेर हस्तान्तरण गर्ने योजना रहेको बताउँछन् ।

‘प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको निवास आगामी असारसम्म बनाइसक्ने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘अब धेरै ढिला हुन नदिन सचेत छौं ।’

निर्माणमा भएको ढिलाइ र निवास क्षेत्रसँगैको सडकबारेको विवादजस्ता कारणले परियोजना समयमै सम्पन्न हुन नसकेको हो । मन्त्री निवासको पश्चिमतर्फका स्थानीयले सडकको मुद्दा उठाएपछि कम्पाउण्ड पर्खाल बनाउने काम पनि रोकिएको छ । पश्चिमतर्फका स्थानीयवासीले लामो समयदेखि मन्त्री निवासको पर्खाल लगाउँदा ११ मिटरको सडक छोड्नुपर्ने माग गर्दै आएका छन् । तर, आयोजनाले भने ८ मिटर मात्रै छोड्न सकिने अडान राख्दै आएको छ ।

स्थानीयको मागअनुसार पर्खाल लगाउँदा मन्त्री निवासको गुरुयोजना नै प्रभावित हुने अवस्था छ ।

स्थानीयलाई ११ मिटरको सडक चाहिने भए ‘सेन्टर लाइन’ राखेर त्यसबाट दुवैतर्फ आयोजना र स्थानीयले जग्गा दिने सहमति गर्न सरकारले आग्रह गरेको छ । तर, त्यसमा पनि स्थानीयले चित्त नबुझाएपछि मन्त्री निवासलाई पक्की पर्खालले घेर्ने काम अलपत्र छ ।

मन्त्री निवासभित्र सुरक्षाकर्मी बस्ने भवन, स्विमिङ पुल, सामुदायिक भवन, बगैंचा लगायतका पूर्वाधार बनाउन पनि ठेक्का लागेको छ । भवनभित्र इन्टेरियरको काम गर्न अर्को ११ करोडको ठेक्का पनि लागेको छ ।

२४ मन्त्रीका लागि छुट्टाछुट्टै भवन बनाइएको छ भने सो स्थानमा राष्ट्रिय सभाका अध्यक्षका लागि पनि विशेष भवन तयार गरिएको छ । त्यसबाहेक अरु दुई भवन प्रतिनिधिसभाका उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षका लागि तयार गरिएको छ ।

मन्त्री बस्ने भवनहरुमा भुइँ तल्लामा लबी, लिभिङ रुम, बैठक कक्ष, गोप्य बैठक कक्ष, कार्यालय हुने छन् । माथिल्लो तल्लामा भान्सा र डाइनिङसहित मास्टर बेड रुम र बेड रुम हुनेछन् । त्यसभन्दा माथिको तलामा योगा कक्षसहित बेड रुम पनि राखिएका छन् ।

आयोजना प्रमुख श्रेष्ठ भवनहरुको इन्टेरियर वास्तुलाई ध्यानमा राखेर तयार गरिएको बताउँछन् । प्रत्येक मन्त्री निवासमा गार्डका लागि छुट्टै कक्ष छ भने निवास क्षेत्र छिर्नुअघि विमानस्थलमा जस्तै एक्सरे परीक्षण गर्ने गरी सुरक्षा व्यवस्था मिलाउने तयारी छ ।

मन्त्री निवासको गुरुयोजना अनुरुपको डिजाइन समेत नसकी १३ असोज २०७६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हतार–हतार शिलान्यास गरेका थिए । दोस्रो चरणको ठेक्का गर्न भएको ढिलाइ, सुस्त निर्माण र स्थानीय क्षेत्रमा उत्पन्न विवादले मन्त्री निवास कहिलेबाट बस्न योग्य बन्छ भन्ने अझै यकिन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?