
१६ चैत, काठमाडौं । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली समाजमा पछिल्लो समय झगडा बढ्न थालेको टिप्पणी गरेका छन् ।
स्थानीय तहहरुको न्यायिक समितिको काम कारबाहीबारे छलफल गर्न आयोजित न्यायिक सम्मेलनको समापनमा उनले स्थानीय तहका न्यायिक समितिदेखि अदालतसम्म मुद्दाको चाप बढेको बताए । उनले भने, ‘समाजलाई न्याय धेरै चाहिन थालेको हो कि, झगडा धेरै हुन थालेको हो ।’
मुलुकको जनसंख्या बढेको, निश्चित ठाउँको अचल सम्पत्तिको महत्व बढेको भन्दै उनले मूल्यवान सम्पत्ति बढेपछि झगडा पनि बढ्ने गरेको बताए । कामु प्रधानन्यायाधीश कार्कीले भने, ‘सर्वोच्च अदालतमा १० वर्षसम्मको मुद्दाहरु छन्, कहालीलाग्दो अवस्था रहेको छ । न्यायाधीशहरुको अभाव र मुद्दाको चापले समयमै न्याय नमिल्नु दुखद अवस्था छ ।’
सर्वोच्च अदालतमा २६ हजार मुद्दा विचाराधीन रहेको र १६ जना न्यायाधीशले मुद्दाको फैसला गर्नुपरेको भन्दै कतिपय मुद्दाले पालो पाउन नसकेको बताए । न्याय गर्ने काम कठिन र जटिल भएको भन्दै कार्कीले फैसलाबाट कहिल्यै पनि दुवै पक्षको चित्त बुझाउन नसकिने बताए ।
उनले मेलमिलापबाट कतिपय विवाद टुंग्याउनुपर्ने औंल्याउदै भने, ‘फैसला गर्दा एकपक्षलाई कहिले चित्त बुझ्दैन कहिलेकाहीं त दुवै पक्षलाई चित्त बुझ्दैन । मेलमिलाप गराउँदा दुवै पक्षको जित हुन्छ ।’
विवाद निरुपणका वैकल्पिक बाटाहरु रहेको भन्दै उनले न्याय माग्नेहरुले स्थानीय तहबाटै न्याय पाए घरमै न्याय पाएजस्तो हुने बताए । ‘कानुनका आधारमा फैसला गर्नुपर्छ, तर त्यसो हुँदा कहिलेकाहीं न्याय प्रदान हुँदैन’ उनले भने, ‘मेलमिलाप गर्दा न्याय र व्यावहारिक कुरा पनि मिल्छ ।’
न्यायिक समितिका संयोजक हुने स्थानीय उपप्रमुखहरुलाई उनले स्वच्छ र खुला दिमागले न्यायनिरुपण गर्न सुझाव दिए । उनले भने, ‘न्याय गर्न बस्दा कुन पार्टीको ? कुन पक्षको ? सबै बिर्सनुपर्छ । मेलमिलाप गर्दा दुवै पक्षको जीत हुन्छ । फैसलाभन्दा मेलमिलापमा धेरै ध्यान दिनुहोला ।’
प्रतिक्रिया 4