
‘तिमीहरू (महिला) लाई जस्तो सजिलो हामीलाई कहाँ छ र ?’ ‘अरू कुरा त परको भइहाल्यो यहाँ धोको फेरेर रुन मन लाग्दा त केटी मान्छे नै हुनुपर्छ, लोग्नेमान्छे भएर पनि के आइमाई जस्तो ग्वाँ–ग्वाँ रोएको ? भन्छन् । पीडा पनि महिलालाई मात्रै हुन्छ र ?’
‘मन महिलाको मात्रै रुन्छ र ?’ ‘के सबै पुरुषहरू पत्थरको आत्मा भएका मात्रै हुन् ?’
‘मुटु गाँठो परेर भक्कानो छाडौं–छाडौं लाग्दा पनि— ए म त लोग्नेमान्छे पो हुँ त … कहाँ आँशु बाहिर निकाल्न हुन्छ …, हैट् म त कठोर पो बन्नुपर्छ भन्ने कुरा दिमागमा आइहाल्छ । यो कस्तो संस्कार हो ? कस्तो पुरुष हुँ म भन्ने पनि लाग्छ ।’
माथिका भावना अभिव्यक्त गर्ने पात्र एक कर्मचारी हुन्, अहिले पनि जागिरमै छन् । जागिर छ, काठमाडौंमा घर छ, एउटा छोरो क्याम्पस पढ्दै छ । श्रीमतीको आफ्नै व्यवसाय छ, एक किसिमले सबै कुरा राम्रो छ । तर पनि निराशा मिश्रित भाव किन बेला–बेलामा प्रकट गरिरहन्छन् ?
मेरो मिल्ने साथी उनको छिमेकी हुन्, जोसँग मेरो कुरा भयो । ‘मेरो छोरो क्याम्पस पढ्छ, श्रीमतीको व्यवसाय छ, घरभाडा पनि आउँछ भन्थे त पहिले–पहिले अहिले किन सधैं यस्ता नकारात्मक कुरा मात्रै गर्छन् ? कुनै दिन उज्यालो अनुहारमा देखिंदैन ।
सँगैका साथीभाइ हाँस्दा पनि यिनलाई हाँसो उठ्दैन, चेहरामा खुसी कहिल्यै देखिंदैन, सधैं हतारमा, सधैं तनावमा, सधैं केही न केही निराशाका कुराहरू गरिरहेको अवस्थामै भेटिन्छन् । जहाँ देख्यो, सधैं निराशाका मात्रै कुरा गर्ने, जतिबेला पनि तिमीहरू महिला, तिमीहरूका अधिकार, तिमीहरूको समानता, तिमीहरूलाई जस्तै नारा लगाउन सजिलो हामीलाई कहाँ हुन्छ र ?’ यस्तै मात्र कुरा गरिरहन्थे । साथीले मेरा कुरा सुनिसकेपछि मात्रै रहस्य खोलिन् ।
यी मेरा छिमेकी मात्रै होइनन्, नातामा अलि परैका भए पनि काकाससुरा पर्नुहुन्छ । घर नबनाउन्जेलसम्म दुई जनाको सम्बन्ध एकदम राम्रो थियो । संचयकोष, नागरिक लगानी कोष, अफिस, नपुगेको रकम बैंकबाट लिएर भए पनि घर बनाए ।
महिलाको नाममा घर पास गर्दा राजस्व कम पर्छ भनेर श्रीमतीको नाममा घर पास गरिदिनुभएछ । श्रीमतीको पसल थियो । कमाइ राम्रै हुन्थ्यो । हाम्रो सामान ल्याउने पसल त्यही हो । जेहोस् त्यो एरियामा राम्रोसँग चल्ने पसल हो ।
