
१७ चैत, काठमाडौं । नेपाली कांग्रेस नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका उनले यसपटक अर्थमा अवसर पाएका छन् ।
तेस्रोपटक मन्त्रीका रुपमा सिंहदरबार पस्दै गर्दा महतका अगाडि अर्थतन्त्रका सूचकहरुले रातो बत्ती बालिरहेका छन् । विज्ञहरुका अनुसार देशको आर्थिक अवस्था हेर्दा यो कुनै सुविधाको बेला हुँदै हैन । अहिले देशको अर्थतन्त्र अप्ठेरो अवस्थासँग जुधिरहेको छ । बाह्य क्षेत्रको चुनौती कम हुँदै गएपनि अर्थतन्त्रका वास्तविक, सार्वजनिक वित्त र मौद्रिक क्षेत्र समस्यामा छन् ।
राजस्वले चालु खर्च धान्न मुस्किल छ । भन्सारदेखि आन्तरिक राजस्वसम्म गत वर्षको भन्दा कम उठिरहेको छ । अर्थतन्त्रलाई गति दिन सघाउने पूँजीगत खर्च कमजोर छ । बजारमा वस्तु तथा सेवाको माग घटेर उद्योग र सेवा क्षेत्र समस्याग्रस्त छ ।
व्यापार र निर्माण क्षेत्रमा पनि मन्दी छ । उच्च ब्याजदर र तरलता अभावले वित्तीय क्षेत्रमाथि निजी क्षेत्रको विश्वास घटेको छ । नयाँ परियोजनामा लगानी घट्दा कर्जा विस्तार नभएर बैंकहरु समस्यामा छन् । पूँजीबजारमा निराशा मात्रै छ । पर्यटन क्षेत्रमा उत्साह छैन । घरजग्गा कारोबारमा पुरै मन्दी छ । ठूला सहकारीहरु समस्यामा फस्दै गएका छन् ।
यस्तो कमजोर आर्थिक परिसूचकहरुलाई सुधार्नेगरी अर्थमन्त्रीले ल्याउने योजना र गर्ने काम भविष्यको अर्थतन्त्रको अवस्था निर्धारण गर्ने अर्थविद्हरु बताउँछन् । अर्थविद् विश्वास गौचन नयाँ अर्थमन्त्रीले संकट टार्न थुप्रै अलोकप्रिय निर्णय लिनुपर्ने बताउँछन् । त्यसका लागि आँट चाहिने उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री नयाँ अर्थमन्त्रीले अर्थतन्त्रको समस्या पहिचान गरी सुधारमा निर्भिकतापूर्वक अडिन सक्नुपर्ने बताउँछन् । यसका लागि सबै पक्षलाई विश्वासमा लिएर निचोडमा पुग्नुपर्ने उनको सुझाव छ । अर्थमन्त्रीका अगाडि चालु खर्चमा व्यापक कटौती गर्नुपर्ने चूनौती रहेको उनको विश्लेषण छ ।
अन्तर्राष्ट्रिय दातृ निकायहरुसँग सम्बन्ध सुमधुर राख्दै थप आर्थिक तथा लगानीको स्रोत खोज्नुपर्ने डा. महतको दायित्व हुनेछ । आँउदो १५ जेठमा आउने आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटलाई राजनीतिकभन्दा बढी आर्थिक लाभमा उपयोग गर्नु उनको दायित्व हुनेछ ।
खुम्चिएको स्रोत बढाउनु र बजेटमा ठूला कार्यक्रमहरुको माग व्यवस्थापन गर्नु महतका लागि फलामको चिउरा सावित हुनेछ ।
पार्टीभित्रका अन्य आकांक्षीलाई पन्छाउँदै सभापति शेरबहादुर देउवाको मन जितेर अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएका महतलाई अर्थतन्त्रको संकट पार लगाउँछन् भनेर आम विश्वास जित्नु नै मुख्य चुनौती हुने अर्थविदहरु बताउँछन् । अर्थतन्त्रका समस्यासँग जुध्दै व्यावसायिक जगत र अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त पार्नु उनको मुख्य जिम्मेवारी हुनेछ ।
यस्ता चुनौतीसँग जुध्न उनी सक्षम हुनेछन् भन्ने शंकै छ । संकटापन्न अर्थतन्त्र सम्हाल्ने जिम्मा लिएर आएका अर्थमन्त्री महतको शैक्षिक योग्यता भने अर्थशास्त्रसँगै सम्बन्धित छ ।
उनी बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली अर्थतन्त्रको रुपरेखा कोर्ने डा. रामशरण महतका भाइ हुन् । विदेशमा आकर्षक जागिर खाइरहेका डा. रामशरण महतलाई २०४८ सालमा सत्ता नेतृत्वमा आएका गिरिजाप्रसाद कोइरालाले बोलाएर नेपाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । त्यसपछि उनी पटक–पटक अर्थमन्त्री भए ।
