+
+

पदम लिम्बुलाई शहीद घोषणा गर्नुपर्ने परिवारको अडान

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १३:५४

१६ चैत, विराटनगर । बेलबारी नगरपालिका–२, लालभित्तीमा पर्छ पदम लिम्बुको घर । यही चैत ५ गते विराटनगरमा भएको पहिचानको आन्दोलनका क्रममा घाइते उनको मृत्यु भएपछि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

लालभित्तीस्थित पदमको घरमा मानिसहरुको आउजाउ बाक्लिएको छ । उनीहरुले सोध्ने अनेकखाले प्रश्न र राख्ने प्रस्तावले परिवारमा शोकमाथि तनाव थपिएका छ ।

‘बुबाआमाले एक्लो छोरो र हामीले माइती गुमाएका छौं’, पदमकी बहिनी पवित्राले भनिन्, ‘त्यसमाथि दिनदिनै मानिसहरु आएर के-के भन्छन् के-के । जसले जे भनेपनि दाजुलाई शहीद घोषणा नगरे हामी मान्दैनौं, शव पनि बुझ्दैनौं ।’

घरमा आउने सबैलाई लिम्बु परिवारको एउटै भनाइ छ– सरकारले शहीद घोषणा गर्नुपर्छ र पदमको छोराको भविष्यको जिम्मेवारी लिनुपर्छ ।

मैदानमा छानबिन समिति

गत चैत ५ गते पहिचान पक्षधरको आन्दोलनमा घाइते भएका पदम लिम्बुको १० चैतमा धरानमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनाबारे छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिले सोमबारदेखि काम सुरु गरेको छ ।

समितिमा सदस्य रहेका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले मृतकको परिवारलाई भेटेर सरकारको तर्फबाट समवेदना व्यक्त गरेको बताए ।

‘विभिन्न दलका नेता र बीपी स्वास्थ विज्ञान प्रतिष्ठानका सम्बन्धित अधिकारी र चिकित्सकहरुलाई पनि भेटेर छलफल गरेका छौं’, उनले भने, ‘समितिले आफ्नो काम गरिरहेको छ ।’

शव पोष्टमार्टम गर्ने छानबिन समितिको प्रस्ताव मृतकको परिवार, आफन्त र राजनीतिक दलका प्रतिनिधिहरुले अस्वीकार गरेका छन् । उनीहरुले परिवारको माग सम्बोधन भएपछि मात्र पोष्टमार्टम गर्नपर्ने अडान राखेका छन् ।

पहिचान पक्षधर आन्दोलनमा मृत्यु भएका लिम्बुलाई प्रदेश सरकारले तत्काल तीन लाख रुपैंयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ, जसलाई लिम्बु परिवारले अस्वीकार गरेको छ ।

‘हाम्रो परिवारमाथि बज्रपात भएको छ, उहाँहरुले तीन लाख लिएर बस भन्न मिल्छ ?’, बहिनी पवित्राले प्रश्न गरिन्, ‘नेपाल सरकारले पहिला दाजुलाई विधिवत शहीद घोषणा गरोस्, त्यसपछि बाँकी छलफल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?