छोरो स्नातक तहमा पढ्दै । यी काकाकी आमा बिरामी पर्नुभएछ, तीन महिनासम्म काठमाडौंमा राखेर उपचार गर्नुभएछ । लगभग एक महिना त अस्पतालमै राख्नुपर्यो । एक महिनासम्म अस्पतालमा बस्दा १२ लाख जति सकियो भन्नुहुन्थ्यो काकाले । मेरो ऋण निकाल्ने ठाउँ पनि बाँकी छैन, आउनेसम्म सबैतिरबाट निकालिसकियो, आमाको उपचार त जसरी पनि गर्नै पर्यो, हामीसँग पनि काकाले कुरा गर्नुभएको थियो ।
सकेसम्म सहयोग हामीले पनि गर्यौं । जेहोस्, आमाको ज्यान बच्यो, आमा तीन महिनापछि बेलाबेलामा फलोअपमा आउने गरी गाउँ जानुभयो । त्यसपछि उहाँहरूको सम्बन्धमा फाटो आउन थाल्यो । हामी छिमेकी पनि भयौं, आफन्त पनि । आज यस्तो भयो, उस्तो भयो; हरेक दिन काका गुनासो सुनाउन आउनुहुन्थ्यो ।
‘जता पनि ऋण छ, कसरी तिर्छौ ? तिम्रो तलबले छोराको फि तिर्न पुग्दैन, किस्ता कसरी तिर्ने ? आमाको उपचारमा लागेको ऋण कसरी तिर्छौ ?’ श्रीमतीले हरेक दिन यस्तै कुरा गर्न थालेपछि एकदिन काकाले ‘केही सीप नलागे यही घर बेचेर तिर्छु’ भन्नुभएछ । काकी आगो, ‘ल यो घर बेचेर देखाऊ त, यो घर बेच्नको लागि तिम्रो नाममा हुनुपर्यो नि … तिम्रो नाममा के छ र बेच्छौ ? तिमी त मेरो नामको घरमा बसेका छौ … !’
हो, काकीको यही भनाइपछि काकाको दिमाग एकोहोरिएको रहेछ । के भनौं ? कहाँ भनौं ? कसलाई भनौं ? भन्ने हुनेरहेछ अनि जहाँ, जसलाई भेट्यो केही न केही भनिरहनुहुन्छ । साथीको कुराले बल्ल पो सोच्न बाध्य बनायो ।
काकाले पटक–पटक जे कुरा गर्दा पनि महिला र पुरुषको तुलना गरिरहनुहुन्थ्यो । ‘महिलाहरूले यस्तो चाहियो भनेर लोग्नेसामु माग गरिदिए पुग्छ तर त्यो लोग्नेमान्छेले कहाँबाट ? कसरी ? के गरेर ? कुन जुक्ति अपनाएर त्यो माग पूरा गरिदिन्छ, त्यसको पर्वाह छैन । तिमीहरूलाई त कति हाइसन्चो छ है ?
ममाथि मेरो लोग्नेले हिंसा गर्यो भनिदियो भने पनि ठूलो प्रमाण हुन्छ, तर हामी प्रमाणसहित पुलिस थानामा जाँदा पनि उल्टै खिसीटिउरीको पात्र बनाइन्छ, प्रमाणको त कुनै गुन्जायस हुँदै हुँदैन…. । हिंसामा पनि महिला मात्रै पर्छन् भन्ने कुरा कुन शास्त्रमा लेखेको छ हँ ? त्यो कुरा यहाँको पुलिस प्रशासनले मात्रै थाहा पाउँछ कि कसो ?’
काका सधैं यस्तै गुनासो गरिरहनुहुन्थ्यो । महिलाहरू पुलिसको सामु रोएको भरमा पीडित हुन्छन् । हामी प्रमाणसहित उजुरी दर्ता गर्न जाँदा पनि एउटी श्रीमती मिलाएर राख्न नसक्ने, कस्तो हुतिहारा लोग्ने ?
