
१६ चैत, काठमाडौं । इतिहास तिथिमितिले कम, संयोगहरुले बढ्ता रच्छन् । जस्तो कि, अर्थशास्त्री स्वर्णिम वाग्लेले यसै वर्ष जेठमा एउटा पुस्तक सार्वजनिक गरेथे । त्यसको नाम थियो– अतृप्त अवसर ।
त्यस विमोचनका तीन वक्तामध्ये एक थिए कांग्रेस महामन्त्री गगन थापा । वाग्ले थापानिकट भनी चिनिन्थे । थापाको प्रोजेक्ट गभर्मेन्ट नामक नीतिगत परियोजनाका लागि उनका सल्लाहहरु निकै काम लागे पनि । स्वयं वाग्ले आफूलाई तीनपुस्ते कांग्रेस शब्दावलीले सगौरव चिनाउने गर्थे । अर्थतन्त्र र राजनीतिबारे अखबार–अनलाइनमा छापिएका लेखहरुको उक्त संग्रह विमोचनमा पनि त्यही पहिचान व्यक्त गरे ।
उसो त वाग्लेले पुस्तकको नाम जुराउँदा देशको अर्थतन्त्र र भविष्यसामु उभिएको अतृप्त अवसर जनाउने हेतु राखेथे । संयोग नै मान्नुपर्छ, यसै वर्षको अन्तिममा बिहीबार उनले कांग्रेस छाडेको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय आर्थिक र विकास मञ्चहरुको सुविधाजनक जागिर छाडी कांग्रेसमार्फत राष्ट्रिय राजनीतिमा योगदान दिने मनसुबा अधुरो नै छाडेर उनले नयाँ वर्षको अर्थपूर्ण प्रतीक्षा गरेका छन् ।
नयाँ वर्ष किनभने, २०८० को सुरुवातसँगै वाग्लेले आफू नयाँ सार्वजनिक भूमिकामा हुने फेसबुकमार्फत् घोषणा गरेका छन् । यतिन्जेलसम्म उनकै मुखबाट नसुनिएको भए पनि त्यसको अर्थ स्पष्ट छ, उनले वैशाख १० को उपचुनावमा तनहुँ १ बाट त्यो ‘अतृप्त अवसर’ सदुपयोग गर्नेछन् ।

गत मंसिरको आम चुनाव थुप्रै आकांक्षीहरुका लागि अतृप्त अवसर नै थियो जहाँ कोही उठ्न चाहेर पनि टिकट पाएनन् । कोही टिकट पाएर पनि जित्न पाएनन् । कोही जितेर पनि टिक्न पाएनन् । आगामी १० वैशाखको उपचुनाव तिनै अतृप्त उम्मेदवारहरुको अवसर पूरा गर्ने पूरक परीक्षा बन्दैछ । बारा २ मा उपेन्द्र यादव, राजेन्द्र महतो, शिवचन्द्र कुशबाह र रमेश खरेल । तनहुँ १ मा स्वर्णिम वाग्ले, सर्वेन्द्र खनाल । चितवन २ मा रवि लामिछाने ।
एजेन्डा कम, व्यक्तित्व बढ्ता हाबी हुने गरेको पछिल्लो राजनीतिको हावाले गत मंसिरको चुनावलाई पनि मज्जैले छोएको थियो । वाग्लेप्रति कम्युनिस्ट रुझानका नेताहरुको सम्मोहन पनि चर्चायोग्य नै थियो । एमाले अध्यक्ष केपी ओलीले उनलाई आफ्नो तर्फबाट उम्मेदवार उठ्न आग्रह गरेका थिए ।
अनलाइनखबरका लागि यो संवाददातासँग कुरा गर्दै ओलीले उक्त कुरा पुष्टि गरेका पनि थिए । वाग्लेले आफूलाई ओलीबाट प्रस्ताव आएको खुलासा गर्दै आफूले सधन्यवाद अस्वीकार गरेको प्रसंग टाउनहल कार्यक्रममा युथ कंग्रेसका अध्यक्ष सचिन तिमल्सेनासँग बताएका थिए ।
वाग्लेको त्यस जिकिरमा आधारित भएर सोधिएको प्रश्नमा ओलीले भनेका थिए, ‘मैले उहाँलाई बालकोटमै बोलाएर काठमाडौं-७ मा लड्न भनेको थिएँ ।’
माओवादी पार्टी छाडेर हाल नेपाल समाजवादी पार्टी अध्यक्ष रहेका बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखाबाट टिकट पाउनुपर्नेको सूचीमा वाग्लेको नाम एक नम्बरमा लिएका थिए । तिनै वाग्लेले टिकट नपाएपछि बाबुराम भट्टराईले एउटा कार्यक्रममा प्रश्न नै उठाएका थिए, ‘स्वर्णिम वाग्लेजस्तो विद्वानलाई टिकट नदिएपछि देश बन्छ र ?’
