
१९ चैत, काठमाडौं । संघीय निजामती सेवा ऐनको मस्यौदाका केही व्यवस्थाप्रति असन्तुष्ट नायब सुब्बा (नासु)हरुले मन्त्रीलाई एसएमएस पठाएर ध्यानाकर्षण गराउने अभियान फेरि सुरु गरेका छन् ।
उनीहरुले ‘नासुका आँसु देख्नु भएन ?’ भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव डा. कृष्णहरि पुष्करलाई एसएमएस पठाएका छन् । यसअघि उनीहरुले तत्कालीन सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ र तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालगायतलाई पनि यस्तै व्यहोराको एसएमएस पठाएका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरी सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरुले उठाउँदै आएका विषयहरू नसमेटिएको भन्दै देशभरका राजपत्र अनंकित कर्मचारीहरुले आज बिहान कार्यालय समय सुरु भएपछि सामान्य प्रशासन मन्त्री र सचिवलाई एसएमएस पठाएका छन् ।
उनीहरुले ‘माननीय मन्त्रीज्यू ! नासुका आँसु देख्नु भएन ? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन,’ लेखेर एसएमएस पठाएका छन् ।
निजामती सेवामा कार्यरत राजपत्र अनंकित कर्मचारीहरुले प्रस्तावित संघीय निजामती ऐनमा समावेश गर्नुपर्ने विभिन्न मागहरु राखी लामो समयदेखि विभिन्न विरोधका कार्यक्रम गर्दै आएका छन् ।
अधिकृत छैटौं तहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्न, सेवा प्रवेशको लागि चौथो, छैटौं, नवौं र एघारौं तहलाई प्रवेश बिन्दु कायम गर्न तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउनुपर्ने माग पनि उनीहरुको छ ।
पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र दश वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई दुई तह वृद्धि गरियोस् भन्ने माग उनीहरुले राखेका छन् ।
तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव (एघारौं) र उपसचिव (नवौं) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया 4