
१६ चैत, पोखरा । नेपाली कांग्रेसले नेता गोविन्द भट्टराईको नाम टुंगो लगाएसँगै कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् स्वर्णिम वाग्ले उम्मेदवार बन्ने चर्चाले तनहुँमा तरंग ल्याएको छ ।
गोविन्द र वाग्लेको चर्चाबीच एमालेलाई पनि उम्मेदवार टुंग्याउन दबाव परेको छ । तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारीसँग पराजित भएका एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले आफू उपचुनावमा नउठ्ने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा गुरुङले भने, ‘म उम्मेदवार नहुने निर्णयमा पुगिसकें ।’
गुरुङ पछि हटेसँगै एमालेबाट पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चर्चा सुरु भएको छ । ‘यसअघिका उम्मेदवार एकबहादुर गुरुङ, तनहुँका सिनियर नेता किरण गुरुङले पनि नउठ्ने घोषणा गरेपछि अब विपक्षीलाई ठक्कर दिने उम्मेदवार भनेकोे खनाल नै हुन्’, एमालेका एक नेताले भने ।
स्थायी कमिटी सदस्य गुरुङले पनि खनालको सम्भावना रहेको बताए । ‘पार्टीभित्रबाट खनालजीको माग भइरहेको छ । केन्द्रीय तहमा यस विषयमा छलफल पनि चलि नै रहेकाले छिट्टै टुंगो लाग्छ’, उनले भने ।
सर्वेन्द्रले बिहीबार तनहुँ पुगेर क्षेत्रीय समन्वय कमिटीमा आवेदन पेश गरेकोे एमाले जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख प्रदीप अधिकारीले जानकारी दिए । क्षेत्रीय समन्वय कमिटीले जिल्लामा पठाएको नाममा जिल्लाले रायसहित प्रदेश र प्रदेशबाट केन्द्रमा सिफारिस हुने अधिकारीले बताए ।
व्यास नगरपालिका–११ तनहुँसुर जन्मथलो भएका खनालको ४ मंसिरको चुनावमा पनि एमालेबाट उम्मेदवार हुने चर्चा थियो । तर, एमालेले एकबहादुर रानालाई उम्मेदवार बनायो भने खनाल काठमाडौं ६ बाट उम्मेदवार बने । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुँदा सर्वेन्द्र पराजित भए ।
खनालले यसपटक आफूलाई तनहुँ–१ मा उम्मेदवार हुन एमालेका केन्द्रीय र जिल्ला नेता तथा कार्यकर्ताबाट आग्रह भएको बताए । ‘जिल्लादेखि केन्द्रसम्मका नेता कार्यकर्ताले एमालेबाट तपाईं नै उम्मेदवार हुनुपर्छ भनिरहनुभएको छ । मैले पनि तनहुँदेखि केन्द्रसम्मका नेता कार्यकर्तासँग छलफल र परामर्श गरिरहेको छु’ खनालले अनलाइनखबरसँग भने, ‘उम्मेदवारको टुंगो लगाउने संयन्त्र छ, छिट्टै टुंग्याउला, म चुनाव लड्न तयार भएरै निर्णयको पर्खाइमा छु ।’
पार्टीले टिकट दिए नतिजा आफ्नो पक्षमा पार्ने उनले बताए । तनहुँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुले पनि तपाईं आइदिनुपर्यो भनिरहेको खनालले बताए । ‘मलाई धेरै नेताहरुको सदासयता छ । सबैभन्दा बढी ग्राउण्डबाटै आइदिनुपर्यो भनिरहनुभएको छ, मैले भन्नुभन्दा नेताहरुलाई नै सोध्नु भए हुन्छ’ उनले भने ।
उम्मेदवारका लागि आवेदन दिनेमध्ये सबैभन्दा बढी सम्भावना खनालकै देखिएको एक नेताले बताए । क्षेत्रीय समन्वय कमिटीमा खनालसँगै मोहन विक, परितोष पौडेल, रामबहादुर गुरुङ, शोभा गुरुङ, किरण धितालले उम्मेदवार दिन आवेदन दिएका छन् ।
प्रतिक्रिया 4