बुढीले यसो गरी, उसो गरी भनेर पुलिस थानामा जाँदा भोलि घरपरिवारको इज्जत के होला भन्ने हेक्का छ ? आफ्नै आफन्तले चिढ्याउँछन् । पुलिस प्रशासनले समेत वास्ता नगरेको, आफन्त, परिवारजनले समेत बेवास्ता गर्ने गरेको यस्तै अनेकन् उदाहरण पेश गरिरहनुहुन्थ्यो ।
सुरु–सुरुमा त कोही कसैका एकमुष्ट घटनाहरूलाई प्रतिनिधि पात्रको रूपमा सुनाउनुभएको होला भन्ने पनि लाग्थ्यो । जहाँ भेट्दा पनि खाली महिलाहरूका बारेमा मात्रै तिमीहरूका कलम चल्छन् होइन ? कोही कोही लोग्नेमान्छेहरू त कसरी मात्रै बाँचेका छन् होला भन्ने हेक्का राख्न सक्दैनौ है ? भनिरहनुहुन्थ्यो ।
किन यतिविधि नकारात्मक विचार मात्रै राखिरहन्छन् यी महोदय ? जहाँ भेट्दा पनि किन यस्तै कुरा मात्रै निकाल्छन् भन्ने कौतूहल लाग्थ्यो । एक पटक त मलाई ‘के हो बैनी ? हामीलाई गाली गरेर लेख्न छाड्यौ त आजकाल’ भन्नसम्म पनि भ्याए । सधैं तनावमा जस्तै देखिने, कुरा गर्न सुरु गर्यो भने नकारात्मक कुराबाट थालनी गरिहाल्ने गर्थे ।
साथीले धेरै कुरा सुनाएपछि एकदिन सोधें, ‘दाइ तपाईं त हामीलाई पो सिकाउनुपर्ने, उमेरले, अनुभवले परिपक्व तपाईं किन यस्ता निराशाका कुरा मात्रै गर्नुहुन्छ ?’ दाइ एकछिन बोल्नुभएन । अनि भन्नुभो, ‘जब गोजीमा गाँठ हुँदैन नि बैनी, कोही आफ्नो हुँदैन रहेछन् । म एक्लै कति रुन्छु, कति आँशु बगाउँछु तर म मर्द पुरुष हुँ अरूको सामु रुनुहुँदैन ।
मेरो आउने बाटो ठप्प छ, अफिसको तलब पनि लोनको किस्ता काट्दा ५–६ हजार मात्रै हात पर्छ । सबैतिरको लोन निकालेर घर बनायौं, बुढीको नाममा घर पास गरियो अहिले उही बुढीले तेरो के छ ? तँ मेरो नामको घरमा बसेको छस् भन्छे ।
ससुरालीका जो बिरामी भए पनि आए बसे, सकेको उपचार गरियो तर म बालखै हुँदा बा बिते । भएकी एउटी आमाको उपचार गर्दा १२ लाख खर्च भयो । त्यही खर्चको निहुँमा कति भयो के के मात्रै भयो ।’
उहाँ केहीबेर रोकिनुभयो । अनि पुनः दुःखको पोको खोल्न थाल्नुभयो ।‘बुढीका बा–आमा बिरामी हुँदा मैले सकेको सेवा गरेको छु, कुनै दिन ज्वाइँ हुँ भन्ने भाव राखिनँ तर मेरी आमा एक महिनासम्म अस्पतालमा बस्दा श्रीमतीको फुर्सद भएन । उसको पसल बन्द गर्न मिलेन ।
आउने बाटो यही पसल हो, यो पनि बन्द गरेर अस्पताल गएँ भने के खाने ? एकजना बसे भइहाल्छ नि भनी श्रीमतीले… पटक–पटक । जीवनमरणको दोसाँधमा उभिएकी आमा बचाउन को–कोसँग हात थापें मैले ? जे जे गरेर भए पनि आमा बचाएँ । दुई महिनासम्म दिदी–बहिनीको घरमा पालैपालो बस्नुभयो । मैले सकेको सेवा गरें । निको भएपछि यहाँ बस्न मान्नुभएन गाउँमै जानुभयो । गाउँमा कान्छो भाइसँग बस्नुहुन्छ ।’
