
१६ चैत, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको पाटे बाघले ठोरीका एक किसानको खोर नै रित्याइदिएको छ । बुधबार राति पाटे बाघले ठोरी–४ मानेचोकका नविन तामाङको गोठ रित्याइदिएको हो ।
बाघले उनकोे ५ वटा माउ बाख्रा, २ वटा खसी मारिदिएको कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रिनले जानकारी दिए । जसबाट उनलाई एक लाख रुपैयाँ भन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ ।
बुधबार राति ११ बजे खोरमा छिरेको बाघ बिहीबार बिहान १ बजे मात्र जंगल फर्केको थियो ।
घट्ना थाहा पाए लगत्तै स्थानीयबासिन्दाले पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर गरेका थिए । बाघलाई स्थानीय बासिन्दा, निकुञ्जका कर्मचारी र आर्मीको संयुक्त प्रयासमा निकुञ्जतर्फ धपाइएको थियो ।
गत चैत ७ सात गते पनि पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएको पाटे बाघले ठोरीको घ्याङडाँडाका मिकमार लामाको गोठमा रहेको ६ वटा बाख्रा र एउटा भैंसीको पाडा मारेको थियोे ।
प्रतिक्रिया 4