नेपाली अर्थतन्त्रको सकारात्मक, नकारात्मक सबैखाले पाटोको चर्चा हुँदा डा. महतको नाम स्वतः आउने गर्छ । उनै रामशरणका भाइ प्रकाशशरण अहिले अर्थ मन्त्रालयको नेतृत्वमा पाएका छन् । उनी अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौंका स्नातक, अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–च्याम्पेनबाट स्नातकोत्तर र साउदर्न इलिनोइस विश्वविद्यालयका पीएचडी हुन् ।
२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा संसदीय यात्रा आरम्भ गरेका डा. महत पहिलो संविधानसभा र दोस्रो संविधानसभा दुवैमा सभासद थिए । उनी २०६६ देखि २०६७ चैतसम्म ऊर्जा मन्त्री भएका थिए । त्यसपछि नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकारमा उनी परराष्ट्रमन्त्री भए ।
२०७४ को चुनाव हारेका उनी ०७९ सालमा भने समानुपातिक तर्फबाट सांसद भए । २०५८ असोजदेखि २०५९ वैशाखसम्म प्रधानमन्त्री रहँदा आफ्ना सल्लाहकार बनाएका शेरबहादुर देउवाले यसपटक महतलाई कांग्रेसको कोटाबाट अर्थमन्त्री बनाएका छन् । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव पनि छ ।
१६ कात्तिक २०१६ मा नुवाकोटको पञ्चकन्यामा जन्मिएका डा. महत पार्टी केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका नेता हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका थिए । ०७४ को चुनावमा उनी काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए ।
राजनीतिक रुपमा अनुभवी भएपनि महतले अर्थतन्त्रमा कौशल देखाउने भूमिका पाएका थिएनन् । उनले मुलुकको आर्थिक अवस्थाबारे सार्बजनिक टिप्पणी र विश्लेषण गरेको पनि सुनिने गरेको थिएन । बौद्धिकभन्दा बढी राजनीतिक व्यक्तित्वका रुपमा चिनिएका उनले अब कसरी अर्थमन्त्रालय चलाउलान् भन्नेमा निजी क्षेत्र सशंकित छ ।
नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी यसअघि ऊर्जामन्त्री हुँदा महतले खासै राम्रो नेतृत्व नदिएको अनुभवका कारण विश्वस्त हुने अवस्था नरहेको बताउँछन् । अर्थशास्त्रका विद्यावारिधी भएकाले नयाँ ढंगले चलाउलान् कि भन्ने आशा भने रहेको बताउँदै उनले भने, ‘उहाँमाथि भरोसा नभएपनि शंकाको सुविधा छ, त्यत्ति हो ।’
डा. महत राजनीतिक रुपमा चतुर र नेतृत्वनजिक रहेर आफ्नो भनाइमा सहमत गराउन माहिर छन् । अर्थमन्त्रीका रुपमा उनले आफ्नो सबल पक्षको उपयोग गरे भने सफल हुने ती व्यवसायीको भनाइ छ ।
कांग्रेस नेता तथा अर्थविद् डा. गोबिन्दराज पोखरेल भने अर्थशास्त्र पढेको मात्र नभई मन्त्री भएर प्रशासनिक संयन्त्र पनि बुझेको हिसावले अर्थमन्त्रीमा महत सफल हुने बताउँछन् ।
‘राजस्व र वैदेशिक मुद्राको स्रोतमा विविधीकरण आवश्यक छ,’ उनी भन्छन्, ‘उहाँले लगानी र उद्योगधन्दा बढाउने गरी आर्थिक विषयसँग सम्बन्धित ऐनहरु संशोधन गरेर सुधारका प्रयास थालिहाल्नुपर्छ ।’
त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारी नयाँ अर्थमन्त्रीबाट धेरै आशा गरिएको बताउँछन् । ‘मूल रुपमा उहाँले आफूमाथि भरोसा बढाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘अर्थतन्त्रको समस्या समाधान हुन्छ भनेर जनतालाई विश्वास दिलाउनु नै उहाँको मूल चुनौती हो, त्यसकै लागि काम गर्नुपर्छ ।’
प्रतिक्रिया 4