अमेरिकी सहायता परियोजना एमसिसीको स्पष्ट वकालत गरेका वाग्लेका सोचसँग असहमत हुनेहरु पनि उनको क्षमतामाथि परख नै गर्थे ।
कुनै बेला नयाँ शक्तिका चार खम्बा भनेर रवीन्द्र मिश्रसँग संयुक्त लेख लेख्ने वाग्लेले विवेकशील साझा कालमा मिश्रसँग दलगत सहकार्य त गरेनन् । यसपल्ट पार्टी परिवर्तन गर्ने तयारी गर्दैगर्दा उनले पुराना संस्थागत पार्टी नभई बिलकुलै नयाँ दल रोज्ने संकेत देखाएका छन् ।
वाग्ले निकट एक समाजशास्त्रीले यो पंक्तिकारलाई बताए अनुसार कांग्रेस छाड्ने उनको योजना केही दिनयताको मात्रै हो । अनि राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको पछिल्लो तिक्त भेटवार्ता पनि त्यसको कारक भइदियो ।
तर रास्वपा सभापति रवि लामिछानेले बताए अनुसार वाग्लेलाई पार्टीमा ल्याउने तयारी पहिलेदेखि नै चलिरहेको थियो । लामिछानेले भने, ‘भर्खरै उहाँले कांग्रेस परित्याग गरेको सूचना पाएँ । अब उपचुनावको उम्मेदवारसम्बन्धी प्रक्रिया अघि बढ्छ ।’
तत्कालीन सुशील कोइराला सरकारका बेला राष्ट्रिय योजना आयोग सदस्य, अनि शेरबहादुर देउवाको पालामा उपाध्यक्ष बन्न सफल वाग्लेले आफ्नो क्षमताको मूल्यांकन पार्टीभित्र हुन नसकेको गुनासो गरेका छन् । उनले पछिल्लो आम चुनावमा चितवन, गोरखा वा काठमाडौंमध्ये एक ठाउँ टिकट आश गरेका थिए । टिकट नपाए पनि कांग्रेसको चुनावी घोषणापत्र मस्यौदा समिति संयोजकको भूमिका पाएका थिए । उनले आगामी पाँच वर्षसम्म देशभरि विभिन्न ठाउँमा नयाँ पुस्तासँग साक्षात्कार गर्दै जाने र त्यसबाट आएका सुझावलाई पार्टीको शक्ति बनाउने उद्घोष पनि गरेका थिए ।

वाग्लेले टिकटका लागि पार्टी नेतृत्वको विश्वास जित्न नसके पनि कांग्रेस र इतर समर्थकको मनग्गे सहानुभूति पाएका थिए । उनलाई अन्तिम घडीमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले रोक्न नखोजेका होइनन् । तर उनी सम्पर्क विच्छेद गरी बसे । अनि उनीहरु दुईजना र नेताहरु शेखर कोइराला र गोविन्दराज पोखरेललाई म्यासेज पठाउँदै शेरबहादुर–आरजुको निरन्तर हेपाईले आफू कांग्रेसमा बस्न नसकेको जिकिर गरेका छन् ।
त्यसमा उनले भावुकतावश एउटा लाइन लेखेका छन्, ‘कांग्रेसमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ ।’ अर्थात् उनी कांग्रेसको ढोका खुला रहे फर्कन सक्छन् । अर्थात् रास्वपाले उनका ‘अतृप्त अवसर’ हरुको तृप्ति नगर्न पनि सक्छ ?
