
काठमाडौं । ‘छक्कापञ्जा ४’ स्वदेशमा पाँचौं सातामा प्रवेश गरिरहँदा विदेशमा पनि यसले आक्रामक व्यापार गरिरहेको छ । नेपाली फिल्मका ठूला अन्तर्राष्ट्रिय बजारदेखि फिनल्याण्डसम्मका साना बजारसम्म फिल्मको प्रदर्शन उत्साहजनक छ ।
निर्माता तथा अभिनेता दीपकराज गिरीले शोका आधारमा हेर्दा विदेशी बजारमा चौथो श्रृंखलाले अहिलेसम्मकै धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान रचेको बताए । ‘अहिलेसम्म धेरै कमाउने रेकर्ड नै बनेको छ । शोहरु अझै थपिने क्रममा छन्,’ उनले भने ।
अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्वदेखि पूर्वी एसियाली मुलुकसम्म अहिले हलमा नियमित फिल्म चलिरहेको छ । गत महिनादेखि औपचारिक रुपमा नेपाली फिल्मको लागि खुलेको मध्यपूर्वको बजारमा समेत यसको कमाइ प्रदर्शनरत अन्य विदेशी फिल्मको भन्दा उच्च छ ।
बृहत अन्तर्राष्ट्रिय रुपमा रिलिज भएको छक्कापञ्जा ४ को विदेश कमाइले केही आशावादी संकेत गर्छ, जसले विदेशमा नेपाली फिल्मको बजार विस्तार हुँदै गएको देख्न सकिन्छ ।
नयाँ अन्तर्राष्ट्रिय बजारको खोजी
कमै नेपाली फिल्म हाउसफुल हुने फिनल्याण्डको हेलसिन्कीमा समेत यसपटक दर्शक भरिभराउ देखिए । जनसंख्या पनि कम र फिल्मको लागि सानै बजार रहेको नर्डिक मुलुक फिनल्याण्डमा यसपटक छक्कापञ्जा ४ हाउसफुल चल्यो । फिनल्याण्ड मात्र होइन, अन्य साना बजारको खोजी समेत यसबाट भइरहेको देखिन्छ । यसले नेपाली फिल्मको विदेशी बजार विस्तार हुँदै गएको देखिन्छ ।

मध्यपूर्व दोस्रो ठूलो बजार बन्ने बाटोमा
गैरआवासीय नेपाली संघको एक तथ्यांकअनुसार मध्यपूर्वका मुलुकमा १५ लाखभन्दा बढी नेपालीको बसोबास छ । दुबईमा मात्र झण्डै ५ लाख नेपाली छन् । जनसंख्या यति छ भन्नुको अर्थ बजार पनि ठूलै छ भन्नु हो । यूएई, ओमान, बहराइन, कतारमा रिलिज भएको फिल्मले आक्रामक कमाइ गरेको छ । त्यहाँ प्रदर्शन हुने नेपाली फिल्मभन्दा यसको कमाइ अझै उच्च छ । साउदी अरेबिया र कुवेतमा पनि प्रदर्शनको तयारी छ । निर्मातालाई मध्यपूर्वबाटै धेरै रेभेन्यु आउने आशा गर्न सकिन्छ ।
अब चीन र भारततर्फको बाटो
छक्कापञ्जाको पहिलो भागलाई मन्डारियन भाषामा स्वरांकन गर्दै उत्तरी छिमेकी मुलुक चीनमा रिलिज गर्ने तयारी भइरहेको छ । योजनाअनुसार यो काम भए, पहिलोपटक विश्वकै ठूलो फिल्म बजारमा रिलिज हुने पहिलो नेपाली फिल्म बन्नेछ छक्कापञ्जा । साथै, छक्कापञ्जा ४ लाई चीनको एक प्रतिष्ठित फिल्म फेस्टिभलमा देखाइने भएको छ ।
चिनियाँ राजदूत छेन सोङले पनि निफको क्रममा नेपाली फिल्मलाई स्वागत गर्न चीन तयार रहेको बताएका थिए । यसबाहेक भारतमा यसअघि रिलिज भएका केही फिल्मले नेपाली चलचित्र बजार ठूलो छ भन्ने संकेत गरिसकेका छन् ।
प्रतिक्रिया 4