+

औषधिले निको नभएका कतिपय रोग फिजियोथेरापीले ठीक हुन्छ

२०७९ चैत  १७ गते १०:०५ २०७९ चैत १७ गते १०:०५
औषधिले निको नभएका कतिपय रोग फिजियोथेरापीले ठीक हुन्छ

व्यायामको माध्यमबाट शरीरका मांसपेशीहरूको सही अनुपातमा सक्रिय गर्ने विधि नै फिजियोथेरापी हो । नेपालीमा यसलाई भौतिक चिकित्सा विधि पनि भनिन्छ । औषधिको प्रयोग बिना व्यायाम, हातले गर्ने उपचार र विद्युतीय उपकरणको माध्यमबाट गरिने उपचार पद्धति नै फिजियोथेरापी हो ।

सबै रोग औषधि खाएर मात्रै पूर्ण रूपमा निको नहुन सक्छन् । कतिपय रोग औषधि नखाई व्यायाम वा अन्य विधिबाट पनि निको गराउन सकिन्छ । नसा च्यापिएको, हड्डी खिइएको जस्ता समस्यामा फिजियोथेरापी प्रभावकारी हुन्छ । कतिपय जटिल शल्यक्रिया गराएका बिरामीले पनि फिजियोथेरापी गराउन सक्छन् । यसले प्राकृतिक रुपमा मान्छेलाई रोगमुक्त बनाउन सहयोग गर्छ ।

कति अवधि गरिन्छ ?

बिरामीको अवस्था अनुसार यसको लागि फरक–फरक अवधि लाग्न सक्छ । बिरामीको समस्या गम्भीर छ भने महिनौंसम्म पनि फिजियोथेरापी गर्नुपर्ने हुन्छ । घुँडा खिएको अवस्थामा कम्तीमा दुई महिना फिजियोथेरापी गर्नुपर्ने हुन्छ ।

ढाड, कम्मर, गर्दन दुख्ने समस्या, हाडजोर्नी तथा नसासम्बन्धी समस्या (नसा च्यापिनु, जोर्नी खिइनु, हाडजोर्नी बाङ्गो हुनु), प्यारालाइसिस तथा अन्य स्नायु प्रणालीका समस्या (प्यारालाइसिस भएर हड्डी बाङ्गिनु वा नचल्नु) मेरुदण्डसम्बन्धी समस्या, मांसपेशीसम्बन्धी समस्या, श्वासप्रश्वाससम्बन्धी समस्या हुँदा फिजियोथेरापी गरिन्छ ।

फिजियोथेरापीले रोग निको पनि बनाउँछ ?

फिजियोथेरापी आफैंमा सबै रोगको लागि प्रभावकारी उपचार पद्धति हो । जस्तै, शरीरको जुनसुकै अंगमा हुने प्यारालाइसिस तथा अन्य स्नायु प्रणालीमा देखिने समस्याको लागि फिजियोथेरापी प्रभावकारी उपचार विधि हो ।

कुनै रोग फिजियोथेरापीले निको नै हुन्छ भने कुनै कम मात्र । बिरामीको अवस्था, उमेरले पनि रोग पूरै निको हुने नहुने कुरालाई असर गर्छ । जस्तै, हाडजोर्नीको समस्या फिजियोथेरापीले लगभग पूरा निको नै हुन्छ । तर नसाको समस्या भने सबै निको पार्न सकिन्न ।

हड्डी खिइएको, नसा च्यापिएको, मांसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, पोल्ने, प्यारालाइसिस, पक्षघात जस्ता समस्याको लागि यो उपचार विधि औषधिभन्दा प्रभावकारी मानिन्छ ।

फिजियोथेरापी घरमा आफैंले पनि गर्न सकिन्छ । तर त्यसको लागि प्रशिक्षित फिजियोथेरापिस्टसँग गएर व्यायाम विधि केही समय सिक्नुपर्ने हुन्छ । अरूले गरेको हेरेर वा जथाभावी आफैं  घरमा गर्नु भने हुँदैन ।

कुनै रोग नलागेकाले पनि फिजियोथेरापी गराउन सक्छन् ?

कुनै रोग नलागेको व्यक्तिले फिजियोथेरापी भन्दा कुनै पनि समस्या आउन नदिन नियमित व्यायाम गर्नुपर्छ । आधा वा एक घण्टा हिंड्नुपर्छ, सन्तुलित आहार खानुपर्छ । विभिन्न प्रकारको दुखाइ लगातार भइरहेको छ, औषधि खाँदा पनि कुनै रोग निको भएको छैन भने  मात्र फिजियोथेरापी गर्नु उपयुक्त हुन्छ ।

(फिजियोथेरापिस्ट गजुरेल नयाँ बानेश्वरस्थित आयुष अस्पतालमा कार्यरत छिन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

फिजियोथेरापी स्वास्थ्य
लेखक
आस्था गजुरेल, फिजियोथेरापिस्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?