यो प्रश्नमा खोट देखाउन पनि सकिन्छ । उसै पनि रास्वपाका सभापति रवि लामिछानेले पत्रकारहरुमाथि अपुष्ट लान्छनाहरुको लस्कर नै लगाएका छन् । तर वाग्ले जुन आरोप लगाएर कांग्रेसबाट बाहिरिँदै छन्, उनी प्रवेश गर्न लागेको रास्वपामा त्योभन्दा ठूलो उकुसमुकुस छ । वाग्लेको पार्टी प्रवेश अगावै त्यसका एक शीर्षस्थ नेता अरनिको पाँडेले तल कतै कमेन्ट बक्समा स्वागतका शब्द लेख्न भ्याइसकेका छन् । तिनै पाँडे आफैंले चाहिँ रास्वपा सभापति रवि लामिछानेको लान्छनायुक्त प्रेस मिटपछि लज्जित हुँदै आफ्नो पार्टी सभापतिका शब्दहरुको जिम्मेवारी नलिने घोषणा गर्न पुगेका थिए ।
अहिले पनि रास्वपाका कतिपय नेताहरु पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, प्रणालीको सर्वथा अभाव रहेको, विधिको ठाउँलाई व्यक्तिले मिचेको भन्दै गुनासो गरिरहेका सुनिन्छन् । सबैभन्दा गम्भीर सवाल उक्त दलकै सभापतिबारे उठेको छ ।
लामिछानेले नागरिकता प्रमाणपत्र र राहदानीका क्रममा सामना गरेको फौजदारी अभियोगले, अनि उनी स्वयंले पत्रकार सम्मेलनमा सकारेका नैतिक चारित्रिक प्रश्नहरुले न्यूनतम जवाफदेही माग गर्छन्, भलै नागरिकता मुद्दा अदालतले हाललाई निप्टारा लगाएको छ । अनि राहदानी कसुरलाई महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने विवादास्पद निर्णय भएका छन् ।
पछिल्लो राजनीतिक परिवर्तन, अनि त्यसको जगमा बनेको संविधानप्रति रास्वपाको इमान्दार प्रतिबद्धता यतिञ्जेल सुन्न पाइएको छैन । केवल लोकतन्त्रका औपचारिक शब्दहरु गुञ्जायमान छन् । अनि संघीयता, धर्मनिरपेक्षता, समावेशिताप्रति उसका खुला–खुला प्रश्नहरु छन् । वाग्लेले नयाँ पार्टी प्रवेशसँगै सम्भवतः यी प्रश्नहरुको पनि हिस्सेदारी लिनुपर्ने छ । अनि बन्नुपर्नेछ, जवाफदेही पनि ।
यद्यपि वाग्लेले आफ्नो मार्ग परिवर्तन गर्ने स्पष्ट संकेत गरिसकेका छन् । विश्लेषक झलक सुवेदीका अनुसार वाग्लेको बहिर्गमनले मूलधारका पार्टीहरुप्रति युवाहरुको छटपटीलाई प्रतिविम्बित गर्छ । ‘उनीजत्तिका जानकार व्यक्ति बाहिरिनु पुराना पार्टीहरुका नेतृत्वका लागि भयानक चिन्ताको विषय हो,’ सुवेदी भन्छन्, ‘तर स्वर्णिमजीले हतारमा रास्वपा जाने निर्णय गरेजस्तो देखिन्छ । कांग्रेसमा कतिपय अलोकतान्त्रिक चरित्र पनि होला, तर नयाँ पार्टी भनिएको दलको ताल त्यो भन्दा पनि बढ्ता अलोकतान्त्रिक छ । उहाँले बुझ्नुपर्ने हो ।’
विश्लेषक सीके लालका अनुसार वाग्लेको कांग्रेस बहिर्गमनले पछिल्लो पुस्तामा व्याप्त तुरुन्तै प्राप्तिको सोचलाई प्रतिविम्बित गर्छ । वाग्ले औसत विज्ञहरुभन्दा पक्कै राम्रा भए पनि जुनसुकै मूल्यमा सफलता पाइछाड्ने स्वभावका भएको भन्दै त्यस्तो सोचबाट देश र समाजले केही प्राप्त गर्न गाह्रै पर्ने उनले बताए । उनले बाबुराम भट्टराईमा देखिएकै व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति वाग्लेमा पनि देखिएको भन्दै तुलनात्मक विवेचना गरे ।
‘क्षमताभन्दा महत्वाकांक्षा बढी भएका मानिसहरु आफूलाई बढाइँचढाइँ गर्न जान्दछन्, उनीहरुलाई मैले सिकिसकें, अब सिकाउने हो भन्ने भावना पलाउन थाल्छ’, लाल भन्छन्, ‘उनीहरु सधैं अतृप्त अवसरकै खोजीमा तड्पिइरहन्छन् ।’
उसोभए जतिसुकै समस्याग्रस्त भए पनि कुनै पार्टीलाई पुस्तैनी समाएर बसिरहनुपर्छ भन्ने बाध्यता कसैलाई हुन्छ र ?
लालले त्यसको जवाफ दिए, ‘हुँदैन । कांग्रेस अहिले जुन हालतमा छ, त्यसका लागि जति दुर्वचन बोले पनि सबै सही ठहरिन्छ । तर रुख सुक्न लाग्यो भनेर काँडाघारीमा हाम फाल्ने होइन ।’
प्रतिक्रिया 4