उहाँ भन्दै जानुभयो, ‘शहरमा बस्छु, आफ्नै घर छ, जागिर छ, भाउजूको पसल छ । अब गाउँमा खेती किसानी गरेर बसेको भाइलाई आमाको उपचारमा यति खर्च लाग्यो खर्च तँ व्यहोर भन्न पनि सकिनँ, साथीभाइ आफन्तसँग हात फैलाएर उपचार गरें ।
भाग्यले आमा भन्न पाएको छु, बुवाको माया पाइनँ । तिनै आमाको उपचार गर्दा तेरी आमाको उपचारमा यत्रो खर्च गर्ने ? मर्न लागेको बुढाबुढीको लागि यत्रो विधि किन खर्च गर्नुपर्ने ? उतै गाउँमै चेक गराएको भए पनि हुने … ।’ यस्ता कुरा सयौं होइन हजारौं पटक सुन्नुपर्यो आफ्नै श्रीमतीबाट ।
छन् त म मेरै घरमा बसेको छु तर पराइ, हुतिहारा, नालायक भएर । मेरो केही छैन, मासिक तलब बाहेक । श्रीमतीको नाममा घर छ, उसकै नाममा पसल छ, मेरो नाममा छ त केवल ऋणको पोको मात्रै ।
चाडबाड आउँछ, यसो आफन्तलाई बोलाउँ न त भन्यो श्रीमतीको डाँको आइहाल्छ, के खान बोलाउने ? कति खर्च लाग्छ ? पाँच–सात हजार तलब बुझेर आफन्तलाई बोलाउँ भन्ने ? जागिर धेरै बाँकी छैन, आउने ठाउँतिर सबै खाली छ । ऋण लिइसकें । कहींबाट केही आउने बाटो नभएपछि सबै पराइ हुनेरहेछन् ।’
डिप्रेसनको औषधि खान्छु, प्रेसर हाई छ, सुगर बोर्डर लाइनमै छ, कुनै दिन मनमा चैन हुँदैन तर पनि यो समाजको लागि त म एक पुरुष हुँ मेरो मनमा कुनै पीडा हुँदैन । म सधैंभरी पीडक मात्रै बन्न जन्मेको हुँ ।
मबाट महिला पीडित हुन्छन् । मेरो घरमा दिदी–बहिनी आउँदैनन्, भान्जाभान्जी आउँदैनन् । तिहारमा समेत उनीहरूकै घरमा बोलाउँछन् । मेरा घरतिरका आफन्त आउँदैनन्, आमा त बाध्य भएर मात्रै आउनुभएको हो ।
ससुराली, श्रीमतीका आफन्तहरू अक्सर टुट्दैनन् । उसका आफन्तको बीचमा मेरो बदनाम हुन्छ, म लाचार हुन्छु । एउटा कर्मचारी हुँ, तर पनि श्रीमती र उसका आफन्तको सामु निरीह प्राणी हुँ ।
अरूसँग तुलना गरेर मेरो खिल्ली उडाइन्छ, म हाँसोको पात्र हुन्छु तर पनि म यो समाजको लागि मर्द पुरुष हुँ, म रुनुहुँदैन, ममाथि भएका पीडाका बारेमा कोही कसैलाई भन्न हुँदैन । श्रीमतीको कुरा गर्यो भने म हुतिहारा, जोइटिङ्ग्रे हुन्छु, समाजको लागि त म साहसी लोग्नेमान्छे हुँ ।
हिंसा केवल पुरुषले मात्रै गर्दैनन् बैनी, यो कुरा लेखेर राख । शहरमा म जस्ता हजारौं पात्र छन्, म पीडामा भएपछि यस्ता पीडामा भएका धेरै साथी देखेको छु । आफ्नै श्रीमतीले पराइ ठानेपछि छोराछोरीले त त्यसै पराइ ठान्छन् नि ! बिरामी आमाले समेत मलाई ‘चाँडै गाउँमा पठाइदे, तँलाई बुहारीले कराउँछे, कहाँबाट खर्च पुर्याउँछस्’ भन्नुभयो ।
यो कुराले म पुरुष भएर हाँसौं कि नालायक छोरो भएर ग्वाँ–ग्वाँ रोऊँ ? महिला हिंसा भएको छ मान्छु, तर यसो भनिरहँदा पुरुषमाथि हिंसा भएको छैन भन्न मिल्दैन, पाइँदैन । हिंसा हुनको लागि घाउ नै हुने गरी कुट्नुपर्दैन, वचनका तीरले पटक–पटक रगताम्मे पारेपछि त्यसको खाटा बाँचुञ्जेल निको हुँदैन ।
पहिले–पहिले बाबा भनेर मरिहत्ते गर्ने छोरो अहिले आमाको मात्रै कुरा सुन्ने भएको छ । आखिर छोरो त मेरो पनि हो नि, यो पीडा कहाँ भन्ने ? कसलाई भन्ने ? यो समाजले त पुरुषलाई पत्थरको आत्मा दिएको छ जो कहिल्यै रसाउँदैन जसरी । यी भोगाइ पनि लेख्ने गर बैनी, यस्ता उदाहरण हजारौं छन् । घरपरिवार, आफन्त, छिमेकी, साथीसँगी सबैको लोकलाजका कारण कथित इज्जत जोगाउनको लागि मात्रै बाहिर नआएका हुन् ।
‘यदि मैले यो सब गरेको हुन्थें भने के हुन्थ्यो ? फलानो कार्यालयको कर्मचारीले श्रीमतीमाथि दुव्र्यवहार गर्यो, मानहानि गर्यो, कर्मचारी भएर यस्तो हर्कत गर्ने ? महिला अधिकारवादीहरू मेरो घर घेर्न आइपुग्थे तर मैले आफ्नो पीडा आमालाई समेत भन्न सकेको छैन ।
तिमीहरू भनेका त मेरा परिवारभित्रका आफन्त होइनौ, मेरो श्रीमती चिनेका पनि छैनौ, भोलि मेरा भाइ, बुहारी, आमा, दिदीबहिनीलाई ओहो यसको त यस्तो रहेछ भन्देउला भन्ने पीर छैन नि … ! त्यही भएर बोझ हल्का होस् भनेर मात्रै भनेको हो । यस्ता विषयमा पनि लेख्ने गर, तिमी लेख्ने मान्छे हौ, आफ्नै बैनी जस्तै ठानेर भनेको हो बैनी अन्यथा नमान ।’
धाराप्रवाह दाइका कुरा सुनेपछि उहाँको छोरी उमेरकी मान्छे मैले के भनेर सान्त्वना दिऊँ भन्ने लाग्यो । हरेक कुराको एउटा चरण हुन्छ, त्यो पार भएपछि सबै कुरा सामान्य हुन्छ । तपाईंको जिन्दगीमा पनि नयाँ पालुवाले अवसर कसो नपाउला ? पाँच वर्ष जागिर बाँकी छ, छोरो कमाउने हुन्छ, भाउजूको व्यवसाय राम्रै रहेछ, ऋण तिरिन्छ सबै ठिक भइहाल्छ नि … !
नराम्रो काममा लगानी गर्नुभएको छैन, यदि भाउजूको नाममा घर नभएर तपाईंको नाममा घर भएको भए भाउजूले पनि यही भन्नुहुन्थ्यो त ? तपाईंहरूको सामूहिक पहलमा पो घर बनेको हो नि होइन र ? तपाईंले अवकाशपछि पाउने रकम पहिल्यै ननिकालेको भए यति सजिलै घर बन्दैनथ्यो, सबै कुरालाई नकारात्मक रूपमा लिन हुँदैन … । सबै कुरा एकदिन अवश्य ठिक हुन्छ ।
एकछिन केही बोल्नुभएन दाइ । फेरि जवाफ फर्काउनुभयो । दार्शनिकले जस्तो गफ नगर बैनी, हाम्रो समाजको वास्तविकता के हो भने, महिला रोएको भरमा गल्ती गरे पनि निर्दोष हुन्छन् तर पुरुष रुन नसकेको भरमा दोषी करार हुन्छन् ।
म यति पीडा बोकेर बाँचेको छु तर मेरो श्रीमतीको कुरा सुन्नेहरू के भन्छन् थाहा छ ?बिचरा यो महिलालाई कति दुःख छ ! रातदिन पसलमा काम गर्छे, लोग्नेको केही भर छैन, कस्तो जागिर खान्छ यो ? एउटा छोरो, एउटी श्रीमतीलाई पनि खुसीसाथ राख्न नसक्ने ? यही त भन्छ नि होइन ? पुरुष त पीडित बन्नै सक्दैनन् … होइन ?
मलाई केही जवाफ आएन, मनमनै दाइको सम्बन्ध सुमधुर होस्, पीडामुक्त, उज्यालो चेहरामा हाँसेको देख्न पाइयोस् । यति मात्रै कामना गरें ।
प्रतिक्रिया 4